0
गंगाधर पराजुली
पोखरा ९ वैशाख ।
स्थानीय तहको निर्वाचनका लागि राजनीति दलले आफ्नो उम्मेदवार तय गर्ने प्रक्रियालाई तीव्रताका साथ अघि बढाएका छन् । निर्वाचनका विषयमा विभिन्न आशंका रहेपनि शनिबार सत्तारुढ पार्टी र मधेश केन्द्रित दलका बीचमा सहमति कायम भएपछि अब निर्वाचन हुने निश्चित भएको छ । तर प्रदेश नं. ३, ४ र ६ मा तोकिएको मिति अर्थात वैशाख ३१ मै निर्वाचन हुने भएपनि प्रदेश नं. १, २, ५ र ७ मा भने जेठ ३१ मा दोस्रो चरणमा निर्वाचन हुने भएको छ । 
यो सहमतिसंगै कास्की लगायतका प्रदेश नं. ४ मा चुनावी अभियानले तीव्र गति लिंदै छ । कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको मेयरका लागि नेकपा एमाले उम्मेदवार छनौट प्रक्रियाको अन्तिम चरणमा पुगेको छ । शुक्रबार राति अबेर सम्पन्न आन्तरिक चुनावबाट मानबहादुर जिसी र कृष्ण थापामध्ये १ जना उम्मेदवार बन्ने करिब निश्चित भएको छ। आन्तरिक चुनावमा ४५६ मतदाता रहेकोमा ३९९ मत खसेको थियो । जसमा जिसीले २४६ र थापाले २२० मत प्राप्त गरि पहिलो र दोस्रो स्थानमा रहे । जिसी र थापा दुवै पार्टीका अध्यक्ष केपी ओली खेमाका हुन् । तर स्थानीय स्तरमा भने ओली खेमाकै खगराजले जिसी भन्दा थापालाई चाहेको बताइन्छ । 
यता पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर भनि चिनिएका श्रीनाथ बरालले ११७ मतमात्र प्राप्त गरेपछि उनी महानगरको मेयरको सम्भावित उम्मेद्वारको रुपमा सिफारिस हुनबाट समेत बञ्चित भए । आफूलाई युवा र पार्टीका क्रियाशिलले साथ दिन्छन् भनि नेता खगराज अधिकारीको आग्रहलाई समेत अस्वीकार गरेका युवा संघका अध्यक्ष राजीव पहारी ८५ मतमामात्र चित्त बुझाउन बाध्य भए । एमाले पार्टीको नीति अनुरुप आन्तरिक निर्वाचनबाट २ पुरुष र १ महिला चयन गर्ने र त्यसलाइ पार्टीको केन्द्रमा पठाउने प्रक्रिया रहेकोले अब जिसी र थापा सधैं महिलातर्फबाट निर्विरोध भएकी मित्रकुमारी गुरुङ सुवेदीको नाम केन्द्रमा पठाइने भएको छ । 
मेयरको आकांक्षीको रुपमा देखिएका अन्य एमाले नेताहरु मध्ये पुष्पज्योति ढुङ्गानाले २०, नारायण बाँस्तोलाले १५ मत र मदनकाजी श्रेष्ठले १३ मत प्राप्त गरेका थिए । उपमेयरमा ३ जना महिला सिफारिस गर्नुपर्नेै प्रावधान अनुसार आन्तरिक निर्वाचनबाट प्रभा कोइराला, मञ्जु गुरुङ र देवका पहारीको नाम सिफारिस हुने भएको छ । कोइरालाले २७५, गुरुङले २११ र पहारीले १५६ मत प्राप्त गरे । सौन्दर्यकर्मी को रुपमा परिचत मिना गुरुङले १३४ र विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय अर्की मिना गुरुङले १०३ मत प्राप्त गरेपछि यी दुवै उपमेयरको उम्मेदवार बन्न नपाउने भएको छ । निर्वाचनमा उमा परियारले ११९ र छलीकुमारी सुवेदीले ६२ मत प्राप्त गरेका थिए । उपमेयरकी आकांक्षी गंगा कुँवरले आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन भने मेयरका आकांक्षी धनराज आचार्य र होमबहादुर नेपालीले पनि उम्मेदवारी फिर्ता गरेका थिए ।  