मंसिरको मध्यतिर हेमन्त राना संगीतकार कालीप्रसाद बाँस्कोटा कहाँ पुग्दा उनी गिटारमा केही गुनगुनाउँदै थिए । कालीले एउटा गीत सुनाउँदै भने, ‘यो गीत तिम्रो लागि बनाएको ।’ हेमन्तले अरु गीत पाउँदा जस्तो प्रतिक्रिया दिन्थे, त्यस्तै सामान्य प्रतिक्रिया दिए । त्यस अगाडि गायक हेमन्त र कालीप्रसादबीच अमेरिकामा भेट भएको थियो । एक समय ‘लैजा रे’ गीतमा उनीहरुले सँगै काम गरेका थिए । त्यो भेटमा फेरि मिलेर काम गर्ने कुरा भयो ।
तर, नयाँ गीतमा काम गर्दै गर्दा हेमन्तलाई भने डर थियो, यो प्रयास सफल होला कि नहोला ! किनकि उनी चार वर्षको ग्यापपछि कमब्याक गर्दै थिए । तर, उनी साथमा ‘हीरा’ भएर पनि व्यर्थै छटपटाइरहेका रहेछन् । ‘साइँली’ को जादुमय लोकप्रियताले त्यही साबित ग¥यो । ‘एउटा त यथार्थपरक र सामाजिक सन्देशको गीत ल्यायौ भन्ने प्रतिक्रिया आइरहेको छ’, उनले खुसी साटे, ‘सबभन्दा मुख्य कुरा चाहिँ मेरो कमब्याक राम्रो भयो ।’
संगीतमा नेपालीपनको खोजी
‘नेपाली कैलाख खेर’ का उपमा पाएका हेमन्त हरेक प्रकारका संगीतमा उत्तिकै चाख राख्छन्। लोकगीतदेखि पप, हिपहप, रक मेटल, आरएमबी, ज्याज, ब्लुजसम्म सुन्छन् । तर, आफूले गाउने गीतमा भने आफ्नै खालको आग्रह छ, अलिकता क्लासिकल टच होस् र मेलोडियस होस् । भन्छन्,–‘लोक ट्युन छोयो भने अझै राम्रो लाग्छ ।’ पछिल्लो १० वर्षमा उनले नेपाली संगीतमा पूरै परिवर्तन आएको पाएका छन् । त्यसमा पनि सकारात्मक लाग्ने पाटो हो, संगीतमा नेपालीपनलाई अझै बढी खोजिएको छ ।
संगीत बजारमा छाएका लोक स्वादका गीतहरुको एकपछि अर्को ख्यातिले त्यही छनक दिन्छ । गीत–संगीतमा मात्र हैन, फिल्ममा समेत दर्शकले आफ्नोपन र अर्गा्निक स्वादको खोजी गरिरहेको उनले देखेका छन् । यो अवस्थालाई उनी अर्थ्याउँछन्, ‘अहिले हामी बाहिरका धेरैथरी स्वाद चाखेर आफ्नै पुरानो बाटोमा फर्किरहेका छौं ।’
‘साइँली’ गीतप्रति श्रोताको रुचिले उनलाई यो कुरा अझ प्रष्ट पारिदियो । अडियन्सको त्यही मोहलाई विचारेर उनले पनि आफ्नो बाटोलाई १८० डिग्रीमा मोडे । ११ वर्षअघि निस्किएको उनको एल्बम ‘पाप–पुण्य’ पप–मा अलि क्लासिकलतिर ढल्किए । तेस्रो एल्बम ‘मेरो आकाश’ (२०१३) मा ज्याजलाई छोए । यो चौथो एल्बम ‘साइँली’ मा आइपुग्दा नेपाली लोक ट्युनलाई खुलेर समेटेका छन् । साथमा लोक लय र आरएमबीको संयोजन पनि छ । लोक ट्युनमा मन रमे पनि टिपिकल लोक मात्रै गर्न खोज्दा ‘सांगीतिक दुर्घटना’ हुने उनको सोचाइ छ । ‘स्यान्डबीच खाँदा भेज मात्र भो भने खान गाह्रो हुन्छ, अलिकति अमिलो–पिरो चट्याकचुटुक मिसायो भने मज्जा आउँछ’, उनी भन्छन्, ‘अडियन्सलाई पनि लोक ट्युन मिसाउँदै बिस्तारै नेपाली म्युजिकमा बानी पार्नुपर्छ । एकैचोटि ठूलो चेन्ज ल्याउँछु भन्दा चाहिँ गीत नै मर्न सक्छ ।’ संगीतकर्मीले गीत–संगीत सिर्जना गर्दा आफूलाई बेलाबेला आविष्कार गर्दै जानुपर्ने उनले महसुस गरेका छन् । कारण, एउटै शैलीका गीत गाइराख्दा, आइराख्दा गाउने मान्छेलाई पनि मनोटोनस हुन्छ, सुन्नेहरुलाई पनि । यसैले पहिलो एल्बमदेखि चौथो एल्बमको सफरमा उनले म्युजिक जनरामा परिवर्तन गर्दै ल्याएका छन् । संगीतमै नयाँ चिजको खोजी गर्न उनी छँदा–छँदैको करिअर छाडेर तीन वर्षअघि अमेरिका हान्निएका थिए ।
अमेरिकामा नजर फराकिलो
२०१३ मा हेमन्तले तेस्रो एल्बम ‘मेरो आकाश’ ल्याउँदा त्यो आकाश खासै फराकिलो देखिएन । एल्बमभित्रको ‘रातकी रानी’ गीत केही चले पनि उत्साहजनक भएन । सायद त्यही रनाहामा थप जान्ने(बुझ्ने भोक उनमा बढायो । एउटा ठाउँमा बसिराखेर आफूलाई साँगुरो दायरामा बाँध्न मन लागेन । हुन पनि तन्नेरी वय, एक्लो जिन्दगी । संसार घुम्ने, हेर्ने बेला यही हो भनेर यो उमेरले लाइसेन्स पाउने गर्छ । उनी २०१४ को अगष्टमा अमेरिका गए । ‘अमेरिका जानु बाध्यता नभई मेरो रोजाइ थियो । त्यहाँ मलाई सिक्नु थियो’, उनले यही स्पष्टीकरण दिँदै आएका छन् ।
उनका अनुसार अमेरिका बसाइमा पूरा समय संगीतमै लागिरहे । संगीत सिकिरहे । ‘आफ्नो जिम्मेवारी जुन ठाउँबाट पूरा गर्नुपथ्र्याे, गर्नुपर्छ । साथसाथै संसार हेर्दै जिन्दगीमा एक्स्प्लोर गर्न मलाई मन लाग्यो’, उनले थप भेद खोले । उनले अमेरिका र क्यानडामा कार्यक्रम गरे । ३०–३५ वटा राज्यमा स्टेज तताउँदा तीन वर्षको समय गएको पत्तै भएन । विदेशमा रहेका नेपालीहरुमाझ गाउँदा पनि उनले नेपालीपन भएको गीत–संगीतमा ज्यादा रुचि देखे । ‘बाहिरका अडियन्सलाई नेपालीपन बोकेको रमाइलो गीत चाहिन्छ, कलाकारको इज्जत पनि बढी गर्छन्, उनले कताकता चित्त दुखाइ सुनाए, ‘नेपालमा चाहिँ घरकी मुर्गी दाल बराबर जस्तो हुन्छ ।’
बाहिर बस्दा आफूमा बुझाइमा धेरै फरक आएको उनले पाए । त्यस क्रममा १०–१५ वटा नयाँ गीत पनि कम्पोज गरेका थिए । तर, नयाँ एल्बम गर्ने सुरले नेपाल आउँदा तीमध्ये एउटा गीत मात्र एल्बममा छानियो । ‘किनकि राम्रो सिर्जना पस्किन म आफूमा इमानदार हुनु जरुरी थियो’, उनी भन्छन् । गीतभित्र ‘साइँली’सँग विदेश गएर ४० कटेपछि सँगै रमाउने गरी आउने वाचा गरेका हेमन्त भर्खर ३० को आसपास हिँड्दै छन् । अझै एक्लो जीवनमै छन् । यसैले मदमस्त छन् । फेब्रअरीको अन्तिम साता फेरि अमेरिका हान्निँदै छन् । यस पालि भने विगतमा झैं हराउने गरी नभई तीन महिनाको सांगीतिक टुरको योजना छ ।
