0
राज्य संचालनका लागि बाहुन, क्षेत्री, व्यापारका लागि वैश्य र अरू सबै कर्मका लागि शुद्रको प्रयोग हुने वर्ण व्यवस्थाको समाजमा सामन्तहरूको बोलवाला सधैं रहि आएको छ । राजतन्त्रात्मक प्रणाली सामन्तहरूको आश्रय थलो भएकोले यसमा अनेक खाले सामन्तहरू नै जन्मिन्छन् । विना कामको अर्काको श्रमशक्तिमाथि निर्भर भई अर्थलाभ गर्ने स्वाभावको विकास गराउनमा तल्लीन रहेको राजतन्त्रको भूमिका इतिहासको पानामा सुरक्षित छ । राजा भनेको जुनी जुनीको सत्कर्मबाट प्राप्त देवत्व स्थान हो । यो स्थान सहज प्राप्त गर्न सकिन्न । भगवानको प्रतिनिधीको रूपमा रहेको राजा यो स्थानमा पुगेपछि उसको आदर, सम्मान र पूजा गर्नु जनताको कर्तव्य हो आदि आदि राजतन्त्रात्मक महिमाले इतिहास भरिपूर्ण छ ।
नेपालमा राजतन्त्रात्मक व्यवस्थाको लामो इतिहास छ । मैले जनताप्रति उत्तरदायी रहने सतयुगको राजतन्त्रको कुरा गरि रहेको छैन । नेपालको भौगोलिक अवस्था अनुसारका अविकसित, पछौटेपन, सामुदायिक हुँदै एउटा ठूलो भूखण्डको राजालाई पाउँछौ । अविकसित अवस्थामा शासन प्रणाली पनि आजको जस्तो विकसित नरहेकोले प्रणालीको बर्बर नमूना हामी शाहवंशी कालसम्म पाउँछौं । किराँतकाल, लिच्छविकाल, मल्लकाल, शाहवंशी+ राणाकालसम्मको शासन प्रणाली अभ्यासमा जन्मिएका सामन्तहरूको एउटा ठूलो सशक्त शासकवर्ग खडा भयो । शासनसत्तामा बंश परिवर्तन देखिएपनि राज्यसत्तामा तात्विक परिवर्तन केही भएन । समयानुसार शासनको विधीमा केही फरक आउनु स्वाभाविक थियो तर जन अपेक्षा पूरा गर्ने शासनको कल्पनासम्म थिएन । जनताको रगत चुसेर खाने सामन्ती शासकको स्वाभाव रहेकोले किराँतकालमा लिच्छवी, लिच्छवीकालमा मल्ल, मल्लकालमा राणा र त्यसपछि शाहवंशले राज्यसत्ताको निरन्तर अभ्यास गरेको प्रतिफल नै सत्ता प्राप्ति हो ।
राज्यसत्ताको अभ्यासमा खसवर्गीय परम्पराको शुरूवात् शाहवंशकालदेखि घनीभूत रूपमा देखिन्छ । हुनत मल्लकालमा पनि यदाकदा खसको उपस्थिति त छ तर शाहवंशकालदेखिको अभ्यास गणन योग्य छ । पृथ्वीनारायण शाहले नेपाल अधिराज्यको स्थापना गरेपछि खसहरूले अतुलनीय योगदान गरेवापत राज्यसत्ता खसलाई सुम्पेका थिए । यसको प्रमाण उनको महानवाणीमा स्पष्ट देख्न सकिन्छ –“वाहुनको सवार भन्याको बयल हो, पातक लाग्छ, ठकुरीको सवार भन्याको सिंघ हो पछाडि दगा हुन्छ, मग्रको सवार भन्याको टागन घोडा हो ढिलो हुन्छ, षसको सवार भन्याको ताजि तुर्कि घोडा हो षसको सवार ग¥या चाँडो होला..।”
पृथ्वीनारायण शाहको अवसानपछि भीमसेन थापाले खसवर्गलाई दुई श्रेणीमा विभाजन गरे–गोर्खाली र अगोर्खाली । राज्यप्राप्तिको अग्रपंक्तिमा रहने सबै गोर्खाली र पछिल्लो पंक्तिमा रहने त्यही वंशका खस अगोर्खाली कहलाईए । भीमसेन थापाले सेनालाई विशुद्ध गोर्खाली स्वरूपको राख्न अरू सबैलाई मासि दिए । यहाँबाट खसवर्गीय गोर्खाली सामन्तहरूको वंश परम्परा शुरू भयो । राज्यसत्ताको  अभ्यास गरेका तथा सत्ताभन्दा किनारमा रहनु परेका अगोर्खाली खसहरू असन्तुष्ट थिए । गोर्खालीहरूबीच वैमनष्यता उत्पन्न हुँदा सत्तापक्ष अगोर्खालीहरूलाई प्रयोग गरि अनेक ताण्डव मच्चाएको इतिहास साक्षी छ । एउटै वर्गको अन्तर्विरोधले अनेक हत्याकाण्ड मच्चाएको छ । ती सबै हत्याकाण्ड जन अपेक्षा पूरा गर्नका लागि होईन, सत्ता प्राप्तिका लागि थियो ।
