0
गोल्डेन न्यूज संवाददाता
पोखरा विश्वविद्यालयका ६२ वटा महाविद्यालयका प्राध्यापकहरु का लागि ‘अनुसन्धान पद्धति र वैज्ञानिक प्रस्ताव विकास’ विषयमा कार्यशाला गोष्ठी शुरु भएको छ । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र र विश्वविद्यालय अनुदान आयोगद्वारा आयोजित  गोष्ठीको उद्घाटन पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. इन्द्रप्रसाद तिवारीले गरेका थिए । कार्यक्रममा बोल्दै तिवारीले अध्ययन, अध्यापन र अनुसन्धानलाई सँगसँगै लैजान सके शिक्षामा गुणस्तर अभिवृद्धि गर्न सकिने बताए । उनले हरेक प्राध्यापकले अनुसन्धान गर्ने बानी नै बसाल्नुपर्नेमा जोड दिए । डीन तिवारीले प्राध्यापकले एक वर्षमा एउटा अनुसन्धान लेख, प्रस्ताव तयार गर्नुपर्ने र  कम्तिमा एउटा सेमिनारमा भाग लिनुपर्नेमा समेत जोड दिए । 
पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन डा. कर्णवीर पौडेलले परीक्षामुखी पठन–पाठनको जमाना गइसकेको उल्लेख गर्दै अनुसन्धानमुखी पठन–पाठनलेमात्र शिक्षक र विद्यार्थीको गुणस्तरमा सुधार आउन सक्ने बताए । 

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सहप्राध्यापक गुलाम मोहमम्मद खानले अनुसन्धान पद्धतिलाई विश्वविद्यालयले विशेष जोड दिंदै आएको उल्लेख गरे । विश्वविद्यालयमा अनुसन्धान भयो भने यसले विश्वविद्यालयको छवि र साखमा समेत बढोत्तरी हुने उल्लेख गर्दै खानले अनुसन्धानको विकास, विस्तार र गुणस्तरका लागि विश्वविद्यालय विश्वविद्यालय अनुसन्धान आयोगसँग हातेमालो गर्दै अगाडि बढेको स्पष्ट पारे ।  पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशका स्कूल निर्देशक डा. रविन्द्र घिमिरेले प्राध्यापकले आफ्नै कक्षा कोठाबाट अनुसन्धान को थालनी गर्नुपर्ने उल्लेख गर्दै यसका लागि विद्यार्थीलाई अनुसन्धान गर्न प्रेरित गर्न सक्नु पर्नेमा जोड दिए । पोखरा विश्वविद्यालय स्कूल अफ ईञ्जिनियरिङ्गका प्रा.डा. टेकराज ज्ञवालीले अनुसन्धान गर्न धेरै पैसा खर्चिनु आवश्यक नरहेको उल्लेख गर्दै आधारभूत कार्य उन्मुख आवश्यकताबाट अनुसन्धान गर्न सके पठनपाठनमा निख्खार आउने उल्लेख गरे । सिद्धार्थ बैंक पोखरा शाखाका शाखा प्रमुख प्रदिप कुमार श्रेष्ठले पठन–पाठनको प्रतिफलका लागि अनुसन्धान महत्वपूर्ण कार्य भएको बताए ।  स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेज, पोखरा विश्वविद्यालयका उपप्राध्यापक अतिस कौडिन्यायनले पनि कार्यक्रममा बोलेका थिए । शनिबारसम्म सञ्चालन हुने गोष्ठीमा पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका प्रा.डा. विष्णुराज तिवारी र प्रा. नविन श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. राधेश्याम प्रधान र पृथ्वीनारायण क्याम्पस, पोखराका प्राध्यापक विकास के.सी. लगायतले सहजीकरण गर्नेछन् ।




Post a Comment

 
Top