मास हैन, क्लास ठूलो
संगीतको विडम्बना हो, कतिपय अवस्थामा हल्काफुल्का गीत हिट हुन्छन् । कुनै बेला स्तरीय गीत श्रोताको कानसम्म नपुग्दै शहिद भइसक्छन् । हेमन्तलाई भने पपुलारिटी र क्वालिटी फरक कुरा हो भन्ने लाग्छ । उनी बजारमा भए पनि पपुलारिटी कमाउने होडमा छैनन् । मासलाई ध्यान दिँदा अलिकता बजारको स्वाद विचारे र व्यावसायिक हुन करै लाग्छ । क्लासलाई ध्यान दिँदा सीमित अडियन्सको प्रशंसामै चित्त बुझाउनुपर्ने हुन्छ । यस्तोमा उनी क्लासलाई नै रोज्छन् । यसैले चकलेटी टाइपमा झिल्के गीतभन्दा उनले ‘चुजी’ भएर गीत गाउँदै आएका छन् । नयाँ एल्बममा पनि उनले व्यावसायिक हिसाबले सोच्नुभन्दा सामाजिक सन्देशलाई महत्व दिएका छन् । नेपाली समाजमा कायम बोक्सी प्रथा, सौन्दर्यको परिभाषामा नपर्ने कुरुप अनुहारको पीडा लगायतको बारेमा गीत पस्किएका छन् ।
प्राकृतिक तथा दैवी विपत्तिमा अनुहारको रुप–रेखा बिग्रिएर समाजसामु खिसीटिउरी भोग्ने पात्रको व्यथा एउटा गीतमा छः
म ऐना हेर्दिनँ, किनकि म बाहिरी सुन्दरतालाई मान्दिनँ
मलाई दिइएको रुप र रंगमा म विधातालाई केही भन्दिनँ ।
२००६ मा पहिलो एल्बम ल्याएको आधारमा हेमन्तले करिअरको ११ वर्ष खर्चिसके । यति लामो अवधिमा उनले जम्माजम्मी ७० वटा गीत गाएका छन् । संख्या यति कम हुनुमा उनी गीत छनोटमा आफू निकै गम्भीर हुनुलाई कारक मान्छन् । राम्रो प्रस्ताव आउँदा पनि चित्त नबुझेर धेरै गीत छाडेको संकेत गर्दै उनी भन्छन्, ‘यो ११ वर्षको दौरानमा सयौं गीत गाएर त्यसमध्ये १०–१५ वटा हिट दिन सक्थेँ होला । तर अहिलेसम्म जम्मा ६०–७० वटा गीत गाएर मैले यति दिनु भनेको चाहिँ गीत छनोटले नै हो ।’
उसुको सपना टुट्दा संगीतमा
हेमन्तको जीवनमा संगीतमा जस्तो आरोह–अवरोह र सुर–बेसुर त्यति धेरै छैन । तर, संयोगको रागले भने उनको जीवनलाई झंकृत पार्दै आएको छ । उनी दाङमा जन्मिए । बर्दियामा हुर्किए । नेपालगन्जमा पढे । स्कूल–कलेजमा स्टेजमा पनि गीत गाउँथे । नेपालगन्जमा १२ पास गरेर काठमाडौं आए । तर, संगीतको सपना फक्राउन हैन । उनलाई अर्कै सपनाले मुक्का हानिरहेको थियो, त्यो हो उसु अर्थात् मार्सल आर्ट ।
