0
गोल्डेन न्यूज संवाददाता
सत्तापक्षले मधेसी मोर्चासँग शुक्रबार दिनभर गरेको वार्ता सहमति नजिक पुगेको दाबी गरेको छ । सत्ताघटक नेताहरुका अनुसार दुई चरणका वार्तापछि उनीहरु संविधान संशोधन र स्थानीय चुनावबारे सहमति निकट पुगेका हुन् । शुक्रबार दिनभर शृंखलाबद्ध रुपमा भएका बार्तामा सरकारले पछिल्लोपटक संसदमा दर्ता गराएको एघार बूँदे संशोधन प्रस्ताव परिमार्जनसहित ‘फास्ट ट्रयाक’ बाट पारित गर्ने प्रतिबद्धता सहित शनिबार सहमतिको प्रस्ताव तयार पार्ने प्रतिबद्धता जनाएपछि मोर्चा चुनावमा आउन सक्ने संकेत पनि दिएको छ । कुनै अवरोध खडा नभएमा शनिबार सरकार र मोर्चाबीचको समझदारीले औपचारिकता पाउने छ ।  मोर्चाले मधेसमा स्थानीय तहको इकाई थप गर्ने र छुट मतदाता नामावली थप्ने बिषयमा भने समझदारी जुट्न बाँकी रहेको कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । ‘सकभर हामीले एकै चरणमा बैशाख ३१ कै निर्वाचनमा जानेगरी अहिले स्थानीय इकाइको संख्या थप्नेतिर नलागौं भनेका छौ’, पौडेलले भने, ‘मोर्चाले त्यसैमा अडान कायमै राख्यो भने दोस्रो चरणमा चुनाव गर्नेगरी सहमति हुनसक्छ ।’ राष्ट्रिय जनता पार्टी नेता राजेन्द्र महतोले वार्ता सकारात्मक भएकाले आजैको प्रस्ताव अनुसार सहमति पत्र तयार भए शनिबार सहमति हुन सक्ने संकेत दिए । ‘धेरै उत्साहित आजै हुनु उचित नहोला, किनकी यस्ता सकारात्मक वार्ता धेरैपल्ट भए,’ महतोले भने, ‘आजको छलफल अनुसार भोलि प्रस्ताव आयो भने हामी चुनावमा आउन सक्छों, तर त्यस्तो आउँछ कि आउँदैन, पहिले हेरौं ।’ बैठकमा मोर्चाका नेताहरुले संशोधन विधेयकमा आफूहरुको चित्त बनुझेको भन्दै परिर्माजनको माग गरेका थिए । मधेसी मोर्चा एवं जनता पार्टीका नेता लक्षण लाल कर्णले भने, ‘धारा ७, २७४ र आयोग गठनमा हामीलाई चित्त बुझेको छैन । यसलाई परिर्माजन गरी जनताले केही पाउँछन् भन्ने सुनिश्चित हुन्छ कुरा मिल्छ ।’  यसैबीच शुक्रबार दुई चरणमा भएको वार्ताले संविधान संशोधन विधेयक परिर्माजन गर्न कार्यदल गठन गरेको छ । ‘सत्तारुढ दलहरुले सकारात्मक कुरा गरेका छन्, संशोधनमा कहाँ केके परिर्माजन गर्ने भन्ने गृहकार्य गर्न कार्यदल गठन भएको छ’ मधेसी मोर्चाका नेता रामनरेश रायले भने । कार्यदलमा सत्तारुढ दलहरुबाट कृष्णप्रसाद सिटौला र बृद्धिमान तामाङ छन् भने मधेसी मोर्चाको तर्फबाट राजेन्द्र श्रेष्ठ, लक्ष्मण लाल कर्ण छन् । नेता रायका अनुसार सत्तारुढ दलहरु संशोधन विधेयकमा परिर्माजन गर्न सहमत भएका छन् । कार्यदलले शनिबार बिहानभर गृहकार्य गर्नेछ र दिउँसो २ बजे फेरि शीर्ष नेताहरुको बैठक बस्नेछ। सत्तारुढ दलहरु संशोधन विधेयकमा परिर्माजन गर्न सहमत भएका छन्। यो सँगै मोर्चा चुनावमा जान तयार हुनेछ। यद्यपि मोर्चा चुनावमा आए दुई चरणमा चुनाव हुने भएको छ।

Post a Comment

 
Top