0
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पार्टीलाई पहिलो दल बनाउने होडमा छन् । तर, दुईवटै ठूला पार्टीको साझा समस्या के हो भने एक्ला–एक्लै भिड्न नपाएको अवस्थामा उनीहरुलाई भुसुनाले पनि चुनाव हराइदिन सक्छन् । शक्ति सन्तुलनको हिसाबले आगामी चुनावमा दुई ठूला दलका लागि भुसुनाहरु भनेका माओवादी, राप्रपा, लोकतान्त्रिक फोरम, नेमकिपा, राष्ट्रिय जनमोर्चा र मधेसी मोर्चामा आवद्ध दल हुन् । दुईवटा हात्ती पार्टीहरु कांग्रेस र एमालेमध्ये जुन दलले यी साना पार्टीको मत आफूतिर जोड्न सक्छ, उसैले आगामी चुनावमा बाजी मार्न सक्ने स्थिति देखिन्छ अहिलेको राजनीतिक शक्ति सन्तुलनमा । एमालेले चुनावमा ठूलो दल बन्ने रणनीति बनाएको छ । केपी ओलीको ‘राष्ट्रवादी’ नाराका कारण ठूलो दल बन्न सकिने एमाले नेताहरुको विश्लेषण छ । गाउँ शहरमा एमालेप्रति सामान्यतः उभार आएको पनि देखिएको छ । 
तर, कथंकाल साना भनिएका र एमालेबाट वास्ता नगरिएका पार्टीहरुले कांग्रेसलाई साथ दिए भने एमाले एक्लैले कांग्रेसलाई हराउन मुस्किल पर्न सक्छ । र, यसले एमालेको ठूलो दल बन्ने रणनीतिमा अवरोध पुग्न सक्छ । शायद, यही कुरा बुझेर एमाले अध्यक्ष केपी ओलीले केही नयाँ कदम चाल्न सुरु गरेका छन् ।
दुईसाता अघि ओलीले भनेका कि एमालेलाई घेराबन्दी गर्ने प्रयास भइरहेको छ । त्यसको केही दिनपछि ओलीले भने, अरु सबै ४ किलोका ढक हुन्, एमाले एक्लै पाँच किलोको ढक हो । तर, अहिलेकै राजनीतिक गणितलाई हेर्दाखेरि एमाले एक्लै पाँच किलोको ढक होला भनिहाल्न सकिँदैन । शायद ओलीले सार्वजनिक खपतका लागि जे बोले पनि गणितको वास्तविक रहस्य बुझेकै हुनुपर्छ । यही कारण, उनले अघिल्लो साता आफ्नै पहलमा राप्रपाका नेताहरुसँग चुनाबी तालमेलका विषयमा छलफल गरे । सूत्रहरुका अनुसार एमालेले भित्रभित्रै नेपाल मजदुर किसान पार्टी र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चासँग पनि स्थानीय तहमा तालमेलका लागि छलफल अघि बढाइसकेका छन् । यसको कारण के हुन सक्छ भने एमाले एक्लैले आफू ‘पाँच किलोको ढक हुँ’ भन्दै कांग्रेसलाई हराउन खोज्नु जोखिमपूर्ण हुन्छ भन्ने सच्चाइ ओलीले राम्रैसँग बुझेका छन् ।
एमालेले आगामी चुनावमा आफ्नो पार्टीलाई ठूलो बनाउने नै हो भने तीनवटा काम गर्नुपर्ने हुन्छः
–एक सकेसम्म साना पार्टीहरुलाई रिङबाट बाहिरै राखेर कांग्रेससँग एक्लै भिड्ने वातावरण निर्माण गर्ने । –दुई कांग्रेसको वरिपरि साना पार्टीहरुलाई गोलबन्द हुन नदिने । र, –तीन साना पार्टीहरुलाई आफ्नै नजिक ल्याएर मोर्चाबन्दी गर्ने र कांग्रेसको पल्ला हलुका बनाइदिने । सम्भवतः यसैका लागि एमालेले राप्रपा लगायतका साना पार्टीहरुसँग छलफल अगाडि बढाएको हो । एमाले नेताहरुले कमल थापालाई राष्ट्रवादी अडानका कारण केपी ओलीसँग नजिक आउन आग्रह गरेका छन् । नेपालगञ्ज, भैरहवालगायतका नगरपालिकाहरु राप्रपालाई छाडेर एमालेले राप्रपाको साथ आफूले लिने र कांग्रेसतिर राप्रपाको जनमत जान नदिने रणनीति बनाइरहेको बुझिन्छ ।