स्कूल–कलेजमा गाउँदा साथीहरुले ‘मीठो गाउँछस्, गा न’ भनेर हौस्याउँथे । तर, उनलाई विश्वासै हुन्थेन । ती सबै हुटहुटीले पनि उनीभित्र संगीतमा लाग्ने प्रेरणा एकरत्ति जगाएनन् । किनभने उनको मन पहिल्यैदेखि खेलकुदप्रति एकोहोरिएको थियो । घरको पृष्ठभूमि त्यस्तै भएकोले बच्चैदेखि उसु खेलप्रति आकषिर्त थिए । दाइ पनि खेलकुदमै थिए । काठमाडौं आउँदा उनको सोच क्याम्पस पढ्ने छँदै थिएन । ‘म क्लोज क्याम्प उसु खेल्नकै लागि काठमाडौं आएको थिएँ । तर, मनमा त्यस्तरी गढेको सपना त्यत्तिकै मार्नुप¥यो’, उनले ती दिन सम्झिए ।
त्यो बेला देशको अवस्था सशस्त्र युद्धका कारण थिलथिलो थियो । राज्यको सम्पूर्ण ध्यान युद्धमा केन्द्रित भएकोले अरु क्षेत्र प्राथमिकतामै थिएनन् । झन् खेलकुद क्षेत्र त उपेक्षित जस्तै थियो । न बजेट, न योजना । तीन–चार वर्षसम्म नेपाली खेलाडीहरुलाई इन्टरनेशनल गेममा पठाउने अवस्थै रहेन । उनको सपना थियो, राष्टिूय झन्डालाई अन्तर्राष्ट्रिय क्षेत्रमा फहराउने । त्यस अनुसार उनले तयारी पनि गरेका थिए । तर, अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न पाउनु त परको कुरा, उनले भाग लिन समेत पाएनन् । ‘कोही खेलाडीले बाहिरको प्रतियोगितामा जाने इच्छा देखाए आफैं पैसा हालेर जानुपथ्र्यो, पैसा नहुनेहरु खुम्चिएर बस्थे’, यो अवस्थाले उनलाई दिक्क पा¥यो । खेलकुद क्षेत्रप्रति नै निराशा जाग्यो ।
२००२ मा उसुमा सिनियर नेसनल च्यापियनसिप बनेका यी खेलाडीलाई निर्णय लिन कुनै समय लागेन । उनले २००४ देखि खेल क्षेत्र पूरै छाडे । उसु २००४ देखि पूरै छोडेँ । अन्ततः सोच्दै नसोचेको संगीत नै उनको मूलबाटो भइदियो । काठमाडौंमै बीएड पढ्दै थिए । त्यो पढ्नुको उद्देश्य पनि एजुकेसन पढ्दा पास गर्न सजिलो हुन्न भन्ने थियो । निरज शाक्य भन्ने एक जना चिनजानका दाइ थिए । साथीहरुसँग बसिबियाँलो गर्दा हेमन्त यसो गुनगुनाउँथे । यस्तैमा एकदिन ती दाइले सुने । उनले तारिफ गर्न कञ्जुस्याइँ गरेनन्, ‘तिमी त राम्रो गाउँदो रै’छौ, ल है संगीतमै गर्नुपर्छ केही ।
बस्, त्यही ऊर्जाले तेलको काम ग¥यो ।
ब्यान्डको हातेमालो, सुफीको मादकता
खेलकुदपछि अलि पकड भएको क्षेत्र भएकोले संगीतमै उनी कस्सिए । त्यस क्रममा उनले २००४ मा पहिलो गीत ‘पाप(पुण्य’ रेकर्ड गराए । एल्बम भने त्यही नाममा दुई वर्षपछि निस्कियो । त्यसपछि संगीत नै भोक, संगीत नै प्यास भयो जीवनमा । हेमन्तले ६ जनालाई गोलबद्ध गर्दै ‘सिक्स्थ सेन्स’ नामको ब्यान्ड बनाएका थिए । उनीहरुले रेष्टुरेन्ट र पवहरुमा गाउन थाले । उनीहरु एक चोटिमा २५ देखि ३० वटा गीत लगातार गाउँथे । तर, थकानको नामै हुन्नथ्यो । लाइभ पर्फमेन्सले धेरै फाइदा भयो । उनले बताए,–‘लाइभ म्युजिकमा अडियन्ससँग आई टु आई कन्ट्याक्ट हुने भएकोले रेस्पोन्स तत्कालै पाइन्छ । एकपछि अर्को गीत गाउँदा कुन गीतमा कति सही गरेँ, कति गलत गरेँ भन्ने कुरा पनि आफूलाई थाहा हुन्छ । त्यसले आफ्नो गायकी तिखार्न मद्दत गर्छ ।’
