0
गोल्डेन न्यूज संवाददाता
पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मात्रै देशको बारेमा सोच्ने एक्लो पार्टी भएको दाबी गरेका छन्। पोखरामा शुक्रबार आमसभालाई सम्बोधन गर्दै उनले पहिले कांग्रेस देशभक्त पार्टी भएपनि हाल झाडीमा सिङ अल्झेको बाह्रसिङे भएको बताए । ‘पहिले कांग्रेस देशको बारेमा सोच्ने पार्टी थियो तर अहिले बुढो बाह्रसिङे भएको छ,’ उनले भने–‘झाडीमा सिङ अल्झेको बाह्रसिङे हलचल गर्न सक्दैन, कांग्रेस पनि त्यही हो ।’ ओलीले कांग्रेसलाई के गर्ने भन्ने थाहा नहुँदा देशले दुःख पाएको आरोप लगाए । आईजीपी, अख्तियार प्रमुख लगायत प्रमुख पद खाली हुँदा पनि कांग्रेसले सरकारमा बसेर केही नगरेको उनको आरोप थियो । ‘एउटा पार्टीको ठूलो नेताले आफ्नै जिल्लाको आइजीपी हुनुपर्ने अडान कसेका छन्’, उनले भने–‘अब देशको प्रधानमन्त्री हुने, प्रमुख पार्टीको प्रमुख मान्छेले आफ्नो जिल्ला मात्रै हेर्न थालेपछि कसरी हुन्छ ?’ 
कांग्रेसले केन्द्रीय समितिको बैठकबाट सर्वोच्च अदालत विरुद्ध प्रस्ताव पास गरेर न्यायालयमाथि आक्रमण गरेको समेत ओलीले बताए । उनले भने–‘लोकमानविरुद्ध निर्णय भयो भनेर अदालतविरुद्ध नै खनिनुपर्ने आवश्यकता थिएन ।’ माओवादी केन्द्रको बारेमा भने आफूले कुनै टिप्पणी गर्न नचाहेको उनले बताए । ‘माओवादीको बारेमा केही भन्नुपर्छ जस्तो मलाई लाग्दैन,’ उनले भने ।  ओलीले नेपाली जनतालाई अझै अधिकारसम्पन्न बनाउन संविधान संशोधन गर्न सकिए पनि नेपालको हितलाई नोक्सान हुने गरि गर्न नसकिने जनाए । ‘संविधान संशोधनीय दस्तावेज हो,’ उनले भने–‘तर कुनै आवश्यकता नभएको, सम्बन्धै नभएको र कसैको निर्देशनमा नेपाललाई कमजोर पार्ने उद्देश्यका साथ आएको नाटक स्वीकार्न सक्दैनौं ।’  उनले देशव्यापी एमालेमाथि आक्रमण भइरहँदा सहिष्णुताका साथ बसिरहन नसक्ने पनि उक्त सभामा बताए । निर्वाचनको माहोल एमालेतिर बढिरहेको देखेपछि अवरोध गर्न सुरु भएको उनले दावी गरे । ‘यतिबेला एमालेलाई अवरोध गर्ने काम भईरहेको छ । जनतालाई असुविधा दिने, आक्रमण गर्ने, एमाले कार्यकर्ताका पुस्तौनी घर तोडफोड गर्ने काम भएका छन्,’ ओलीले भने,–‘एमाले कार्यकर्ताका घर जलाईरहने, कार्यकर्तामाथि आक्रमण भईरहे एमाले चुप लागेर बस्नेछैन ।’ उनले जस्तोसुकै राजनीतिक प्रतिस्पर्धा पनि स्वीकार्य रहेको बताए । ‘राजनीतिका नाममा हामी अपराध सहँदैनौं,’ उनले भने–‘सरकारमा बसेर मान्छे मार्ने, अनि आरोप एमालेलाई लगाउने काम भएको छ।’ अध्यक्ष ओलीले कसैको घरमा झगडा प¥यो भन्दैमा स्थानीय तह निर्वाचन नरोकिने स्पष्ट पारे। घरको झगडा देशमा देखाएर निर्वाचन भाड्न नपाइने उनको तर्क छ। निर्वाचन हुन दिन्नौं भनेर कुद्नुको कुनै अर्थ नरहेको स्पष्ट पार्दै उनले भने–‘स्थानीय तह १५ वर्षदेखि नेतृत्व विहीन छ र करिब दुई दशकदेखि निर्वाचन भएको छैन । बल्लतल्ल अहिले निर्वाचन घोषणा भएको छ । तर केही दल निर्वाचन हुन दिन्नौ भनेर कुदिरहेका छन् । त्यसमा कुनै तुक छैन।’ ‘उनीहरुको घरमा (दलभित्र) झगडा प¥यो कि क्या हो, त्यही भएर निर्वाचन हुन दिन्नांै भनेका छन,’ ओलीले भने,–‘घरको झगडा देशमा नदेखाउ । अब कसैले रोकेर निर्वाचन रोकिन्न ।’ एमाले कुनैपनि दलसँग निर्वाचन लड्न पछि नहट्ने उनले बताए । ‘अरु सबै दल मिलेर आएपनि एमाले उनीहरुसँग निर्वाचनमा एक्लै भिड्छ,’ उनले भने,–‘एमाले कसैप्रति पनि बैरभाव राख्दैन । स्वस्थ ढंगले प्रतिस्पर्धा गर्न तयार छ।’ निर्वाचनमा एमालेलाई हराउने बारेमा अन्य राजनीतिक दलका केन्द्रीय समितिमा छलफल चलिरहेको उनले दावी गरे ।
स्थानीय तहको निर्वाचनपछि देशले विकासमा फड्को मार्ने उनले दावी गरे। ‘महानगरपालिका लाई साच्चै महानगरपालिका बनाउँछौं । गाउँ र नगर छुट्याउन नसक्ने गरि विकास हुनेछ,’ उनले भने–‘मुलुकको विकास गर्ने तरिका एमालेलाई थाहा छ ।’ विकासका लागि उत्तरी छिमेकी चीनसँगका नाका खोल्ने उनले बताए। केही राजनीतिक दल संविधान संशोधनको घिट्किसो कसेर लम्पसार परेको उनले आरोप लगाए। ‘संविधान संशोधन नै नहुने होइन, तर कसैको निर्देशनमा नेपालको हितमा नोक्सान हुनेगरि र नेपाललाई कमजोर बनाउन संशोधन हुन सक्दैन,’ ओलीले भने । अध्यक्ष ओलीले देशको चिन्ता एमाले बाहेक कुनै दललाई नरहेको बताए। उनँले नेपाल सबैको साझा देश भएकाले साझा ढङ्गले नै अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउँदै अहिलेको संविधानले कसैलाई कुनै भेद्भाव नगरेको स्पष्ट पारे । १ हजार ३३७ जनालाई पार्टीमा प्रवेश गराएका अध्यक्ष ओलीले सम्बोधनका क्रममा भने ‘तपाइहरु एमालेलाई बलियो बनाउन प्रवेश नगर्नुस देश बलियो बनाउन एमालेमा आउनुहोस् ।’ एमालेको तुलनामा कुनै पार्टी नरहेको भन्दै आफ्नो गाउँ ठाउँ बनाउन नवप्रवेशीलाई ओलीले सुझाव दिए ।  एमाले कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनबहादुर गुरुङ र सचिव दामोदर वैरागीले बोलेका थिए ।