यसका साथै भक्तपुरमा नेमकिपा र प्युठान–बाग्लुङमा चित्रबहादुरको राष्ट्रिय जनमोर्चासँग एमालेले स्थानीयस्तरमा तालमेल गर्ने रणनीति बनाएर त्यहाँ कांग्रेसलाई हराउने कार्यनीति बनाउन थालेको बुझ्न सकिन्छ । मधेसमा तुनात्मकरुपमा कमजोर रहेको एमालेले राप्रपालाई जस्तै विजयकुमार गच्छदारलाई पनि आफ्नो नजिकमा तान्न सक्यो भने यो उसको रणनीतिक विजय हुनेछ । पछिल्लो समय केपी ओलीले माओवादी नेताहरु र सो पार्टीलाई समेत चित्त दुख्ने गरी भाषण गर्न छाडेका छन् । यसको अर्थ के हुन सक्छ भने सत्तापक्ष र प्रतिपक्षमा विभक्त भए पनि स्थानीय तहको चुनावमा कांग्रेसलाई क्रस गर्न माओवादीलाई सकेसम्म आफ्नो पक्षमा उपयोग गर्ने रणनीतिमा छ एमाले । सके माओवादीलाई पनि आफूतिरै तान्ने, त्यसो गर्न सकिएन भने चुनावी मैदानमा कांग्रेससित लसपस गर्न नदिने एमालेको रणनीति हुन सक्छ ।
नेपाली कांग्रेस खासै योजना र रणनीति बनाएर चल्ने पार्टी होइन । ‘अजिंगरको आहारा दैवले आफैं जुराउँछन्’ भन्ने आहानजस्तै ढंगले कांग्रेस नेताहरु अघि बढिरहेका छन् । यसपालि पनि एमालेले जसरी कांग्रेसले चुनावी रणनीति एवं दाउपेच खासै बनाइरहेको देखिँदैन । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले कांग्रेससँग पार्टी एकता गर्ने हल्ला गाइँगुईँ चले पनि गच्छदारले साना पार्टी ‘कलेक्सन अभियान’ चलाइरहेका छन् । चुनावअघि नै गच्छदारसँग कांग्रेसको सहकार्य हुने सम्भावना देखिइसकेको छैन ।
गच्छदारलाई एमालेले तान्छ कि कांग्रेसले भन्ने प्रश्न यथावत छ । कसैले तानेनन् भने बढी घाटा भोट बैंकका हिसाबले एमालेलाई भन्दा कांग्रेसलाई नै हुने देखिन्छ ।
चुनावका चतुर खेलाडी गच्छदार कांग्रेस र एमालेको वीचमा सन्तुलित भएर अघि बढ्न खोजिरहेका छन् । उनले मधेसी मोर्चा, माओवादी र राप्रपालाई आफ्नो प्रतिस्पर्धी ठानेका छन् । उनी म भावी प्रधानमन्त्री हुँ भन्दै हिँडिरहेका छन् । यो स्थितिमा नेपाली कांग्रेसको पार्टनर खासै देखिँदैन । राप्रपा कांग्रेससँग भन्दा एमालेसँग नजिकिने कतिपयको अनुमान छ । तर, सत्तामा माओवादी र कांग्रेस सँगै रहेकाले चुनावमा उनीहरुवीच स्थानीय स्तरमा गठबन्धन भयो भने त्यो अप्राकृतिक हुनेछैन । तर, राप्रपा वा माओवादीमध्ये एउटालाई आफ्नो पोल्टामा राख्न सकेन भने आगामी चुनावमा एमाले र कांग्रेसवीचको शक्ति सन्तुलनमा गडबड हुन गई कांग्रेस वा एमालेमध्ये कुनै एउटा दल बुम¥याँङमा नपर्ला भन्न सकिँदैन । यही कारणले यसपटकको चुनावमा ठूला पार्टीहरु साना दलसँग सहकार्य वा तालमेल गर्न बाध्य छन् । हात्ती ठूलो हुन्छ तर एउटा माहुतेले तह लगाउँछ भनेजस्तै दुईवटा हात्ती पार्टीलाई साना पार्टीले तिरिमिरी खेलाइदिने स्थिति देखा परेको छ ।
कांग्रेस–माओवादी तालमेलको रणनीति
एमालेले राप्रपासँग छलफल अघि बढाउना साथ कांग्रेसभित्र हलचल सुरु भएको छ । र, यसैलाई काउन्टर गर्न सत्तारुढ कांग्रेस– माओवादीले तालमेलको गृहकार्य थालेको माओवादी नेता बताउँछन् । एमालेलाई साइजमा राख्न कांग्रेसले पूर्वी नेपालका एमालेले जित्ने दाबी गरेका ठाउँमा माओवादीसँग कार्यगत एकता गरेर जानुपर्ने विश्लेषण गरेको एक नेताले सुनाए । त्यसो गर्दा गाउँपालिका प्रमुख र उपप्रमुखमा भाग बण्डा मिलाउने, वडाको निर्वाचनमा वडा सदस्य र अध्यक्षको अनुपातका आधारमा भागबण्डा मिलाउन सकिने कांग्रेसको प्रस्ताव छ ।