असन्तुष्ट अगोर्खाली पक्ष सत्तामा सामेल हुन संघर्षको रूपमा अनेक प्रयास गर्दै अगाडि बढ्दै गए । तर गोर्खालीको निरंकूशता लाई ढाल्न सकेन । असन्तुष्ट पक्ष त्यसपछि राजनीतिक दलको रूपमा संगठित हुन थाले । पार्टीहरू खुले–प्रजा परिषद, नेपाली काग्रेस, नेपाल कम्युनिष्ट पार्टी आदि । यिनी सामन्तवर्गको उदारवादी विचारक थिए । जनतालाई सहयोग नलिई गोर्खालीलाई परास्त गर्न सकिन्न भनेर यिनले सर्वहारा राज्यको स्थापना गर्न तथा कोही समानताको आधारमा समाजवाद स्थापना गर्ने फरक फरक विचार लिएर जनतालाई संगठित गर्न थाले । निरंकूशताको विरूद्धमा उभिएका नेपाली काँग्रेस र नेकपा शुरूका दिनमा पारस्परिक रूपमा एक अर्काका शत्रु नै थिए । असन्तुष्ट पक्षमा पारस्परिक मिल्न नसक्ने दुई श्रेणी रहेसम्म राज्यसत्तामा आसीन गोर्खाली शासकलाई केही बिगार्न सकिंदैन भन्ने यथार्थलाई बुझ्न नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीलाई दशकौं लाग्यो । अनुदार शासक ढालेपछि उदारवादी विचारको कब्जामा राज्यसत्ताको सम्पूर्ण वागडोर आएपछि खसवर्गीय उदारवादी शासकहरूले सधैं दुःख दिने राजतन्त्रलाई वैधानिक रूपबाट समाप्त पारेपछि कम्युनिष्ट र काँग्रेस निर्विकल्प शक्तिको रूपमा स्थापित भए । अर्को शब्दमा भन्दा यिनी देवत्वको स्थानमा अर्को प्रभूको रूपमा आसीन भए ।
सत्तामा जाने कम्युनिष्ट, काँग्रेसले खासगरि जनताको अपेक्षालाई बिर्से । मधेशी जनतालाई नेपाली नागरिकको रूपमा स्वीकार गर्न नचाह्ने वर्गीय चारित्रिक विशेषताले यिनलाई कता कता सत्ताको पाश्र्वमा रहेका गोर्खाली शक्तिले आफनो प्रभावमा तान्न थाल्यो । अहिले एमाले अध्यक्ष त्यही गोर्खाली राष्ट्रवादको नाईके बनेका छन् र जङ्गबहादुर जस्तै मधेशमा नरसंहार गराउँदै हिंडी रहेका छन् । बलियो संगठन र राज्यसत्तामा सशक्त उपस्थितिले विकसित भएका महत्वाकाँक्षाले यिनका उदार विचारलाई विस्तारै समाप्त पार्दैछ । उदार विचार पनि गोर्खाली राज्यसत्ताको अस्तित्वसंग जोडिन गएपछि वर्गीय राज्यसत्ताको चरित्र उदाङ्गिएको छ ।
सामन्ती निरंकूश शासन प्रणालीको लूटतन्त्रमा जन्मिएको राज्यसत्ता विरासतमा पाएको एकल तथा सामन्ती चरित्र अनेक आन्दोलनका झंझावात खेप्दै आफनो परम्परागत स्वरूपलाई कायमै राखेको छ । आन्दोलनका ठूल्ठुला आँधी बेहरीमा राणाहरूको अन्त, राजतन्त्रको समाप्ति, लोकतन्त्रको पुनस्र्थापना भएको देखिएपनि असलमा जन अपेक्षा पूरा गर्ने शासन व्यवस्था आएको छैन । तीन श्रेणीमा विभाजित सामन्तहरूको सत्ताप्राप्तिको पारस्परिक संघर्षलाई जनसंघर्ष भनियो । यस क्रममा राजा त्रिभुवन, राजा विरेन्द्रलाई पनि प्रजातन्त्रमा विश्वास गर्ने राजाको रूपमा चित्रण गरियो । नेपाली समाजमा प्रस्फुटित भई रहेको सामन्ती शोषण, उत्पीडन विरूद्ध बीजाँकुरले प्रजातन्त्रका अभिनय गर्नेहरूलाई गलत साबित गरि इतिहासको पानामा थन्कायो । एकात्मक तथा केन्द्रीकृत वर्गीय राज्यसत्ता नेपाली समाजमा आई रहेको परिवर्तनको भेललाई रोक्न अनेक मुखौटा लगाई जनतालाई झुक्याउने प्रयास गर्दै रह्यो ।
