0
गोल्डेन न्यूज संवाददाता
दाह्री, कपाल काट्ने नाईहरुलाई पार्टीले उपयोग गरेर चटक्क भूलेको कास्कीका नाईहरुले आरोप लगाएका छन् । नाईसंघ कास्कीद्धारा प्रकाशित नयाँवर्षको क्यालेण्डर विमोचन समारोहमा मंगलवार पोखरामा आयोजित कार्यक्रममा वोल्ने नाई संघका अगुवाहरुले सो अरोप लगाएका हुन् । कार्यक्रममा वोल्ने नाई संघका अगुवाहरुले पार्टीले नाई संघलाई प्रयोग मात्रै गरेको कहिल्यै अवसर नदिएको गुनासो गरे। उनीहरुले अवको स्थानीय तहको निर्वाचनमा नाई संघका प्रतिनिधिहरु आफ्नो गृह जिल्लामा प्रतिनिधि बन्न चाहेकोले पार्टीले उनीहरुलाई टिकट दिलाउन विशेष सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा सांसद यज्ञवहादुर थापाले कांग्रेसको अगुवाई र सक्रियतामा देशमा राजनीतिक परिवर्तन भएको बताए । उनले नाई संघको योगदान पार्टीलाई अतुलनीय रहेको चर्चा गर्दै नाई संघको हक अधिकारको लागि आफूले सँधै सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । 

नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले पोखरा लेखनाथ महानगरपालिकाको मेयर कांग्रेसले जित्ने दावी गरेका छन् । उनले कांग्रेसको महानगरको विगतको तुलनामा अहिले हैसियत वलियो भएकोले मेयर पद कांग्रेसको विजय हुने बताए । ट्रेड युनियन कांग्रेसका प्रदेश नं ४ का संयोजक मुरारी शर्माले कांग्रेसमा जहिले पनि नेताले मन पराएको व्यक्ति निर्वाचनमा लड्ने प्रवृति हुँदा पराजय व्यहोर्नु परेको बताउँदै कार्यकताले मन पराएको व्यक्तिलाई पार्टीले टिकट दिनु पर्ने वताए ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले पार्टीले मिडियालाई प्रयोग गरेर चटक्क विर्षने गरेको गुनासो गरे । कास्कीका कतिपय सभासदहरुले अहिले पनि विगतको संविधान सभामा छापिएको प्रचार सामग्रीको विल भुक्तानी नगर्दा संचार संस्थाबाट गुनासो आइरहेको बताए। निर्वाचन आउँदा आफू निकटका मिडियालाई पार्टीले भरपूर उपयोग गरेपनि जितेपछि चटक्कै भूल्ने गरेको उनले आरोप लगाए ।
नाईसंघ कास्कीका अध्यक्ष विगुलाल ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेता नन्दप्रसाद तिवारी, संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालवावु ठाकुर, वलिराम ठाकुर, किरणवावु पन्त, कमल सापकोटा, केशव भट्टराइ, नेपाल आदिवासी जनजाति संघ कास्कीका अध्यक्ष जीतवहादुर गुरुङ, यातायात मजदुर संघ कास्कीका अध्यक्ष दामोदर पण्डित, रामेश्वर ठाकुर, दीपक ठाकुर, केदार धमला, लालिमाया रेग्मी, वोधराज सुवेदी, आनन्द ठाकुर, र सचिव आदेश ठाकुर लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।



Post a Comment

 
Top