0
गोल्डेन न्यूज संवाददाता
झिलिमिली झाँकी र आमा समूहको ¥यालीसँगै पोखरामा चौधौं फेवा नव वर्ष महोत्सव २०७४ सुरु भएको छ । पश्चिमाञ्चल होटल संघ पोखराले आयोजना गरेको महोत्सव आगामी वैशाख २ गतेसम्म चल्ने छ । लेकसाइडको खहरेचोकबाट हजारौं सहभागी झाँकीसहितको ¥याली तीन किलोमिटर दक्षिणको कोमागाने पार्क पुगेपछि महोत्सवको उद्घाटन गरिएको थियो । होटल संघ नेपालकी वरिष्ठ उपाध्यक्ष श्रृजना राणाले महोत्सवको उद्घाटन गरिन् । नेपाली संस्कृति तथा फेवा तालको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले जानकारी दिए । विभिन्न विषम परिस्थितिमा पनि संघले महोत्सवलाई निरन्तरता दिंदै आएको बताउँदै उनले महोत्सवमा सहभागिताका लागि सबैसँग आव्हान गरे । महोत्सवमा खानाका १५्र तथा अन्य व्यापारिक गरी कूल ६० स्टल राखिएको छ । स्थानीय र पर्यटक गरी कूल एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको संघका महासचिव एवं प्रचार–प्रसार उपसमितिका संयोजक गणेशराज पहारीले जानकारी दिए । महोत्सवमा डुंगा दौड, पर्यटक दौड, एकल नृत्य र गीत संगीतका कार्यक्रम समेटिएको छ । महोत्सवको अवसरमा आयोजित झाँकी प्रतियोगितामा नेपाल मगर संघ प्रथम, नेवा कच खल बैदाम दोश्रो र किराँत सेवा समाज तेश्रो भए । झाँकीमा २६ समूह सहभागी थिए । 
यसैगरी आमा समूहको प्रतियोगितामा बंगलादी आमा समूह, खहरे आमा समूह र क्षत्री महिला समूह क्रमशः प्रथम, द्वितीय र तृतीय भए । प्रमुख अतिथि राणाले विजयी समूहहरुलाई पुरस्कार प्रदान गरिन् । उनले होटल संघ पोखराको टेवल क्यालेण्डर पनि विमोचन गरिन् । कार्यक्रममा बोल्दै राणाले फेवा महोत्सवले पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको बताउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको अभियानमा होटल संघ नेपाल पश्चिमाञ्चल होटल संघ पोखरासँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताइन् । 
अहिले नेपालका होटलको अकुपेन्सी दर ६० प्रतिशत वरपर रहेको बताउँदै उनले होटलको निर्माण दर बढ्दै जाँदा पर्यटक नपुग्ने हो कि भनि चिन्ता व्यक्त गरिन् । सन् २०२० सम्म चार हजार नयाँ कोठा थपिने तर सो अनुसार पर्यटक बढाउन भारत र चीन जस्ता छिमेकमा प्रवद्र्धनका कार्यक्रम लैजानुपर्ने आवश्यकता उनले औंल्याइन् ।
उद्घाटन कार्यक्रममा होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुली राष्ट्रिय पर्यटन परिषद्का सदस्य वासुदेव त्रिपाठी, नेपाल पर्यटन वोर्ड पोखराका प्रमुख उदय भट्टराई, पीटीआरसीका संयोजक गणेशबहादुर भट्टराई, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, पत्रकार महासंघ कास्कीका सभापति दीपेन्द्र श्रेष्ठ, वडा नागरिक मञ्च समन्वय समिति बैदामकी संयोजक विष्णु केसी र होटल संघ पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीले महोत्सव सफलताको कामना गरेका थिए ।
महोत्सवमा पर्यटन, संस्कृति र खाना मूख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सवमा पाँच तारे होटलदेखि स्थानीय क्षेत्रमा पाइने सबै प्रकारका खानाहरु एकै ठाउँमा पाइने, प्रत्येक दिन सांगीतिक सांस्कृतिक कार्यक्रम, राष्ट्रिय स्तरको लोकदोहोरी गीत प्रतियोगिता, पप कन्सर्ट लगायतका कार्यक्रम राखिएका छन् । त्यसतै डुङ्गा दौड, पर्यटक दौड, नृत्य प्रतियोगिता लगायतका कार्यक्रम पनि समावेश गरिएका छन् । महोत्सवमा चैत्र ३१ गते नै मध्यरात १२ बजे नयाँ वर्षको स्वागत कोमागाने पार्कमा गरिने कार्यक्रम छ ।
यसैबीच महोत्सवको अवसरमा संघले ‘जाउँ है पोखरा’ कार्यक्रमका प्याकेजहरु उपलब्ध गराउने भएको छ । प्याकेज अन्तर्गत घुमघाम, शैक्षिक भ्रमण, मधुमास र साहसिक प्याकेज समेटिएको संघका अध्यक्ष बिकल तुलाचनले बताए । प्रति ब्यक्ति वा जोडीका लागि तीन हजार रुपैयाँदेखि २१ हजार रुपैयाँ बीचको मूल्यमा प्याकेज बनाइएको छ भने फेवा तालमा बोटिङ, बञ्जी जम्प, अल्ट्रालाइट फ्लाइट, दृश्यावलोकन जस्ता विविध सुविधाहरु समेटिएको छ । घुमघाम प्याकेजमा एक जनाको २ हजार ९ सय ९० देखि दुई जनाको अधिकतम १३ हजार ३ सय ९० रुपैयाँको प्याकेज रहेको संघले जनाएको छ । शैक्षिक प्याकेजमा एक जनाको १ हजार ७ सय ७० रुपैयाँ तोकिएको छ । त्यसैगरी मधुमास जोडीको ७ हजार रुपैयाँदेखि १४ हजारसम्मको प्याकेज शुल्क तोकिएको छ भने साहसिक प्याकेजमा एक जनाको ९ हजार ९ सय ९० देखि जोडीको २१ हजार १ सय १० रुपैयाँसम्मको प्याकेज रहेको संयोजक तुलाचनले बताए ।




Post a Comment

 
Top