त्यस क्रममा आर्थिक प्रतिफल मिल्ने कुरा त छँदै छ । पहिलो एल्बमबाट राम्रो प्रशंसा पाए पनि बजारमा राम्रो नचलेपछि उनीहरु पव कल्चरमा छिरेका थिए । २००७ देखि लगातार ६ वर्ष ब्यान्डले दरबारमार्ग, ठमेल र झम्सीखेलमा गायो । उनले आर्थिक समस्याका कारण त्यसरी गाएका थिएनन् । संगीतको प्यास मेटाउँदै पैसा पाउँदा डबल फाइदा भए जस्तै थियो । घरको आर्थिक अवस्था राम्रै थियो । बुवा राष्ट्रिय अनुसन्धानमा अधिकृत थिए । दाइ पेरिसमा र भाइ आयरल्यान्डमा जमेकै थिए ।
त्यस्तो अवस्थामा उनले बरु एक समय आफ्नै खुसीले संघर्ष रोजेका थिए, जसलाई उनी आफैंले सिर्जेको संघर्ष भन्छन् । जीवनमा परिवारको सहयोग नलिई काठमाडौंको जिन्दगी बाँच्न चाहे ।
उनले सम्झिए, ‘त्यो बेला संघर्ष टन्नै भयो । कहिलेकाहीँ गाडी चढ्न पैसा हुन्थेन । दिनहुँ ८÷१० किलोमिटर हिँडिन्थ्यो ।’ रेष्टुरेन्ट र पवमा उनी नुसरत फतेह अली खान, कैलाश खेर लगायतको गीत गाउँथे । ‘मलाई नुसरत फतेह अली खान मन पर्छ । सुफी लभर हो’, उनी खुलेर सुनाउँछन् ।
कस्तो भने, पछि ‘लैजा रे’ गीत ल्याएपछि हेमन्तको गायकीलाई कैलाश खेरसँग पनि जोडियो । कतिले खेरको कपी पनि भनिदिए । तर, उनलाई त्यसबेला खेर जस्तो घघडान कलाकारसँग आफूलाई तुलना गर्दा राम्रो लाग्यो । तर, पछि डर लाग्यो, ‘आफ्नो पहिचान गुमाउने हुँ कि ?’ उनी त्यसबेला परिचय बनाउने क्रममा थिए । त्यो अवस्थामा कसैबाट परिचय जोडिँदा किन नलिने भनेर स्वीकारे ।
‘तर एकदिन आफ्नै परिचय लिएर आउँछु भन्ने चाहिँ थियो’, अठोट त्यो बेलै रहेछ । उनलाई लाग्ने गरेको कैलाश खेरको ट्याग पछिल्लो समय हराइसकेको छ । नेपाली गायकहरुमा उनलाई भक्तराज आचार्य, नारायणगोपाल र दीप श्रेष्ठ । अहिलेको पुस्तामा धर्मेन्द्र सेवान र सन्तोष लामाको गायकी मन पर्छ । कम्पोजरमा कालीप्रसाद र कल्याण सिंहको फ्यान हुन् । उनी लाइभ म्युजिकमा रमाउँछन् । यसैले स्टेज कार्यक्रममा ब्यान्डकै साथमा गाउँछन् । ब्यान्डको नाम फेरेर अहिले ‘द इनर कोर’ राखेका छन् ।
अझै कम्मर कस्दै
‘साइँली’ गीतसँगै यो गीतको म्युजिक भिडियो पनि हेमन्तको लागि विशेष छ । किनकि यसको निर्देशन उनी आफैंले गरेका हुन् ।
म्युजिक भिडियो निर्देशनमा आउनु रहर कि बाध्यता ?
