0
गोल्डेन न्यूज संवाददाता
गण्डकी तथा धवलागिरि क्षेत्रमा सञ्चालित घरबास (होम–स्टे) कार्यक्रमको बजारीकरण गर्ने उद्देश्यले पोखरामा होमस्टे मार्ट तथा कार्यशाला सुरु भएको छ । दुई दिनसम्म पोखराको फेवा किनारस्थित नेपाल पर्यटन बोर्डको कार्यालय पसिरमा हुने कार्यशालामा यस क्षेत्रका होमस्टेका २२ सहित २६ स्टल छन्।  कार्यशाला उद्घाटनको अवसरमा पर्यटनविद् झलक थापाले पर्यटन नेपाल चिनाउने एक मात्र माध्यम भएको बताए ।

नेपाल पर्यटन वोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले पछिल्लो समय संख्यात्मक रुपमा बढेको होमस्टे ब्यवस्थापन र संचालनमा देखिएका चुनौतिलाई सम्बोधन गर्दै समय सापेक्ष गुणात्मक सुधारका लागि कार्यशाला उत्कृष्ट थलो हुने विश्वास ब्यक्त गरे । होमस्टे सञ्चालकको ब्यवहारमा हार्दिकता र आत्मीयता अपरिहार्य रहेको उनको ठहर छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुली, पर्यटन वोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख उदय भट्टराई लगायतले होमस्टेको अबधारणा ग्रामिण पर्यटन प्रबद्र्धनका लागि उत्कृष्ट भएपनि ब्यवसायिक हुन नसकेको औल्याए ।
नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको आयोजना एवं ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च 
(भिटोफ) कास्कीको सहआयोजनामा सुरु भएको होमस्टे मार्ट तथा कार्यशाला शनिबारसम्म चल्नेछ ।
नेपाल पर्यटन वोर्ड क्षेत्रीय कार्यालय पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाका अनुसार नेपालमा सबैभन्दा बढी होमस्टे गण्डकी र धवलागिरि अञ्चलमा ६५ वटा दर्ता भएका छन् । कास्कीमा मात्र ३७ वटा होम–स्टे दर्ता भई सञ्चालनमा छन् । होमस्टेको क्षमता अभिबृद्धि गर्दै बजारीकरण र व्यावसायिकता बढाउनुपर्ने आवश्यकता महसुस गरी कार्यशाला आयोजना गरिएको गाउ पर्यटन प्रबद्र्धन मञ्च पोखराका अध्यक्ष तारानाथ पहारीले बताए । दुई दिनसम्म होमस्टेको दर्ता, सञ्चालन लगायतमा देखिएका समस्याको साझा सम्बोधनका लागि सरोकारवाला बीच छलफल गराइने उनले जानकारी दिए ।  कार्यशाला सुरु हुनुअघि पोखराको क्याम्पिङचोकबाट सुरु भएको बाजा गाजा झाँकी सहितको ¥याली लेकसाईड हुदै कार्यक्रम स्थल आएर सकिएको थियो ।


Post a Comment

 
Top