आमसभाले जनतलाई सधैं सास्ती

राजनीतिक दलदेखि जातीय संघ–संगठन जो सुकैको शक्ति प्रदर्शन गर्ने थलो सडकनै हो । जसले धेरै सडक कब्जा गरी प्रदर्शन, सभा, जुलुस निकाल्न सक्छ त्यहि पार्टी वा संघ–संगठन ठूलो हौ भन्ने दम्भ गर्छन् । विभिन्न नाममा सडकमा निकालिने ¥याली, सडकका चोकमा गरिने सभाले नगरक्षेत्रको सवारी अस्तब्यस्त बन्छ । शुक्रबार पोखरामा आयोजित एमालेको जनसभाले पनि दिनभर पोखरा नगर क्षेत्रको सवारी अस्तब्यस्त बन्यो । सवारी सञ्चालनको प्रमुख मार्ग मध्येको एक बिपीचोक सिद्धार्थचोक सडक बिहान ११ बजेदेखि झण्डै पाँच बजेसम्म एमाले नेता कार्यकर्ताको कब्जामा रह्यो । विपीचोकबाट सिद्धार्थचोक हुँदै सञ्चालन हुने सवारी त प्रभावित भएनै त्यसैका कारण अन्य रुटमा पनि सवारी अस्तब्यस्त भयो । सभा आयोजना गरिएको सडकको दुबै किनारबाट बटुवा हिड्न समेत नसक्ने अवस्था थियो । जनसभालाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले बढो गर्वका साथ गर्जन निकाले ‘एमालेले आज सभा गरेको यो ठाँउमा बैशाख ३१ गते अगाडि अन्य पार्टीले सभा गर्ने हिम्मत गर्नेछैनन् ।’ एमालेले पुनः सोहि स्थानमा सभा गर्नुपरे अहिलेको भन्दा बढी मानिस जम्मा गर्ने समेत उनले उद्घोष गरे । एमालेले शुक्रबार सभा गरेको स्थल मानवअधिकार चोक कास्कीका सबै राजनीतिक दल र अन्य संघ संस्थाको सभा, कार्यक्रम गर्ने स्थलको रुपमा चिनिन्छ । तर कुनैपनि दल तथा संघ–संगठनले सार्वजनिक सडक कब्जा गरी कार्यक्रम गर्दा अन्यलाई पुग्ने असरको विषयमा सोच्न सकेका छैनन् । सार्वजनिक सडकलाई शक्ति प्रदर्शनको थलो बनाएकोप्रति सामाजिक सञ्जालमा केहि ब्यक्तिहरुले आपत्ति जनाएका छन् । उनीहरुले राजनीतिक सहित सडकमा कार्यक्रम गर्ने आयोजकलाई विकल्प खोज्न आग्रह गरेका छन् । पोखरामा अमरसिंहचोक स्थित अमरसिंह चौर र नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा खाली जमिन हुँदा–हुँदै सडकमा कार्यक्रम गर्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । यसअघि बिहीबार पनि संघीय गठबन्धनले सो स्थानमा सभा गर्दा पोखराको सवारी अस्तब्यस्त भएको थियो । लामो समयसम्म सडकमा सभा गर्दा सो सडक भएर नियमित गुड्ने सवारीलाई अन्य रुट मार्फत पठाउदा सवारी ब्यवस्थापनमा समस्या हुने गरेको छ । सडकमा गरिने सभाको कारण नगर क्षेत्रको सवारी ब्यवस्थापन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सबै ट्राफिक प्रहरी सडकमा एकसाथ खटिनुपर्ने अवस्था छ ।


Post a Comment

 
Top