0
देशका महत्वपूर्ण अङ्ग महिलाले नेतृत्व गर्दै आइरहेका बेला स्थानीय तहको निर्वाचनका लागि गोरखामा प्रमुख पदमा महिलाको चर्चा कम छ । पार्टीका उच्चतम पदमा बसेर नेतृत्व गरिसकेका महिला पनि प्रमुख पद (नगर प्रमुख, गाउँपालिका प्रमुख र वडाध्यक्ष) मा उम्मेदवार बन्न लालायित छैनन् । नेपाल महिला सङ्घ गोरखाकी अध्यक्ष मनकुमारी गुरुङलाई सिरानचोक गाउँपालिका प्रमुखमा उम्मेदवारी दिन कार्यकर्ताको चर्को दबाब छ तर उहाँ प्रदेश निर्वाचनमा उम्मेदवार हुने सोचमा हुनुहुन्छ । सिरानचोकमा जनजातिको बाहुल्यता रहेको र पढेका नेता भएकाले पनि गुरुङलाई गाउँपालिकामा उठ्न चर्को दबाब थियो । अखिल नेपाल महिला सङ्घकी नेत्री सम्झना देवकोटालाई गोरखा नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्न कार्यकर्ताको दबाब थियो । देवकोटालाई नेकपा (एमाले) को भावी जिल्ला अध्यक्षको रुपमा हेरिएकाले पछिल्लो चरण पार्टीबाटै मेयरभन्दा पनि पार्टीका लागि समय दिन संकेत आएको स्रोतको भनाइ छ । 
नेकपा (माओवादी केन्द्र)की नेत्री तथा जेल तोडेकी कमला नहर्की गोरखा नगरपालिकाको प्रमुख पदमा आकांक्षी रहे पनि पार्टीले जिल्ला अध्यक्ष लेखबहादुर थापालाई उम्मेदवार बनाउने चर्चा छ । मेयरमा चर्चामा आएका पार्टीका नेता कृष्णराना नहर्कीभन्दा कनिष्ठ रहेकाले वरिष्ठ नेता थापालाई मेयरको टिकट दिएर उपप्रमुखमा नहर्कीलाई टिकट दिने माओवादीले तयारी गरेको स्रोत बताउँछ । गोरखा नगरपालिकाको नगर प्रमुख पदमा नेपाली काँग्रेसबाट महिला नेताको चर्चासम्म पनि भएन । नगर कार्यसमितिले नगर प्रमुख तथा उमप्रमुखमा उम्मेदवारीका लागि दरखास्त आह्वान नै गर्दा पनि महिला नेत्रीले प्रमुख पदमा उम्मेदवारी दिएनन् । 
उपप्रमुख पदका लागि जिल्ला सदस्य तथा नेपाल महिला सङ्घकी नगर अध्यक्ष बिना श्रेष्ठ र नेपाल महिला सङ्घ क्षेत्र नं १ अध्यक्ष मसलीमाया थोकरले दरखास्त बुझाएको नगर सभापति चन्दनबाबु खत्रीले जानकारी दिए । गोरखा नगरपालिकाको १४ वटा वडाका वडाध्यक्षमा पनि पुरुष नेताकै हालीमुहाली छ । महिलाले प्रमुख पदमा उम्मेदवार बन्ने आकांक्षा देखाएनन् ।
गोनपाको नगर प्रमुखका लागि काँग्रेसबाट महासमिति सदस्य राजनराज पन्त, क्षेत्र नं १ का सभापति धीरन थापा, पूर्व कोषाध्यक्ष भूगोल थापा, नेपाल पत्रकार महासङ्घ गोरखा शाखाका संस्थापक अध्यक्ष किशोरजङ थापा, पार्टी नेता ईश्वर परियार, हरि गान्धारी, प्रवीण तिवारीको नाम चर्चामा रहे पनि राजन र धीरनमध्ये एकलाई पार्टीले टिकट दिने पार्टी स्रोत बताउँछ ।
एमालेमा मेयरका लागि जिल्ला उपाध्यक्ष यादव बस्नेत, पूर्व मेयर विश्वेश्वर कट्टेलको चर्चा छ । यस्तै, उपमेयरमा सानुमाया बस्नेत र नानुमाया थापाको चर्चा सुनिन्छ । एमालेमा पनि मेयरका लागि महिला नेत्रीले आकांक्षा देखाएका छैनन् । पार्टी नेतृत्वले जुन पदमा उम्मेदवारी दिन भन्छ त्यही पदमा उम्मेदवारी दिने सुरमा महिला नेत्री रहेको बताइएको छ । 
