0
गोल्डेन न्यूज संवाददाता
सैनिक बस्ती लेखनाथका सुवास गुरुङ सातौँ बिग आइकन बनेका छन् । दुई प्रतिस्पर्धी चितवन पटिहानीका सागर आले र पोखरा संगमटोलकी प्रिया गुरुङलाई भोटिङको आधारमा उछिन्दै उनले सातौँ बिग आइकनको ताज आफ्नो पोल्टामा पारे । पोखरा सभागृहमा खचाखच दर्शकमाझ प्रमुख अतिथि रहेका रवीन्द्र मिश्रले विजेताको नाम घोषणा गर्दै गर्दा सुवासका आँखा एकाएक भरिए । उनले खुशीको आँशु थाम्न सकेनन् । आफूलाई भोट गर्ने स्रोताहरु, सहयोग गर्ने साथीभाई, ईष्टमित्र र आफन्तलाई उनले धन्यवाद दिए । निरन्तरको प्रयास पछि आफू सफल भएको भन्दै उनले आगामी दिनमा साँगीतिक करिअरलाई अगाडि बढाउन अझै बढि चुनौती थपिएको प्रतिक्रिया दिए । सुवास चौथो बिग आइकनमा पहिलो चरणको अडिशन राउण्डबाटै प्रतियोगिताबाट बाहरिएका थिए । यद्यपि उनले हिम्मत नहारिकन पुनः छैठौँ बिग आइकनमा सहभागिता जनाए । अघिल्लो पटक उनी उत्कृष्ट २० राउण्डबाट पुनः बाहिरिए । उनले अठोट भने लिएकै थिए कि, ‘बिग आइकनको ताज कुनै हालतमा जित्छु ।’ तेस्रो पटकमा मात्रै उनी सफल भए । उनले भने–‘मैले संसार जितेको अनुभव गरेको छु ।’  बिग आइकन भएसँगै सुवासले १ लाख ७५ हजार रुपैयाँ बराबरको यामाहा स्कुटर र बेलायतको सांगीतिक भ्रमण गर्ने अवसर पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।

सातौँ बिग आइकन अन्तर्गत चितवन पटिहानीका सागर आले फस्ट रनर अप भए भने पोखरा संगम टोलकी प्रिया गुरुङ सेकेन्ड रनरअप भईन् । बिग आइकन घोषणा गरेसँगै साझा पार्टीका परिकल्पनाकार समेत रहेका रवीन्द्र मिश्रले सुवासले ‘निरन्तर प्रयासले नै सफलता मिल्ने’ उदाहरण प्रस्तुत गरेको बताए । उनले अन्य दुई उपविजेताहरुलाई पनि सफलताको शुभकामना दिए । उनले सांगीतिक कार्यक्रमसँगै बिग एफएमले परोपकारी भावना राखेर श्रमिक बालबालिकाहरुलाई सहयोग गरेर अझै बढि आफ्नो उचाई बढाएको बताए । शुक्रबार भएको कार्यक्रम अन्तर्गत टिकट बिक्रीबाट ५२ हजार ५० रुपैयाँ संकलन भएको  विग एफएमले जनाएको छ । कार्यक्रममा फाइनलिस्टसँगै सातौँ बिग आइकनका उत्कृष्ट १० प्रतिस्पर्धीले समेत प्रस्तुती दिएका थिए । सोहि क्रममा बिग आइकनका निर्णायद्वय श्यामसुङ तामाङ, विवेक श्रेष्ठसँगै यस अगाडिका बिग आइकन विजेताहरु मुस्कान रानाभाट र साजन आलेले पनि प्रस्तुति राखेका थिए । कार्यक्रमको टाइटल स्पोन्सर रहेको कम्पनी ‘इन्टिग्रेटेड मोबिलिटि सोल्यूसन्स’का मार्के्टिङ हेड आयुष श्रेष्ठले बिग आइकनको प्रभावकारिता देखेर नै कम्पनीले निरन्तर सहकार्य गरेको बताए । ‘ बिग आइकनलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ–संस्था तथा शुभचिन्तकहरुलाई एफएमका अध्यक्ष महेश भण्डारीले धन्यवाद ज्ञापन गरे ।



Post a Comment

 
Top