यी वर्गीय राज्यसत्ताले हरेक आन्दोलनमा मधेशलाई उपयोग गरेपनि उसको अधिकारप्रति कोही संवेदनशील भएन । अन्ततोगत्वा मधेशलाई आफनो अधिकारको लागि राज्यको विरूद्ध उभिन बाध्य हुनु प¥यो । मधेशको विश्वास छलेको एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र अहिले जनमुखी स्वरूप हटाएर नैतिकहीन, मर्यादाहीन, छलकपटमा आधारित राजनीतिमा लागेर एकअर्कालाई पछार्ने तल्लोस्तरको राजनीतिमा लागेका छन् ।
एक दशकदेखि शीर्षस्थानमा बसेका नेपाली काँग्रेस, एमाले र माओवादी नेपालको द्वन्द्व व्यस्थापनमा कसैको सहयोग नचाहिंने भनेर लागेका छन् । बरू वर्गीय निरंकूश शासकीय प्रवृति देखाएर द्वन्द्व भडकाउने दिशामा अग्रसर एमालेलाई अरूहरूले साथ दिएर अगाडि बढि रहेका छन् । मधेशलाई राज्यको विरूद्ध उभ्याएर, पेलेर जसरी पनि चुनाव गराउने शीर्ष दलहरूको आपराधिक मानसिकता ध्वंश गर्न जति खप्पिस छ, देशको आर्थिक विपन्नता, पराश्रित राष्ट्रिय संकट, समुदायको पारस्परिक बढ्दै गई रहेको वैमनष्यता, जनविश्वासको संकट, राजनीति भ्रष्टीकरण, विकास र उत्पादनशीलताको संकट हटाउन उत्तिकै कमजोर लाचार र निकम्मा देखिन्छ । आफनो अस्तित्व र धनलाभ प्राप्त गर्न स्वाभिमान त्यागेर भएपनि शक्तिकेन्द्रको गुलामी गर्न नहिच्किचाउने दलहरूको अब धरातलबाटै आलोचना शुरू भएको छ ।
भ्रष्टतन्त्रमा चुर्लुम्म डुबेको देशमा उर्जामन्त्री जनार्दन शर्मा र कुलमान घिसिंगको दृढ ईच्छाशक्तिले उपत्यकाबाट लोडसेडिङ हटाएर एक्लै पनि सुधार गर्न सकिने उदाहरण दिएका छन् । लोडसेडिङ हटेपछि मात्र थाहा भयो भ्रष्टाचारले विद्युत प्राधिकारण लाई कसरी कब्जा गरेको थियो । एकलैले गर्ने संसारमा धेरै उदाहरण छन् । सुधारका लागि दृढ ईच्छाशक्ति चाहियो । तर सत्ता कब्जा गरेपछि धनवर्षा सुविधामा रमाउने दलहरू सुधारको क्षेत्रमा जाँदा गोर्खाली राष्ट्रियताको क्षयीकरण हुने ठानेर यथास्थितिलाई स्वीकार गरेका छन् । अहिले मधेश राज्यसत्ताको विरूद्धमा देखिएपछि अस्तित्वको खतरा देखाएर खसवर्गीय संगठनलाई मजबूत पार्ने रणनीति लिएको एमालेले राष्ट्रघातमा लागेको आम धारणा रहेपनि यसको विरूद्धमा बढि जिम्मेवारी बोकेका माओवादी केन्द्र लगायत नेपाली काँग्रेसलाई अविलम्ब पहल गर्नु पर्ने स्थिति आएको छ ।
देश बिगार्ने मधेशी होईन, देशको राष्ट्रिय समस्या हो । यसलाई बुझ्न नसक्ने गोर्खाली प्रवृति हो । सामाजिक सद्भाव भड्काउने असामाजिक तत्व हो । धरातलीय यथार्थलाई बुझेर बुझ पचाउने राज्य संचालकको अदुदर्शी चिन्तन हो । पैसा नपाए विरोध गर्ने, पाए चुप लाग्ने यस्तो स्तरहीन राजनीतिले देश बिगारेको छ । यस्ता असामाजिक तत्वलाई नियन्त्रण गर्न सकिएन भने देशमा कहिल्यै पनि अमन चैनको वातावरण आउँदैन । राजनीतिको भ्रष्टीकरण बाट देश सुधारको कल्पना गर्नु बेकार हो । वर्गीय रूढिवादी संकीर्ण चिन्तन, सामन्ती गोर्खाली चरित्र, पूर्वाग्रही व्यवहार, सहअस्तित्व स्वीकार्ने भावनाको अभाव, असमान दृष्टिकोण आदिले न देशलाई उभो लाग्न दिन्छ न लोकतन्त्रको स्थापना हुन दिन्छ । देश विकासका लागि यी शत्रुहरूलाई परास्त गर्न जरूरी छ । (मधेश दर्पण फिचर सेवा)






Post a Comment

 
Top