0
गोल्डेन न्यूज संवाददाता
अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्काले जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण अहिले चुनौती बढ्दै गएको बताएका छन् । वैशाख ३१ मा पहिलो चरण र जेठ ३१ मा दोस्रो चरणको निर्वाचन हुने सहमति सार्वजनिक भएपछि पोखरामा पत्रकारसंग कुरा गर्दै उनले चुनावकै बीचमा जेठ १५ गते बजेट ल्याउन सरकारका लागि खलनायकको भूमिका जस्तै बनेको बताए ।  गोल्डेन न्यूज दैनिकको प्रश्नमा उनले भने–‘जेठ १५ गते प्रस्तुत गर्ने बजेट सार्न मिल्दैन ।’ उनले सिंगो मधेशलाई बाहिर राखेर निर्वाचन गर्न सम्भव नहुने र दुई चरणमा गर्दा पनि केही समस्या देखिएको बताए । 
पोखरामा केही पत्रकारहरुसंग कुरा गर्दै खड्काले आफ्नो पार्टीका कुनैपनि सदस्यहरु अन्य पार्टीमा प्रवेश नगरेको दावी गर्दै निर्वाचनको संघारमा अराजनीतिक र अपराधिक क्रियाकलाप हुन नदिन निर्वाचन आयोग समेत सचेत बन्नुपर्नेमा जोड दिए । महिला बालबालिका तथा समाज कल्याणमन्त्री समेत रहेका अध्यक्ष खड्काले निर्वातज आचारसंहिता विपरितका काम रोक्न आयोगको ध्यानाकर्षण गराए ।
यसैबीच राष्ट्रिय दलको मान्यता पाएको अखण्ड नेपाल पार्टीले तत्काल अन्य पार्टीहरुसँग पार्टी एकता नगर्ने भएको छ । संघीय समाजवादी फोरमसँग पार्टी एकताको चर्चा चलिरहेकै बेला पार्टीका अध्यक्ष कुमार खड्काले चुनाव अघि कुनै पनि दलसँग पार्टी एकता नहुने स्पष्ट पारे । 
पोखराको बाटुलेचौरमा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गर्दै अध्यक्ष खड्काले तत्कालका लागि एकताको सम्भावना नरहेको भन्दै स्थानीय तह चुनावमा भने तालमेल गर्न सकिने बताएका थिए । उनले दुई चरणमा निर्वाचन हुने बताउँदै, सबैको सहभागीतामा हुने निर्वाचन नै विश्वसनीय हुने बताए । 
मन्त्री खड्काले आफ्नो पार्टीको एजेण्डालाई केही ठूला दलहरुले बोकेको दाबी गर्दै, चुनावमा निषेधको राजनीति नगर्न सुझाव दिए । 
चुनावमा दलहरुबीच अस्वस्थ प्रतिष्पर्धा बढेकोमा चिन्ता व्यक्त गर्दै उनले, पार्टी भन्दा माथि उठेर विकास प्रेमी व्यक्ति रोज्न मतदातालाई आग्रह गरे । 
केन्द्रीय सचिवालय सदस्य उदयबहादुर बस्नेतले विकास निर्माणका कार्यमा ठूला दलहरु निरीह बनेको आरोप लगाए । वडा कमिटी पोखरा–१६ का अध्यक्ष होमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा महिला उपाध्यक्ष गोमा रायमाझी, अधिकारकर्मी दुर्गा केसी थापा, हिमालय क्लबका अध्यक्ष जीवनारायण श्रेष्ठ, वडा कमिटीका उपाध्यक्ष मञ्जुश्री बस्नेत, सचिव राजु खड्का लगायतले निर्वाचनमा मित्रवत् रुपमा प्रतिष्पर्धा गर्न सुझाव दिए । कार्यक्रममा पार्टी अध्यक्ष एवं मन्त्री खड्कालाई अर्मला, सार्दिखोला र लेखनाथका आमा समूहले सम्मान गरेका थिए ।
यसैबीच अखण्ड नेपाल पार्टीले पोखरा लेखनाथ महानगरको मेयरका लागि पार्टीका जिल्ला अध्यक्ष पदमबहादुर कार्की, वरिष्ठ उपाध्यक्ष बालकृष्ण सुवेदी र जिल्ला सदस्य मोती गिरीमध्येबाट उम्मेदवार बनाउने भएको छ । उपमेयरका लागि भने पार्टीका महिला उपाध्यक्ष गोमा रायमाझी र महिला समितिकी अध्यक्ष सरस्वती हमालको नाम केन्द्रमा सिफारिस गरिएको छ ।
यता, पार्टीको तर्फबाट माछापुच्छ«े गाउँपालिकामा रामबहादुर क्षेत्री र गंगा जिसीलाई प्रमुख र उपप्रमुखको उम्मेदवार बनाउने भएको छ ।








Post a Comment

 
Top