काँग्रेस, एमाले र माओवादी केन्द्रले मात्रै होइन राप्रपा तथा नयाँ शक्ति पार्टीबाट पनि नगर प्रमुखमा पुरुष नेता मात्रै उम्मेदवारको चर्चामा छन् । उपप्रमुखमा भने महिला नेत्रीको पनि चर्चा सुनिन्छ । प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने नियम भएकाले पनि दलहरूले बाध्य भएर उपप्रमुखमा महिला नेत्रीलाई उम्मेदवारी दिने चर्चा चलाएका हुन् भन्ने पनि छन् । गोनपाको मेयरका लागि नयाँ शक्तिबाट पूर्वसभासद् ज्ञानेन्द्र कुमाल र उपप्रमुखमा पार्टी नेत्री पूर्णमाया वन्तको नाम बाहिर आएका छन् । तर वन्तले आफू उपमेयरको लागि आकांक्षी नभएको जानकारी दिए । राप्रपाले नगर प्रमुखमा जिल्ला अध्यक्ष रुद्रराज पाण्डेलाई अघि सारेको छ । यस्तै उपप्रमुखमा सम्झना लामिछाने र राममाया केसीको नाम चर्चामा छ । राप्रपामा पनि प्रमुख पदमा महिला नेत्रीले दाबी गरेका छैनन् ।
दुई वटा नगरपालिका र नौ वटा गाउँपालिका रहेको गोरखामा पार्टीले प्रमुख वा उपप्रमुख कसलाई टिकट दिने भन्ने टुङ्गो लगाउन सकेका छैनन् । वडा, क्षेत्र हुँदै आकांक्षीको सूची जिल्लामा आए पनि जिल्लाले टुङ्गाउन नसकेपछि केन्द्र पठाउने तयारी दलहरूमा छ । आकांक्षी धेरै भएको र लोकप्रिय उम्मेदवार हुन् भन्ने छनोट गर्न नसक्दा टिकट दिन पार्टीका शीर्ष नेतालाई सकस छ । पालुङटार नगरपालिकामा पनि मेयरका लागि महिलाको चर्चा छैन । काँग्रेसबाट नगर सभापति दीपकबाबु कँडेल, नारायण गुरुङ, बलराम खड्का र गेहेन्द्रराज विष्टको नाम मेयर पदका लागि चर्चामा रहे पनि कँडेल वा गुरुङमध्ये एकले टिकट पाउने काँग्रेस स्रोतको भनाइ छ। उपप्रमुखमा नेत्री चेतकुमारी श्रेष्ठ र राधा पन्थी मैदानमा छन् ।  एमालेले पनि मेयरका लागि पार्टीका नेता जुद्धविलाश भण्डारी र ओम बराकोटीलाई अघि सारेको छ । उपमेयरमा मात्रै महिला नेत्रीको चर्चा रहेको छ । उपमेयरका लागि भन्दै एमालेले इन्दिरा देवकोटा र गम्भिरा बराकोटीलाई अघि सारे पनि कसलाई टिकट दिने भन्ने निर्णय भइसकेको छैन । 
माओवादी केन्द्रले पानपा प्रमुखमा गुणराज देवकोटा र खोपबहादुर कँडेलको नाम चर्चामा ल्याएको छ । महिला नेत्री बन्दना पाण्डे, दुर्गा तिवारी, पम्फा बसेल उपप्रमुखका लागि चर्चामा आएका नाम हुन् । महिला नेत्रीले पनि मेयर पदमा आकांक्षा देखाएका छैनन् ।
राप्रपाले पानमा प्रमुखमा सुशील पन्त र उपप्रमुखमा राधिका कुमाललाई अघि सारेको छ । नयाँ शक्तिबाट पानपा प्रमुखमा हरिशरण आचार्य, उमाकान्त देवकोटा, अशोक देवकोटा चर्चामा छन् भने उपप्रमुखमा नारायणी अधिकारीको नाम अघि छ । निर्वाचन कार्यालय गोरखामा दर्ता भएका १६ दलमध्ये १० वटा दलले आउँदो वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनमा भाग लिन पाउँछन् । 
क्रियाशील राजनीतिक दलले नगरपालिका, गाउँपालिका प्रमुख, वडाध्यक्षमा महिला नेत्रीलाई टिकट दिने सम्भावना न्यून छ । धार्चे गाउँपालिकामा काँग्रेसबाट प्रमुखको दाबेदार मानिएकी नेत्री फूलमाया गुरुङलाई उपप्रमुखमा टिकट दिने र प्रमुखमा पार्टी नेता सन्तोष गुरुङलाई अघि सार्ने काँग्रेसले तयारी गरेको बुझिएको छ । महिला नेत्रीले पनि प्रमुख पदका लागि मरिमेटेर दाबी गरेका छैनन् भने पार्टीले पनि महिलालाई प्रमुख पदमा उठ्न सहयोग गरेका छैनन् । रासस








Post a Comment

 
Top