0
गोल्डेन न्यूज संवाददाता
स्थानीय तहको निर्वाचनको प्रभावकारिकताका लागि जिल्ला मतदाता अधिकार मञ्चले आफ्ना सदस्यहरुकालागि मतदाता शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम शुरु गरेको छ । तालिमको उद्घाटन सत्रमा बोल्दै क्षेत्रीय निर्वाचन कार्यालय कास्कीका प्रमुख गंगालाल सुवेदीले नयाँ संरचनाबाट स्थानीय तहको निर्वाचन हुन गइरहेको हुँदा मत बदर कम गर्न मतदाता शिक्षा आवश्यक रहेको बताए। उनले छोटो समयको गृहकार्यमा सम्पन्न हुन गइरहेको निर्वाचनलाई प्रभावकारी रुपबाट स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए।  कार्यक्रममा सुशासनका लागि नागरिक समाज सुनासका निर्वतमान अध्यक्ष एवं अग्रज पत्रकार पुण्य पौडेलले मतदाता शिक्षाको अभावमा मतदाताले आफ्नो मताधिकारको पूर्ण उपयोग गर्न नसक्ने बताए। उनले राजनीतिक दलहरुले भोट माग्ने तर भोट हाल्ने तरिका सिकाउने तिर ध्यान नदिंदा मत बदर हुने गरेको बताए ।  १५ जना सदस्यका लागि आयोजित दुई दिने तालिमको पहिलो दिन स्थानीय तहको परिचय, मतदान प्रक्रिया, आचार संहिता र निर्वाचन विवाद निरुपण, निर्वाचन शिक्षा तथा सूचना सम्बन्धी सामाग्रीको बारेमा जानाकारी, नमूना मतदान प्रस्तुतिकरण, भिडियो र अभ्यासका बारेमा आइ एफ इ एस का कार्यक्रम संयोजक समीता राणा र दुर्गा भण्डारीले सहजीकरण गरेका थिए । जिल्ला मतदाता अधिकार मञ्च कास्कीका अध्यक्ष दुर्गा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष राजेश पराजुलीले गरेका थिए भने संचालन सचिव जमुना वर्षा शर्माले गरेकी थिइन । 






Post a Comment

 
Top