0
गोल्डेन न्यूज संवाददाता
स्थानीय तहको निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । राष्ट्रिय परोपकार महासंघ नगर स्तरिय नारी समूहले पोखरामा आयोजना गरेको स्थानीय तहको निर्वाचनमा महिला सहभागिता विषयक अन्तरक्रिया तथा नेतृत्व विकास तालिममा वोल्ने वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परोपकार महासंघका केन्द्रिय अध्यक्ष युवा पं कमलनयन गौतमले मात्तृशक्तिको सशक्तिकरण आजको आवश्यकता भएको भन्दै पुरुषहरुले समेत महिला विकासमा साथ दिनुपर्नेमा जोड दिए । उनले व्यक्तिगत र राजनीतिक स्वार्थ भन्दा पनि परोपकारी र विकासप्रेमी नेतृत्व समाज र राष्ट्रका लागि  आवश्यक भएको स्पष्ट पारे। कार्यक्रममा नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डे, नेकपा एमाले अनुशासन विभाग सदस्य तथा अनेमसंघका केन्द्रीय सदस्य मित्र कुमारी गुरुङ्ग सुवेदी र नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा महिला उद्यमी गोमा ढकालले महिलाहरुको स्थानीय तहमा ५० प्रतिशत सहभागिता हुनुपर्नेमा जोड दिएका थिए ।  उनीहरुले स्थानीय तहको सहभागिताका लागि आफ्नो नेतृत्व विकास गर्नुपर्ने र यस्ता खालका कार्यक्रम टोलटोलमा आयोजना गरिनुपर्ने खाँचो समेत औंल्याएका थिए । संस्थाकी अध्यक्ष रेनु थापाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक जागरणका लागि नारी अभियानका सदस्य पार्वती कार्की र कल्पना क्षेत्री, कार्यक्रम संयोजक संगीता मर्सानी केसी, उपाध्यक्ष सरीता कार्की, अम्विका ढकाल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सुष्मा पौडेलले प्रशिक्षण दिएकी थिइन् । शनिबार पं. कमलनगन गौतमले सकारात्मक सोच सम्वन्धी, अधिवक्ता जनकल्याण पराजुलीले कानुन सम्वन्धी र पत्रकार सुष्मा पौडेलले वोल्ने कला र आम संचारमा महिला पहुच सम्वन्धी प्रशिक्षण दिने छन् ।




Post a Comment

 
Top