0
गोल्डेन न्यूज संवाददाता
पोखराको पृथ्वीचोकस्थित नेपाल वायु सेवा निगमको जग्गा कब्जा गरि बसेका व्यापारीहरुले आफूहरुले उपयोग गरिरहेको जग्गा ठेक्कामा दिने कार्यकाविरुद्ध पोखरामा विरोध प्रदर्शन गरेका छन् । बजारबाट शुरु भएको विरोध जुलुश नजिकै रहेको शहीद लखन थापाको शालिकलाई परिक्रमा गरी पुनः सस्तो बजारमा पुगेर सभामा परिणत भएको थियो । स्रोतका अनुसार सस्तो बजारमा रहेका व्यापारीहरुलाई हटाउन जिल्ला प्रशासन कार्यालय कास्कीले अन्तिम तयारी गरिरहेको छ । हाल बजार रहेको जग्गा भोगचलन गर्न ाउने अधिकार सूर्यदील ग्रुप इन्भेष्टमेन्ट कम्पनी काठमाडौंले टेण्डरमार्फत प्राप्त गरिसकेको छ । बजारमा रहेका व्यापारीहरुले सम्झौता सकिएपछि पनि जग्गा छाड्न नमानेपछि जग्गाधनी नेपाल वायुसेवा निगमले पटक–पटक सूचना प्रकाशित गरेर जग्गा खाली गर्न आग्रह गरेको भएपनि व्यापारीले अटेर गरिरहेका छन् । यसका साथै नेपाल सरकार गृह मन्त्रालयले पनि जिल्ला प्रशासन कार्यालय कास्कीलाई पत्र लेखेरै जग्गा खाली गराउन यसअघि निर्देशन दिएको भएपनि प्रशासनले राजनीतिक इस्यू जोडिएको भन्दै मौन बसेको थियो । तर केही दिनअघि प्रधानमन्त्री प्रचण्डको निर्देशन, गृहसचिवको ठाडो आदेशको पत्र जिल्ला प्रशासन कार्यालयमा आएपछि प्रशासन जवर्जस्ती नै भएपनि जग्गा खाली गराउन अन्तिम तयारीमा रहेको बताइन्छ ।

सस्तो बजारको समस्या समाधानका लागि पोखरामा केही अघि आयोजित सर्वपक्षीय भेलाले पोखरा उद्योग वाणिज्य संघलाई जिम्मेवारी दिएको थियो । समस्या समाधानका लागि पटक–पटक पहल गरेपनि सफल हुन नसकेपछि पोउवासंघले प्रशासनलाई कानून बमोजिम अघि बढ्नु भन्ने पत्र पठाएको थियो ।  बजार खाली गराउन पर्यटन मन्त्रालयले पनि जिल्ला प्रशासनलाई पत्र पठाइसकिएको बताइन्छ । स्रोतका अनुसार वैशाखको पहिलो साताभित्रै वायुसेवा निगमको आफ्नै सुरक्षा फौजले गेटमा ताला लगाइ व्यवसायीलाई हटाउन प्रयास गर्ने तयारी भएको छ । त्यसबाट पनि व्यापारीले सहजरुपले नछाडे प्रशासनले खाली गराउने तयारीमा लागेको छ । बजारको जग्गा खाली गराउने विषयमा तनाव उत्पन्न हुन थालेपछि बजार संचालक समितिका महत्वपूर्ण हस्ती मानिएका पूर्व सचिव टंक खतिवडा र सचिव प्रकाश दुलाल लगायतका बुझेका व्यापारीहरु उक्त स्थान छाडेर अन्यत्र सरिसकेका छन् ।  बजार संचालक समितिका अध्यक्ष शिव खनाल लगायतले व्यापारीहरुसंग मोटो रकम लिएर फिर्ता नगरेको, महिनौं भाडा उठाइ सम्बिन्धत संस्थामा नबुझाइ रकम हिनामिना गरेकोले छाड्न आनाकानी गरेको बजारको टेण्डर प्राप्ति गरेको सूर्यदील ग्रुप इन्भेष्टमेन्टका युवराज खतिवडाको बुझाइ छ । उनका अनुसार जवर्जस्ती बजार खाली गराइए व्यापारीको रकम फिर्ता गर्न नपर्ने र वायुसेवा निगमलाई पनि हालसम्मको भाडा बुझाउन नपर्ने सोचाइमा हालका संचालक समिति रहेको र सोही योजनाले केही व्यापारीलाई उक्साएर आन्दोलन गरिरहेको छ । 

प्रशासनले हटाउने अन्तिम तयारी गरेको र सबै तिरबाट दवाव बढेपछि व्यापारीहरु विरोधमा उत्रिएको बताइन्छ । विरोध प्रदर्शनका क्रममा सहभागीहरुले जनतालाई शान्तिपूर्वक गरि खान देऊ, दलालहरुलाई लुट्न नपठाऊ, राज्यलाई हामी आफैं भाडा तिर्छौं लगायतका नाराहरु लगाएका थिए ।  कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा सस्तो बजार व्यवस्थापन समितिका संरक्षक शिव खनालले आफूहरुले कुनैपनि हालतमा सस्तोबजारलाई नछाड्ने बरु ज्यानको बलिदानी दिन तयार रहेको बताएका थिए । उनले यदि सस्तोबजारमा डोजर लगाउने काम भएमा त्यसको कडा रुपमा प्रतिवाद गर्ने घोषणा गरे । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी जगन तिवारीले नेपाल वायु सेवा निगमसँग भाडामा जग्गा लिएका राजु गोर्खाली लगायतका व्यवसायीहरुलाई आफूले जो–जससँग लगानी गरेको रकम हो उनीहरुसँगबाट फिर्ता गरेर लैजान आग्रह गर्दै सटरहरुमा डोजर लगाउने काम भयो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान अध्यक्ष लोकमानसिंह कार्कीलाई जस्तै कडा कारवाही चेतावनी दिए । उनले कुनै पनि मूल्य चुकाएर भएपनि सस्तो बजारका साना स्वरोजगार व्यवसायीहरुको अधिकार स्थापित गरिछाड्ने प्रतिवद्धता पनि व्यक्र गरे ।  उनले तिब्बती र भुटानी शरणार्थीले नेपालमा आएर व्यापार व्यवसाय गर्न पाउने तर नेपाली नागरिक भएर पनि आफ्नो स्वरोजगार गरेर खान नपाइने कस्तो व्यवस्था हो भनी सरकारसँग प्रश्न गरे । मोहन वैद्य किरण नेतृत्वको पार्टी क्रान्तिकारी माओवादी कास्कीका सेक्रेटरी भीमबहादुर श्रीष, शुशिला थापा लगायतले पनि सस्तो बजारमा रहेका दुईसय १७ जना साना व्यापारीहरुको पक्षमा हुने जुनसुकै आन्दोलनप्रति ऐक्यवद्धता जनाउने बताए ।

Post a Comment

 
Top