0
गोल्डेन न्यूज संवाददाता
पोखरामा पंक्षी र पंक्षीजन्य पदार्थ आयत निर्यातमा रोक लगाइएको छ । एक साताको बीचमा पोखराको एउटै वडाका दुई स्थानमा बर्डफ्लुको संक्रमण भेटिएपछि पंक्षी र पंक्षीजन्य पदार्थ आयात निर्यातमा रोक लगाइएको हो । शनिवारदेखि फागुन ३० गतेसम्म १० दिनका लागि पोखरा उप–महानगरपालिकाको वडानम्बर १ देखि १८ भित्र पंक्षी र पंक्षीजन्य पदार्थ आयात निर्यातमा रोक लगाइएको जिल्ला पशुसेवा कार्यालय कास्कीले जनाएको छ । पशुसेवा विभागको निर्देशन अनुसार जिल्ला एभियन ईन्फलुएन्जा प्राविधिक समितिको शनिवार सम्पन्न बैंठकले संक्रमित क्षेत्रको चार किल्ला निर्धारण गर्नुको साथै पंक्षीजन्य वस्तु आयात निर्यातमा रोक लगाएको हो । निषेधित कार्य गरेको पाइएमा कार्वाही गर्ने निर्णयमा उल्लेख छ । ‘पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १५ अनुसार फागुन २१ देखि ३० गतेसम्म पोखरा उप–महानगरपालिकाको वडानम्बर १ देखि १८ क्षेत्रबाट दानावाहेक पंक्षी र पंक्षीजन्य पदार्थको ओसार–पसारमा पूर्णरुपमा प्रतिबन्ध लगाउने निर्णय गरियो । समितिको निर्णयमा भनिएको छ । साथै यो अवधिमा आफ्नो घरमा रहेका कुखुरा तथा हाँस वाहिर नछोड्न आग्रह गरिएको छ । पोखरा–१८ खाल्टेमसिनामा बर्ड फ्लु भेटिएको एक साता नबित्दै पुनः सोहि वडाको अर्को स्थानमा वर्डफ्लुको जिवाणु पुष्टी भएको हो । फागुन १४ गते स्थानीय मीना परियारको घरमा पालेको हासमा संक्रमण भेटिएकोमा थियो । संक्रमित क्षेत्र आसपासबाट नमुना परीक्षणका लागि पठाइएकोमा स्थानीय शुभकामना टोल स्थित दीपेन्द्र केसीले पालेको कुखुरामा बर्डफ्लुको जिवाणु देखिएको पशुसेवा कार्यालय कास्कीका सूचना अधिकारी ठगेन्द्र प्रसाद अर्यालले जानकारी दिए । संक्रमण भेटिएपछि त्यस आसपासका क्षेत्रमा चारकिल्ला तोकेर पंक्षी र पंक्षीजन्य वस्तु नष्ट गरिएको छ। हाल संक्रमण भेटिएको केसीको घरलाई केन्द्र मानेर पूर्वमा क्याम्पस रोडसँग जोडिएका पूर्वका घरहरु, पश्चिममा जागृति मार्गको ग्राभेल सडक, उत्तरमा मनकामना मन्दिर देखि जागृति मार्गसम्मको डिल र दक्षिणमा खाल्टे मसिना पिच रोड भित्रको क्षेत्रलाई संक्रमित क्षेत्र तोकिएको छ । यसअघि परियारको घरलाई केन्द्र मानेर चार किल्ला तोकी २५६ कुखुरा, ४१ हास, ६७ अन्डा, ९० केजी र ४० केजी मासु नष्ट गरिएको थियो । पहिले संक्रमण भेटिएको क्षेत्र र हाल संक्रमित क्षेत्रलाई आगामी ४२ दिनसम्म उच्च निगरानीमा राखिने पशुसेवा कार्यालयले जनाएको छ । साथै सो आसपासका अन्य क्षेत्रलाई पनि निगरानीमा राखिने छ । एकै साता दुई स्थानमा संक्रमण भेटिएपछि स्थानीय त्रसित भएका छन् ।


Post a Comment

 
Top