0
गोल्डेन न्यूज संवाददाता
युनाइटेड क्लव पोखरा पर्यटकीय शहर पोखराको बीच भाग भएर बग्ने सेती नदी संरक्षणमा जुटेको छ । स्थापना कालदेखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको अयोजना गरी विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको युनाइटेड क्लवले सेती नदी संरक्षण कार्यक्रम अनतर्गत सरसफाइ अभियान सुरु गरेको हो । आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत क्लवले सुरु गरेको सेती संरक्षण अभियानको मंगलबार पोखरालेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले उदघाटन गरे । सेती नदी संरक्षणमा खटिने पोखरा फोहोरमैला ब्यवस्थापन प्रालिका याम बहादुर दमाईलाई फोहोर सफा गर्ने सामाग्री हस्तान्तरण गर्दै पौडेलले सेती नदी सफाइमा युनाइटेड क्लवले देखाएको चासो सह्रानीय रहेको भन्दै पोखरा लेखनाथ महानगरपालिकाबाट आवश्यक पर्ने सहयोग गर्न आफू तयार रहेको बताए । एउटा क्लवले महोत्सवको आयोजना गरी विभिन्न सामाजिक काम गर्नु सानो कुरा नभएको बताउँदै सेती नदीको संरक्षणका लागि युनाइटेड क्लवसंग सहकार्य गरेर अन्य संघ–संस्था तथा क्लवहरुले पनि सहकार्य गर्नुपर्नेमा जोड दिए । क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले २०६७ सालमा स्थापना भएको क्लवले पांचौ संस्करणको पोखरा महोत्सवबाट सेती नदी संरक्षणका लागि महोत्सवमा आउने दर्शकको प्रति टिकटबाट एक रुपैयाँ संकलन गरी रकम जम्मा गरेको र सोही अन्तर्गत सेती संरक्षणको कार्यक्रम गरिएको बताए ।

सेती नदी संरक्षण कार्यक्रमका संयोजक तथा युनाइटेड क्लवका महासचिव राजु श्रेष्ठले सेती नदी संरक्षणका लागि संकलन भएको रकमबाट खर्च हुने गरी सेती नदी अन्तर्गत चाइनापुल वरपरको सेती नदी सफाइ गरिने बताए ।  त्यसका लागि क्लवले पोखरा फोहोरमैला ब्यवस्थापन प्रा.लि.लाई जिम्मा लगाएको र प्रालिले दश दिनमा चाइनापुल क्षेत्र सफाइ गर्ने बताए । त्यस्तै क्लवको साताब्यापी कार्यक्रमका संयोजक तथा क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले सेती संरक्षणमा युनाइटेड क्लवको मात्र नभइ सम्पूर्ण पोख्रेलीको दायित्व रहेको भन्दै क्लवको अभियान अनतर्गत चाइना पुल क्षेत्रमा सेती संरक्षण सम्वन्धी विभिन्न होडिङ वोर्डहरु राख्ने वताए । क्लवका अध्यक्ष शुकबहादुर गुरुङले सेती नदी सिंगो पोखरेलीको गहना भएकाले यसलाई दुर्गन्धित हुनबाट बचाउन सबैले आफ्नो ठाउँबाट पहलकदमी थाल्नुपर्नेमा जोड दिए । सेती नदी सरसफाइको जिम्मा पाएको पोखरा फोहोरमैला ब्यवस्थापन प्रालिका याम बहादुर दमाइले आफूले सेती नदीको सरसफाइका लागि विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्न तत्परता देखाउँदा कोही कसैले चासो नदेखाइरहँदा युनाइटेड क्लवको अगुवाइमा सरसफाइ गर्न पाउँदा खुशी लागेको वताए । दमाइले युनाइटेड क्लवको अगुवाइलाई अन्य संघ सस्था तथा सिंगो पोखरा लेखनाथ महानगरपालिकाले सहयोग गर्नुपर्नेमा जोड दिए ।


Post a Comment

 
Top