0
गोल्डेन न्यूज संवाददाता
सडकमा उँडेको धुलो घर र पसल भित्र पसेर बस्न सक्ने अवस्था नभएको भन्दै विहिवार स्थानीयवासीले निर्माणधिन जिरो किलोमिटर विन्ध्यावासिनी सडक खण्डको बाग्लुङ बसपार्क क्षेत्र बन्द गराए । निर्माण सुरु भएको लामो समय हुँदा पनि सम्पन्न नभएको र धुलोका कारण कठिनाइ भोग्नुपरेकाले बाध्य भएर सडक बन्द गर्नुपरेको उनीहरुको गुनासो छ । अत्याधिक धुलोकै कारण सडक छेउमा बसोवास गर्ने कतिपय मानिस विरामी पर्न थालेको, पसल खोलेर ब्यापार ब्यवसाय गर्न नसकेको तथा घरभित्र समेत बस्न सक्ने अबस्था नभएको स्थानीय भरत कुमार भारीले बताए ।
‘रोडको छेउमा घर छ । यो बाटो समयमा नबन्दा धेरै कठिनाइ भोग्नुपरेको छ । धुलो उडेर वारीको पारी मान्छे देख्न सक्ने अबस्था हुन्न’, उनले भने–‘खानी कुरामा धुलो, घर भित्र धुलो, धुलोका कारण कतिपय बिरामी पर्न थालेका छन् ।’ धुलो नियन्त्रणका लागि सरोकारवालाको ध्यान जाओस् भनेर बाध्यताबस बाटो रोकेको उनले स्पष्ट पारे ।
अर्का स्थानीय हेम बहादुर श्रेष्ठले धुलोकै कारण आफू तीन पटकसम्म आखा अस्पताल जानुपरेको बताए । ‘यो बाटोको धुलेले गर्दा तीन पटक आखा अस्पताल जानुपर्यो । धुलोले कति मानिस विरामी परेका छन् । छिटो निर्माण सम्पन्न गर्न पर्छ’–उनले भने ।
सोहि क्षेत्रका स्थानीय बिष्णु कुमार श्रेष्ठले धुलो नियन्त्रणका लागि सडक विभागलाई पटक पटक ध्यानाकर्षण गराएपनि सुनुवाइ नभएको बताए । ‘दुई बर्ष बित्दापनि तीन किलोमिटर बाटो निर्माणको काम सम्पन्न हुन सकेन’, उनले भने–‘धुलो नियन्त्रणका लागि १५ मिनेटको फरकमा पानी हाल्नुपर्छ ।’ 
पोखरा बाग्लुङ भूपी शेरचन राजमार्ग अन्तर्गत जिरो किलोमिटरदेखि विन्ध्यवासिनी सडक विस्तारका लागि निर्माण सम्झौता भएको दुई बर्षसम्म पनि काम सम्पन्न हुन नसक्दा स्थानीय आक्रोशित भएका हुन् । आयोजना समयमा सम्पन्न गर्न नसक्नु सडक विभाग र सम्बन्धित निर्माण कम्पनीको कमजोरी भएको उनीहरुको ठहर छ ।
तर सडक विभागले अबको झण्डै एक महिनाभित्र सो बाटो कालोपत्रे हुने जनाएको छ । डिभिजन सडक कार्यालय पोखराका इन्जिनियर नवराज बास्तोलाले झण्डै ७० प्रतिशत काम सकिएको र कालोपत्रेका लागि आवश्यक तयारी पनि अन्तिम चरणमा पुगेको बताए । असफाल्ट कंक्रिट प्लान्ट प्रविधिबाट पोखरामा पहिलो पटक सडक पिच गर्न लागिएको उनले जानकारी दिए । 
त्यसका लागि प्लान्ट जडानको काम सकिएको र तयारी पनि पूरा भएकाले बैशाख ४ देखि कालोपत्रेको काम सुरु हुने पौडेलले पिसपोखरालाई बताए । झण्डै तीन किलोमिटर लम्बाइको यो सडक चार लेनको बनाउन लागिएको हो । धुलो नियन्णका लागि विभागको तर्फबाट पानीको ट्याङ्कर पठाइरहेको उल्लेख गर्दै उनले निर्माणाधिन सडकमा सवारी चाप कम गराउन ट्राफिक प्रहरीको भूमिका पनि महत्वपूर्ण हुने बताए ।
सडक विस्तारको लागि हेटौडाको रमण मृत सञ्जिवनी कम्पनीले २०७१ असार ३० गते निर्माण सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७३ असार ३० गते सम्पन्न गर्नुपर्ने भएपनि भूकम्प र नाकाबन्दीका कारण म्याद थप गरी आगामी असार मसान्त भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । सो सडक खण्ड विस्तारका लागि कुल १३ करोढ ३९ लाखमा निर्माण सम्झौता भएको थियो ।


























Post a Comment

 
Top