एमालेले कास्कीका अन्य गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा महानगरका वडाध्यक्ष सहितका उम्मेदवारहरु सर्वसम्मत गर्ने प्रयासलाई जारी राखेको छ । एमाले अध्यक्ष कृष्ण थापाका अनुसार धेरै वडाहरुमा सर्वसम्मत रुपमा उम्मेदवार तय हुनेक्रम जारी छ ।
यसैगरी मुलुकको ठूलो दल नेपाली कांग्रेसले पनि उम्मेदवार चयन गर्ने प्रक्रिया शुरु गरेको भएपनि अझैसम्म टुङ्गिएको छैन । कास्कीका कतिपय वडामा पार्टीको तर्फबाट सर्वसम्मतरुपमा उम्मेदवार चयन गरिएको भएपनि क्षेत्रीय समितिले निर्णय गरेपछि मात्रै त्यसले वैधानिकता पाउने भएकाले अझैसम्म कसैको पनि उम्मेदवारी टुङ्गिएको मान्न सकिंदैन । तर पोखरा लेखनाथ महानगरका केही वडा र गाउँपालिकाको केही वडामा सर्वसम्मत भएको बताइन्छ । महानगरको मेयरका लागि वडा समितिमा हुँदै क्षेत्रीय समिति र जिल्ला समितिमा नाम आउने भएकोले वैशाख १२÷१३ गतेसम्म मा उम्मेदवारको टुुङ्गो लाग्ने सम्भावना छ । 
तर महानगरको मेयर, उपमेयरमा जिल्लाले निर्णय गर्न नसके केन्द्रमा पठाउनुपर्ने प्रावधान रहेकाले अझै लम्विन सक्ने पनि बताइन्छ । तर निर्वाचनका लागि उम्मेदवारी मनोनयन र दर्ता वैशाख १६ गते गर्ने कार्यक्रम भएकोले सकेसम्म छिटो उम्मदवार चयन गर्नुपर्ने वाध्यात्मक अवस्था छ । पोखरा लेखनाथको मेयरका लागि विभिन्न वडाबाट आकांक्षीहरुको सिफारिस गर्नेक्रम चलिरहेकाले कम्तिमा ३० जना आकांक्षी मेयरका लागि देखिने निश्चित छ । कतिपयले भने आफू उम्मेदवार बन्न नपाउने निश्चित भएपनि चर्चाका लागि र कतिपयले वार्गेनिङका लागि मेयरको चाहना गरेका छन् । 
कास्की कांग्रेसमा एकले अर्काको अस्तित्व सहजरुपमा स्वीकार गर्ने अवस्था विद्यमान नभएकाले पनि पार्टी भित्र उम्मेदवारका आकांक्षी धेरै भएको अनुमान गर्न सकिन्छ । हाल विभिन्न वडाबाट नाम सिफारिस गरि क्षेत्रीय समितिमा पठाउने प्रक्रिया शुरु भइसकेकाले मेयरका आकांक्षीहरुले आ–आफ्नो वडाबाट सिफारिस पठाउन लगाएका छन् । वडा समितिले पनि विवादमा किन फस्ने भन्दै चाहना गर्ने सबैको नाम क्षेत्रमा सिफारिस गर्ने गरेको छ । 
नेपाली कांग्रेसको तर्फबाट मेयरका आकांक्षीहरुमध्ये पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि रामजी कुँवरलाई वडा नं. ६ ले क्षेत्रीय समितिमा सिफरिस गरेको छ । यस्तै तरुण दलका पूर्व केन्द्रीय सदस्य तथा पार्टीका महाधिवेशन प्रतिनिधि ऋषि काफ्लेलाई वडा नं. १५ ले सिफारिस गरेको छ । मेयरका अर्का आकांक्षी कास्की कांग्रेसका पूर्व कोषाध्यक्ष तथा पोउवासंघका पूर्व अध्यक्ष अशोक पालिखेलाई वडा नं. ३ र ९ ले सिफारिस गरेको बताइन्छ । 
