0
गोल्डेन न्यूज संवाददाता
पाँच दिने राजकीय भ्रमणको लागि भारत पुगेकी नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीलाई नयाँ दिल्लीस्थित ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय महिला तथा बालबालिका बिकास राज्यमन्त्री कृष्णा राजले स्वागत गरेकी छन् ।  राष्ट्रपति भण्डारीको स्वागतमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतीय राजदूत मञ्जित सिंह पुरीलगायत पदाधिकारी विमानस्थल पुगेका थिए । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारी भारत गएकी हुन् । राष्ट्रपति निर्वाचित भएयता उनको यो पहिलो विदेश भ्रमण हो । यसैबीच नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत भ्रमणका क्रममा भारतकी राज्यमन्त्रीले स्वागत गरेको विषयलाई लिएर तीव्र आलोचना भएको छ । सामाजिक सञ्जाल देखि मिडियासम्म यसबारे प्रतिक्रिया सार्वजनिक भइरहेका छन् । गत कात्तिकमा नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणका क्रममा त्रिभुवन विमानस्थलमै पुगेकी राष्ट्रपतिको भारत भ्रमणका क्रममा भने राज्यमन्त्रीले स्वागत गरेको भन्दै नेपालमा यसको तीव्र आलोचना भएको हो । राष्ट्रपति भण्डारी पाँच दिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली पुगेकी हुन् । राष्ट्रपतिको राजकीय भ्रमण भन्दै नेपाल सरकारले सार्वजनिक विदा नै दियो । परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतसहित ३४ जनाको टोलीसहित भ्रमणमा निस्किएकी उनलाई भारतको तर्फबाट पनि उच्च स्तरको स्वागत हुने अपेक्षा गरिएको थियो । तर, उनी भारत पुग्दा उनको स्वागतमा महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राज नयाँ दिल्लीको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगिन् । त्यसपछि नेपालमा गरिएको आतिथ्य र भारतमा गरिएको स्वागतको टिकाटिप्पणी भएको हो ।  भारतका राष्ट्रपतिको निमन्त्रणामा गएकी उनलाई राज्यमन्त्री स्तरबाट स्वागत हुँदा नेपाली सामाजिक प्रयोगकर्ताले नेपाललाई भारतले होच्याएको प्रतिक्रिया सामाजिक सञ्जालमा दिएका छन् । तर, पूर्व परराष्ट्रमन्त्री तथा पूर्व राजदूत डा. भेषबहादुर थापाले यसलाई अस्वभाविक रुपमा लिन नहुने बताए । ‘राष्ट्र प्रमुखको भ्रमणमा शिष्टाचारको हिसाबले कुन तहले स्वागत गर्ने भन्ने हुन्छ । तर, भारतले केही अपवाद बाहेक नेपालका राजाहरुको भ्रमणमा पनि राज्यमन्त्रीले स्वागत गरेका उदाहरणहरु छन्’ उनले भने–‘२०४६ सालपछि नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वागतमा मात्रै भारतका प्रधानमन्त्री थिए । त्यो अपवाद थियो ।’ त्यसपछि राजा, राष्ट्रपति, प्रधानमन्त्री जाँदा मन्त्री वा राज्यमन्त्रीले स्वागत गरेको थापाले जानकारी दिए ।  पूर्व राजा वीरेन्द्र शाह रिपब्लिक डे मा प्रमुख अथितिको रुपमा भारत जाँदा पनि विमानस्थलमा राज्यमन्त्रीले स्वागत गरेको उनले स्मरण गरे । 

त्यसैगरी पूर्व राष्ट्रपति भारत भ्रमण जाँदासमेत पराराष्ट्र राज्यमन्त्रीले स्वागत गरेका थिए । यद्यपि हालै बंगलादेशका प्रधानमन्त्री शेख हसिना भारत भ्रमणमा आउँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए । सोही विषयलाई लिएर नेपालमा तीव्र आलोचना गरिएको छ । भारतले देशको क्षमता र मित्रताका आधारमा स्वागत गर्ने गरेको छ । यसअघि पनि नेपालका राष्ट्र प्रमुख र कार्यकारी प्रमुखको स्वागतमा यस्तै अभ्यास रहेकाले अहिलेलाई सद्भाव कमीको रुपमा लिन नमिल्ने थापाले जानकारी दिए । यसैबीच सरकारले राष्ट्रपति भण्डारी स्वदेश फर्कने दिन घोषणा गरेको सार्वजनिक बिदा नगर्ने जनाएको छ । सरकारले राष्ट्रपतिको भ्रमण राजकीय भन्दै दुई दिन विदा घोषणा गरेपछि सर्वत्र विरोध धएको थियो । विरोधपछि सरकार पछि हटेको र एक दिनको बिदा फिर्ता लिएको आँकलन गरिएको छ ।




Post a Comment

 
Top