0
गोल्डेन न्यूज संवाददाता
चिकित्सकको आन्दोलनका कारण पछिल्लो दुई महिनादेखि बन्द पोखराको मनिपाल शिक्षण अस्पताल पूर्णरुपमा सञ्चालनमा आएको छ । स्थानीयको ब्यापक दवावपछि पोखरा महानगरपालिका वडा नं. ११ फूलवारी स्थित मनिपाल शिक्षण अस्पतालका आन्दोलकारी चिकित्सक र अस्पताल प्रशासन बीच सहमति भएको र सोमबार विहान ८ वजे देखि अस्पतालका सम्पूर्ण सेवाहरु सञ्चालन गर्ने सहमति भएको छ । नेपाली चिकित्सकले विभिन्न माग राखि गत फागुन १ गतेदेखि आन्दोलन गरेका थिए । 
आन्दोलनको कारण अस्पतालको ओपिडीदेखि इमरजेन्सीसम्मका सेवाहरु ठप्प भएका थिए । शनिवार मुस्ताङमा भएको बस दुर्घटनाका गम्भीर १५ घाइतेलाई हेलिकप्टरमार्फत उपचारका लागि ल्याइएकोमा उपचार गर्न नसक्ने भन्दै अन्यत्र पठाएपछि मनिपाल अस्पताल र त्यहाका चिकित्सकको चर्को आलोचना भएको थियो । स्थानीय पूmलबारी क्लबले आन्दोलनरत चिकित्सक र प्रशानलाई बार्ताका लागि दवाव दिएपछि आइतवार भएको वार्तामा अस्पतालका सम्पूर्ण सेवा सोमवारदेखि सुरु गर्ने सहमति भएको हो ।
दुर्घटनाका गम्भीर घाइतेलाई उपचार गर्न नमानेको भन्दै स्थानीयवासीले शनिबार साझँ अस्पतालको गेटमा तालाबन्दी गरी आइतवार विहान आन्दोलनमा रहेका चिकित्सक लाई समेत नियन्त्रणमा लिएका थिए । स्थानीयको दवाव र चौतर्फी चर्को आलोचना खेपेपछि अन्ततः अस्पतालको सेवा पुनः सुरु हुन लागेको हो ।
यसैबीच स्वास्थ्य मन्त्रालयले मणिपाल शिक्षण अस्पताललाई घाइतेलाई उपचार सेवा नदिएको बारे स्पष्टिकरण सोधेको छ। मन्त्रालयले घटना छानबिन गर्न चिकित्सा सेवा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठको नेतृत्वमा ३ सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ। 
मुस्ताङको कागबेनीमा गत शनिबार भएको दुर्घटनामा घाइते भएकालाई आकस्मिक उपचार सेवा नदिएको बारेमा मन्त्रालयले अस्पतालसँग २४ घन्टाभित्र स्पष्टिकरण माग गरेको हो । “किन आकस्मिक सेवा नदिएको, यस्तो अस्पताललाई खारेज गर्न किन न मिल्ने व्यहोरासहितको २४ घन्टे स्पष्टिकरण सोधिएको छ’, महाशाखाका उपसचिव रामकृष्ण लामिछाने बताए। उनका अनुसार छानबिन समितिले समेत पोखरा गएर सोमबारदेखि काम थाल्ने छ। समितिले दिने प्रतिवेदनको आधारमा कारबाही प्रक्रिया अगाडि बढाइने छ । “दोषी प्रमाणित भए कानुन अनुसार चिकित्सकको लाइसेन्स र अस्पतालसमेत खारेज हुनसक्छ“, लामिछाने ले बताए। संविधानको धारा ३५ उपधारा १ मा सबै नागरिकलाई अकस्मिक स्वास्थ्य सेवाबाट बन्चित गरिने छैन भन्ने व्यवस्था विपरीत चिकित्सकहरुले घाइतेहरु लाई आकस्मिक सेवा नदिएकाले कारवाही प्रक्रियाअघि बढाइएको समेत उनले उल्लेख गरे।

डाक्टरको लाइसेन्स खारेज गर्न माग
सरकार ४० लाखमा मानवीय संवेदनाको शिक्षा पनि दिलाउ’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर युवाहरु उभिएका थिए । उनीहरुले ‘पहिले मानव अनि डाक्टर बन’, ‘तिम्रा आन्दोलन ठूलो कि घाईतेको ज्यान ?’, ‘डाक्टरको काम जीवनदान कि मृत्यु ?’, ‘उपचार नगर्ने डाक्टर हुँदैनन्’ जस्ता नाराहरु सेतो कागजमा स्पष्ट देखिन्थे । बिरोध स्वरुप कालो रंगको ब्यानरमा पीडाले छटपटाईरहेका घाईतको उपचार नगर्ने संवेदनहीन मनिपाल शिक्षण अस्पताल र डाक्टरको लाइसेन्स खारेजीको माग सहित बिरोध ¥याली लेखिएको थियो । 
आईतबार साँझ मानवअधिकार चोकमा भेला भएर पोखरामा सक्रिय फेसबूक ग्रुप वी आर वान (डब्लूएओ) ले यसरी विरोध जनाएको थियो । शनिबार मुक्तिनाथ दर्शन गरेर फर्कंदा बस दुर्घटनामा परेर घाइते भएकालाई उपचार नगरेपछि युवाहरु यसरी बिरोधमा उत्रिएका हुन् । मानवअधिकारचोक, चिप्लेढुंगादेखि बिपिचोक हुँदै महेन्द्रपुलसम्म ¥याली गरेका थिए । ग्रुपका संयोजक सूर्य तिमिल्सिनाले त्यति टाढाबाट ल्याएका गम्भीर बिरामीहरु आधा घण्टासम्म अस्पताल परिसरमा छट्पटाउँदा समेत अस्पताल र चिकित्सकले आफ्नो धर्म बिर्सिएको गुनासो गरे । 
‘जस्तोसुकै आन्दोलन भएपनि आकस्मिक विपद्मा परेर ल्याईएका बिरामीलाई फर्काउनु अत्यन्त खेदजनक कार्य हो । ज्यान भन्दा ठूलो आन्दोलन हुन सक्दैन’, उनले भने–‘मनिपाल अस्पताल बेला–बेलामा यस्तै घटनामा मुछिने गर्छ । अस्पताल व्यवसाय मात्र होईन । मानवीय दायित्व पनि पूरा गर्नुपर्छ ।’ तीर्थयात्राको क्रममा मुक्तिनाथ बाट फर्कदै गर्दा कागबेनी नजिकै बस दुर्घटना भएको थियो । पाँच जनाको मृत्यु भएको थियो भने ३० जना घाईते भएका थिए । आधा घाईतेलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि पोखरा ल्याईएको थियो ।






Post a Comment

 
Top