0
नेपालमा भ्रुणहत्या एउटा सामाजिक समस्याका रुपमा देखा परेको छ । नेपालमा वार्षिक करिब ३ लाख २३ हजार महिलाले गर्भपतन गर्ने गरेको एक अध्ययनले देखाएको छ । जसमध्ये अनिच्छुक गर्भ रहेर गर्भ पतन गराउनेको संख्या अत्यधिक रहेको देखिन्छ । विश्व एक्काइसौँ शताब्दीमा प्रवेश गरिसक्दासमेत हाम्रो समाजमा रूढिवाद र अन्धविश्वासका कारण अझै पनि छोरा र छोरीबीच विभेद देखिनु विडम्बनाकै विषय हो । लिंग पहिचान गरेर भ्रुणहत्या अर्थात गर्भपतन गर्नु भनेको ठूलो सामाजिक अपराध हो । अत्याधुनिक प्रविधिको प्रयोग गरी छोरी भए भू्रणमै हत्या गर्ने प्रवृत्तिले भयावह स्थिति देखाएको छ । एक अध्ययनअनुसार प्रत्येक तीन गर्भमध्ये एकको गर्भपतन हुने गरेको पाइएको छ । लुकिछिपी असुरक्षित तवरबाट ५८ प्रतिशत भ्रुणनाश हुने गरेको वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) र गुडमाकर इन्स्टिच्यूट मिलेर अनुसन्धान गरेको रिपोर्टमा उल्लेख छ । नेपालमा कुल गर्भमध्ये आधाजसो अनिच्छुक गर्भ र कूल गर्भमध्ये एकतिहाइ गर्भको पतन हुने सो अध्ययनमा उल्लेख छ । कानुनतः लिंगको पहिचान गरी गर्भपतन गर्न पाइँदैन । तर, पछिल्लो समय लिंग पहिचान गरी भ््रुण्ँणनाश गर्ने प्रवृत्ति वृद्धि भइरहेको छ । नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया–२०६० ले १२ हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीमा पतन गर्न कानुनले मान्यता दिएको छ । लिंग पहिचान गरेर, गर्भवती महिलाको सहमतिबिना र १२ हप्ताभन्दा बढीको गर्भपतन गराउन कानुनले बन्देज लगाएको छ । तर, जबर्जस्ती र हाडनाता करणी भएको अवस्थामा १८ हप्तासम्मको गर्भपतन गर्न सकिने व्यवस्था रहेको छ । यस्तै, अस्वस्थ बच्चा जन्मने वा आमाको स्वास्थ्य बिग्रनेजस्ता अप्ठ्यारो परिस्थितिमा पनि विशेषज्ञ र अनुमतिप्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भपतन गराउन सकिने व्यवस्था छ । गर्भपतन सामाजिक अपराध हो भन्ने कुरा सामान्य साक्षरदेखि शिक्षितसम्मलाई राम्रोसँग ज्ञान छ । तर, यस्तो गैरकानुनी कार्य बढ्दै गए पनि गर्भपतनलाई कानुनी मान्यतासँग जोडेर हेर्ने संस्कार विकसित हुँदै गएको छ । विशेष अवस्थामा व्यवस्था गरेको कानुनी प्रावधानलाई टेकेर लिंग पहिचान गरी भ्रुणनाश गरिनु दुर्भाग्य हो । मुलुकी ऐनले लिंग पहिचान गरेर गर्भपतन गराएको पाइएमा ६ महिनादेखि २ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार यस्तो सामाजिक अपराधलाई निरूत्साहित गर्दै दण्डनीय बनाइनुपर्छ । कानुनले लिंग पहिचान गरी गर्भपतन गराउनुलाई दण्डनीय अपराध माने पनि कानुनी दायरामा आउनेको संख्या नगन्य रहेको पाइन्छ । लिंग पहिचान गरी गर्भपतन गर्ने÷गराउनेलाई दण्डित नगरेसम्म यसले ठूलो सामाजिक समस्या उत्पन्न गर्ने कुरामा दुईमत छैन । किनभने, असुरक्षित गर्भपतनका कारण महिलाले अकालमा ज्यान गुमाउनु परेका, जटिल स्वास्थ्य समस्या भोग्नुपरेका, लागूपदार्थको कुलत र थुप्रै मनोसामाजिक समस्या उत्पन्न भइरहेको विशेषज्ञहरुले औँल्याएका छन् । पछिल्लो समय सरकारी अस्पतालहरुमा बालिकाको जन्मदर घट्नुको कारण भ्रुणहत्यालाई मान्न सकिन्छ । राष्ट्रिय जनगणना–२०६८ अनुसार चार वर्षसम्मका बालकको संख्या १३ लाख १४ हजार ९५७ र बालिकाको संख्या १२ लाख ५३ हजार ६ रहेको देखिन्छ । सो तथ्याङ्कले पछिल्लो जनगणनाबाटै बालिकाको जन्मदर घट्नेक्रम सुरू भएको देखिन्छ । गर्भपतनको असरले सम्बन्धित परिवार, समाज र राष्ट्रकै लागि असर पुग्नुका साथै महिला जनसांख्यिक रुपमा समेत सीमान्तकृत हुँदै जाने खतरासमेत बढ्ने देखिएको छ । गर्भपतन दरमा कमी ल्याउन उच्च गुणस्तरीय परिवार नियोजन सेवाका साथै परामर्श सेवामा पहुँच अभिवृद्धि गर्नु आवश्यक देखिन्छ ।







Post a Comment

 
Top