मध्य, पश्चिम र सुदुर पश्चिम क्षेत्रमा भने आवश्यकता अनुसार तालमेल गर्ने गरी छलफल सुरु भएको स्रोत बताउँछ । माओवादी केन्द्रका नेता मणि थापाले थापाले भने–‘आवश्यकता अनुसार देशैभरि कार्यगत एकता गर्नेबारे हामीवीच प्रारम्भिक चरणको छलफल चलेको छ ।’ माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवावीचको समझदारीपछि अहिले दोस्रो तहका नेताहरुवीच छलफल चलिरहेको नेता थापाले बताए । थापाले आवश्यकता अनुसार देशैभर कांग्रेससँग तालमेल हुन सक्ने बताए । तर, प्रारम्भिक चरणको मात्रै छलफल सुरु भएकाले अहिले नै यसै होला भनेर भनिहाल्ने स्थिति नआएको उनले जानकारी दिए ।
नेपाली कांग्रेसले यो निर्वाचनबाट पनि आफू पहिलो शक्तिमै रहने कुराको सुनिश्चितता चाहेको छ भने माओवादी केन्द्रले कांग्रेसको सहयोगमा सकेसम्म दोस्रो शक्ति बन्ने महत्वाकांक्षा देखाएको छ । माओवादी नेताको विश्लेषणलाई आधार मान्ने हो भने कांग्रेसले एमालेलाई साइजमा ल्याउन माओवादीसँग सहकार्यको रणनीति लिएको छ ।
यस्तै स्थानीय तहपछि गठन हुने भनिएको देउवा नेतृत्वको सरकारमा माओवादीको साथलाई निरन्तरताका लागि पनि कांग्रेसले माओवादीको साथ खोजेको बझाइ माओवादी नेताहरुको छ । माओवादी र कांग्रेस एक्लाएक्लै चुनाव लड्दा दुवैले हार्ने ठाउँमा दुवै मिलेर जित्ने र मतदाताका आधारमा प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुको भागबण्डा गर्ने गरी उनीहरुले छलफल चलाएको थापा बताउँछन् । सत्तारुढ दलले आफ्नो स्थिति बलियो बनाउँदै एमालेलाई ‘साइजमा राख्ने’ रणनीति अघि बढाएका छन्, जसलाई काउन्टर गर्नुपर्ने चुनौती एमालेमा छ । यसका लागि एमालेले पनि माओवादीलाई सकेसम्म कांग्रेससँग मिल्न नदिने र स्थानीय तहमा कतिपय ठाउँमा आफूसँग तालमेलका लागि प्रस्ताव गर्न थालेको केही माओवादी नेताहरुको दाबी छ । त्यसो त माओवादीभित्र नेपाली कांग्रेससँग तालमेल गर्नुभन्दा एमालेसँगै सहकार्य गर्नुपर्छ र दुई कम्युनिष्ट पार्टीहरु मिलेर कांग्रेसलाई साइजमा राख्नुपर्छ भन्ने मत पनि छ । आगामी चुनावको राजनीतिक शक्ति सन्तुलनमा नयाँशक्ति पार्टी र मधेसी मोर्चामा आवद्ध दलहरुको भूमिकाले पनि कांग्रेस एमालेको प्रतिस्पर्धालाई प्रभावमा पार्न सक्छन् । बाबुरामको नयाँशक्तिले माओवादीको भोट काट्न सक्छ । तर, नयाँशक्तिले एमालेभन्दा अन्य दलसँग तालमेल गर्ने बढी सम्भावना छ ।
यता मधेसी मोर्चाले चुनावमा भाग लिएन भने त्यो मत कांग्रेसतिर बग्ना सक्छ र यसले एमालेलाई घाटा लगाउँछ । मोर्चाले चुनावमा भाग लियो भने कांग्रेसको भोट काटिन्छ, जसको फाइदा एमालेले उठाउन सक्छ । तर, मोर्चाले चुनावमा भाग लियो र कांग्रेससँग सहकार्यको नीति लियो भने एमालेलाई थप घाटा लाग्न सक्छ । जसरी भए पनि यसपालिको चुनावमा ‘प्रतिस्पर्धा कांग्रेस–एमालेको, निर्णायक भूमिका साना दलको’ भन्दाखेरि अत्युक्ति, नहोला कि ?
तर, यो पनि विचारणीय छ कि चुनावमा गणितले मात्रै काम लाग्दैन । पहिलो संविधानसभामा एमाले र कांग्रेसलाई गणितले धोका दिएकै हो । दोस्रो संविधानसभामा माओवादी नेताहरु गणितको शिकार भए । हालै भारतको उत्तर प्रदेशमा बीजेपीले पाएको अत्यधीक बहुमतका सामु राजनीतिक गणितज्ञहरु अहिलेसम्म होसमा आउन सकेका छैनन् । त्यसैले आगामी चुनावमा ओलीले भनेजस्तो एमाले एक्लै पाँच किलोको ढक भयो भने फेरि नेपालका विश्लेषकहरुले धोका खानुपर्ने स्थिति हुन सक्छ । हेरौं आगामी चुनावमा केपी ओलीले धोका खानेछन् या उनले भन्दै आएका ‘फर सी बुद्धिजीवी’ ले ? यो रोचक प्रश्नको सही जवाफका लागि अब करिब १ महिना कुर्दा पुग्छ ।

Post a Comment

 
Top