0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय निर्वाचन तोकिएकै समयमा शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुने स्पष्ट पारेका छन् ।  उनले बैशाख ३१ गतेको निर्वाचन निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी सुरक्षा तयारी गरिएको बताए । पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीको पोखरामा बुधवार समापन गर्दै उनले क्षेत्रीय स्तरमा आयोजित सुरक्षा गोष्ठीबाट जिल्ला र क्षेत्रगत सुरक्षा अबस्था वारे विस्तृत जानकारी लिएर सोहि अनुसारको ब्यवस्था मिलाउन निर्देशन दिइएको  बताए । निर्वाचनमा जनताको जीउ धनको सुरक्षा, शान्ति ब्यवस्था, कानूनी ब्यवस्थालाई अझै कसरी ब्यवस्थित गर्ने भन्ने बारे सुरक्षा गोष्ठीमा ब्यापक र विस्तारित रुपमा छलफल गरिएको उनले जानकारी दिए । उनका अनुसार मतदाता, उमेदवार, निर्वाचनमा खटिने कर्मचारी सबैको सुरक्षा ब्यवस्थालाई ख्याल गरी सुरक्षा योजना तय गरिएको छ । चुनावलाई शान्तिपूर्ण र भयरहित बनाउन गृहमन्त्रालयको तर्फबाट कुनै कसुर वाँकी नराख्ने उनले प्रतिबद्धता जनाए ।

तत्कालका लागि सरकारले एकै चरणमा निर्वाचन सम्पन्न गर्ने तयारी गरिरहेको तर मधेशवादी दल निर्वाचनमा सहभागी हुन तयार भए उनीहरुको माग अनुसार दुई चरणमा पनि हुन सक्ने बताए । मन्त्री निधिले भने–प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चा आउँछन् भने दुई चरणमा पनि गराउन सकिन्छ भन्नुभएको कुरा तर्कका लागि तर्क हो, यो विषयमा सरकारले आन्तरिक छलफल गरेको छैन ।’ ‘सबै दलले चुनावमा भाग लिनुपर्छ, मधेसी मोर्चालाई सहमतिमा ल्याउँ भन्नेमा दुई मत कसैको छैन,’ उनले भने,–‘त्यसैका लागि आज (बुधबार) बिहान पनि बालुवाटारमा बैठक भएको हो ।’  ‘प्रस्टसँग त्यस्तो दुई चरणमा गराउन अहिलेसम्म मन्त्रिपरिषद्मा छलफल भएको छैन,’ उनले भने,–‘सहमति बन्छ भने गराउन नसकिने भन्ने पनि हुँदैन ।’ 

पूर्वाञ्चल, मध्यमाञ्चल र सुदूरपश्चिमपछि पश्चिमाञ्चलको सुरक्षा बैठक गरिएकाले सरकारको तयारी तीव्र रहेको उनले बताए । ‘निर्वाचन गराउन सरकार प्रतिबद्ध छ,’ उनले भने,–‘क्षेत्रीय सुरक्षा बैठक त्यसैका लागि गरिएको हो ।’ आफ्नो विवादास्पद ट्वीटबारे पत्रकारको प्रश्नमा मन्त्री निधिले चुनावी तयारी भएको छ भन्न खोजेको दाबी गरे । उनले भने–‘निर्वाचन आयोगले सबै तयारी गरिसकेको छ, सुरक्षा निकायले सबै तयारी गरिसकेको छ भनेको हो ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूबीच सरकार सञ्चालनका विषयमा मतभेद नभएको पनि उनले स्पष्ट पारे। ‘हाम्रो राम्रो सम्बन्ध छ,’ उनले भने–‘प्रधानमन्त्री ज्यू र म बीच असमझदारी छैन ।’सुरक्षा गोष्ठीमा बोल्दै गृहसचिव लोकदर्शन रेग्मीले कुनै अनिश्चय र द्विविधामा नपरी आफ्नो योजना अनुसार समन्वयात्मक रुपबाट कार्यक्षेत्रमा खटिन निर्देशन दिए ।गृह मन्त्रालय, सुरक्षा समन्वय महाशाखाका प्रमुख बालकृष्ण पन्थीले यस क्षेत्रका १६ जिल्लाका कुनै मतदान केन्द्रलाई संवेदनशील स्थितिको अवस्थामा नराखिएको जानकारी दिँदै एक मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीले जिम्मेवारीका साथ आफनो दायित्व पूरा गरिदिए सिङ्गै देशकै निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे ।  

कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले निर्वाचन सम्पन्न गर्न जिल्लाका सुरक्षा निकाय क्रियाशील भएर अघि बढेको बताए ।  पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरू सहभागी बैठकलाई गृह मन्त्रालयका सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थीले सहजीकरण गरेका थिए ।  बैठकमा गृहसचिव लोकदर्शन रेग्मी र चारवटै सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी थिए । गोष्ठीमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आ आफ्नो जिल्लामा स्थानीय निर्वाचनलाई केन्द्रित गरी तयार पारिएको सुरक्षा रणनीति र चुनौतिका बारेमा ब्रिफिङ गरेका थिए । गोष्ठीमा बोल्ने सबै जसो प्रमुख जिल्ला अधिकारीले सुरक्षाका लागि जिल्ला तहमा स्रोत साधनको कमी रहेको, सवारी साधन पर्याप्त नभएको लगायतका गुनासो गरेका थिए । निर्वाचन केन्द्रित सुरक्षा रणनीति तय गर्न पाँच विकास क्षेत्र मध्ये पोखरामा चौथो गोष्ठी सम्पन्न भएको हो । यसअघि पूर्वाञ्चलको विराटनगर, सुदूरपश्चिमाञ्चलको धनगढी र मध्यपश्चिमाञ्चलको नेपालगञ्जमा सुरक्षा गोष्ठी सम्पन्न भैसकेको छ ।






Post a Comment

 
Top