मेयरका अन्य आकांक्षीहरुमध्ये पार्टीका महाधिवेशन प्रतिनिधिहरु बाबुराम आचार्य, वीरेन्द्रनारायण विजुक्छे, अधिवक्ता रामचन्द्र त्रिपाठी र कृष्णबहादुर कार्की, नगर सभापति वजिरमान श्रेष्ठ र सह–सभापति राजेन्द्रमणि लामिछाने, पोउवासंघका निवर्तमान अध्यक्ष विन्दुकुमार थापा, पार्टीका पूर्व कोषाध्यक्ष ऋषिराम सापकोटा, पूर्व सचिव नन्दप्रसाद तिवारी, पूर्व उपसभापति विष्णु बाँस्तोला पार्टी सदस्य शिव केसी लगायत आ–आफ्नो वडाबाट सिफारिस हुनेक्रम जारी छ ।
यसैबीच महानगरको वडा नं. २४ कास्कीकोटबाट दुर्गा प्रसाद तिमिल्सिनालाई महानगरको मेयरको उम्मेदवार बनाउन शनिबार सिफारिस गरिएको छ । कास्कीकोटमा कांग्रेस नेता देवराज चालिसेको प्रमुख आतिथ्यतामा भएको चुनावी सभा र त्यहाँ सम्पन्न भेलाले सर्वसम्मत रुपमा आफ्नो नाम सिफारिस गरि पठाएको तिमिल्सिनाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । उनी पार्टीको पूर्व महासमिति सदस्य र पोखरा उपत्यका नगर विकास समितिको पूर्व अध्यक्षका साथै पार्टीको पूर्व क्षेत्रीय सभापति समेत हुन् । 
आकांक्षी उम्मेदवारको संख्या बढ्दै जाँदा महाधिवेशन प्रतिनिधि देवराज चालिसे र नरेशशंकर पालिखेको नाम पनि शुक्रबार देखि थपिएको छ । चालिसेले पृथ्वीनारायण क्याम्पसको सह–प्राध्यापक पदबाट राजीनामा दिएकाले उनको चर्चा शुरु भएको हो । तर चालिसे महानगरको मेयरका लागि भन्दा आगामी चुनावका लागि केन्द्रित रहेको बताइन्छ । पालिखे पनि मेयरको चुनाव लड्ने पक्षमा छैनन् । तर आफूलाई मन नपर्ने केहीले मेयरको उम्मेदवारको रुपमा चर्चा गरेपछि पालिखेले पनि आफ्ना केही समर्थकमार्फत आफूपनि उम्मेदवार बन्ने कुरा सार्वजनिक गरेको बताइन्छ । 
यी नाम बाहेक नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, कांग्रेस नेता शोभियत बहादुर अधिकारी र सांसद यज्ञबहादुर थापाको नाम पनि मेयरको उम्मेदवारको रुपमा चर्चामा आउने गरेको छ । 
कांग्रेसकोतर्फबाट महानगरको वडा नं. ६ मा जगतबहादुर पहारी , १० मा राजकुमार गुरुङ, वडा नंं. १५ मा टोपबहादुर थापालाई वडाध्यक्ष पदमा उम्मेदवार बनाउन सिफारिस गरिएको छ । यस्तै वडा नं. १५ का सदस्यहरुमध्ये महिलामा अम्विका पराजुली, दलित महिलामा लक्ष्मी बराइली विक र खुल्ला २ सदस्यमा गणेश भण्डारी प्रितम गुरुङलाई चयन गरिएको निर्वाचन परिचालन समितिका संयोजक मिनबहादुर गिरीले बताए । 
यसैगरी वडा नं. १६ मा पदम बहादुर गुरुङ, १८ मा भरत थापा, १९ मा पुष्पेन्द्र पाण्डे, २० भलाममा महेन्द्र अधिकारी, वडा नं. २२ मा अशोक गुरुङ, २५ मा दानबहादुर थापा र वडा नं. २८ मा विकास गुरुङलाई वडाध्यक्षमा सिफारिस गरिएको छ । सम्बन्धित वडाबाट गरिएको सिफारिसलाई क्षेत्रीय समितिले अनुमोदन गरेपछि मात्र उनीहरु कांग्रेसको तर्फबाट उम्मेदवार बन्नेछन् । अन्य वडामा पनि उम्मेदवार चयन गर्ने प्रक्रियालाई तीव्र बनाइएको छ ।

Post a Comment

 
Top