0
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन अब तीन हप्तामात्र बाँकी छ । शनिबार सरकार र मधेशी मोर्चाबीच सहमति भएपनि चुनावका विषयमा भएका आशंका पनि हटेर गएको छ । यो संगै मधेशी मोर्चा पनि चुनावमा सहभागी हुने भएको छ । चुनाव दुई चरण अर्थात वैशाख ३१ र जेठ ३१ मा हुनेछ । राजनीतिक दलहरु महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका पदाधिकारी र सदस्यहरुको नामावली चयन गर्न अन्तिम कसरत गरिरहेका छन् । यसक्रममा नातावाद, कृपावाद र भाइभतिजावाद हावी हुन सक्ने भएकाले यसतर्फ सचेत हुन हामी सबै राजनीतिक दलका प्रमुखहरुलाई आग्रह गर्दछौँ । गणतन्त्र नेपालले अहिले हाम्रा मान्छे होइन, राम्रा मान्छेहरुको व्यापक खोजी गरिरहेको छ । सर्वसाधारण मतदाता पनि विगतको तुलनामा अहिले मतदान कसलाई गर्ने भन्ने सवालमा निकै सचेत र जागरूक भइसकेका छन् । दलहरुले यदि जनभावनाविपरीत अयोग्य उम्मेदवार चयन गरे भने त्यस्ता उम्मेदवारहरुलाई मतदाताबाट अन्तर्घात पनि हुनसक्ने सम्भावना देखिएको छ । अहिलेका युवा मतदाता योग्य उम्मेदवार दलहरुले छान्न सके कि सकेनन् भन्ने कुराको विश्लेषण गर्न सक्षम भइसकेका छन् । शिक्षा र राजनीतिक चेतनाको हिसाबले हेर्ने हो भने युवा समूह निकै जागरूक र सक्रियतापूर्वक वैशाख ३१ गतेलाई प्रतीक्षा गरिरहेका छन् । विकास निर्माण र शान्ति सुरक्षा अनि सुशासनको उनीहरुले अपिल गरिरहेका छन् । यस्तो अवस्थामा दलहरुबाट योग्य उम्मेदवार चयन हुन सकेन यदि भने उनीहरुको त्यो महत्वपूर्ण मत अन्यत्र कतै मोडिन पनि सक्नेछ । मतदाताहरु राजनीतिक दलका दास अवश्य पनि होइनन् । स्वतन्त्र नागरिकको हैसियत राख्ने त्यो युवा पिँढीले आफ्नो अधिकार र भाग्य निर्माणको उपयोग यदि स्वेच्छापूर्वक गर्छ भने त्यसलाई रोक्न अब कसैले पनि सक्नेछैन । हाम्रा मान्छे खोजेर अनि रोजेर राजनीति गर्ने ३० वर्षको पञ्चायतकाल अत्यन्त अफापसिद्ध भएको कारण ढल्यो । उसले जनभावनाको कदर गर्न नसकेको कारण अकालमा मृत्युवरण गर्न पुग्यो । त्यसपछि पुनस्र्था्पित भएको बहुदलले पनि दलीय स्वतन्त्रताबाहेक अरु कुनै उपलब्धि जनतालाई दिन सकेन । फलतः आजभन्दा करिब दस वर्षअगाडि नेपाली जनताले राजतन्त्र फ्याँकेर गणतन्त्र ल्याएका हुन् । यो गणतन्त्रलाई संस्थागत गर्दै मुलुकमा चौतर्फी समृद्धि हासिल गराउन स्थानीय तहको निर्वाचन एक सशक्त माध्यम बन्न पुगेको छ । तसर्थ, यसको उपयोग यदि राम्रोसँग गर्न सकिएन भने जनतालाई ठूलो धोका हुनेछ । त्यस्तो नहोस् भन्नेतर्फ राजनीतिक दलहरुले सबै पदमा योग्य उम्मेदवारको चयन गर्न सक्नुपरेको छ । यो एक प्रकारको अग्निपरीक्षा भएको कारण खासगरी प्रमुख राजनीतिक दलहरुले योग्यभन्दा पनि झन् योग्य उम्मेदवार चयन गरेर जनताको मन जित्न र विजय हासिल गर्न सक्नुपरेको हो ।

Post a Comment

 
Top