उनले पूरा तयारीसहित निर्देशनमा हात हालेका रहेछन् । भने, ‘गीत गाउँदा आफूले जे कुरा सोचेको हुन्थेँ, आफ्नो गीतको म्युजिक भिडियो बन्दा त्यो भिजन कहिल्यै पाउँथिनँ । त्यसैले अरुलाई दोष लगाउने ठाउँ दिनुभन्दा आफैं किन नगर्ने भनेर गरेको हुँ ।’
अमेरिकामा हलिउड नजिकै बसेका उनले निर्देशनको प्राविधिक पाटो पनि अनलाइनमा पढेका रहेछन् । म्युजिक भिडियो पनि आफ्नै कम्पनीबाट निकाले । तीन वर्षअघि कलाकार गौरव पहाडी र अरु साथीहरुसँग मिलेर जीएच इन्टरटेनमेन्ट कम्पनी स्थापना गरेका थिए । अब सोही कम्पनीबाट ‘साइँली’ नामकै फिल्म बनाउने घोषणा समेत भइसकेको छ ।
‘यसको लागि हामी छलफलको चरणमा छौं’, उनले सुनाए । कम्पनीको अग्रसरताले जीएच अर्थात् गौरव एन्ड हेमन्तको टोली पूरा तयारीसाथ मैदानमा ओर्लिएको छनक मिलेको छ । नयाँ एल्बमको ‘साइँली’ गीत मात्रै सार्वजनिक गरेका उनी अरु गीत पनि बिस्तारै सार्वजनिक गर्ने योजनामा छन् । अहिलेको समयमा एल्बम रिलिज गरेर बेच्ने अवस्था नभएकोले एउटा–एउटा गीत रिलिज गर्ने शैली अपनाएका छन् । उनले भने, ‘एल्बम रिलिज सुरु भइसक्यो र अब वर्ष्दिनसम्म हुन्छ भनेर बुझौं ।’
चुचुरोबाट झर्नुपर्छ
अक्सर मानिस सफलता पाएपछि त्यसलाई आफ्नो स्थायी सत्ता सम्झन थाल्छ र त्यसमा अलिकता भुइँचालो आउनासाथै निराश हुन थाल्छ । ‘साइँली’को लोकप्रियताबाट यतिबेला हेमन्त पनि सफलताको उँचाइमा छन् । उनलाई पनि यसरी नै यो उँचाइमा जमिरहन मन होला । तर, हैन । उनी जीवनका आरोह–आरोहसँग परिचित रहेछन् । ‘तपाईं सधैंभरि सगरमाथाको चुचुरोमा त बस्न सक्नुहुन्न । तल झर्नु पनि पर्छ । आरोह अवरोह आउँछ भनेर मानसिक रुपले तयार हुनुपर्छ’, उनले दार्श्निक लयमा जीवनको सत्य बोले । तर, उतारचढावलाई स्विकार्न सबै कलाकार मानसिक रुपमा तयार हुँदैनन् । फलस्वरुप कतिपय एक्लोपन महसुस गर्ने र डिप्रेसनमा जाने अवस्थामा पुग्छन् । लाइमलाइटमा रहँदा हजारौं मान्छेको साथ पाएर सधैं त्यसैमा रमाउने बानी बसाल्ने र चर्चा सेलाएपछि हिनताबोधको शिकार हुने । हेमन्त भने अर्को फेजको लागि हर समय तयार भएर बस्छन् । ‘अब साइँलीको रेकर्ड तोड्ने गीत लिएर मलाई रिप्लेस गर्ने अर्को मान्छे आउला’, उनी भन्छन्, ‘त्यसैले सधैं एउटै समय हुँदैन भनेर हामी तयार हुनुपर्छ ।’अहिले संगीतमा लागिरहेका नेपाली कलाकारको अवस्था राम्रो देख्छन् हेमन्त । महोत्सव, कर्पोरेट कार्यक्रम र विदेशका कार्यक्रम हरुले कलाकारको जीवन सहज बनाइदिएको उनले अनुभव गरेका छन् । उनी आफू पनि दुई दर्जन मुलुकमा पुगिसके । कति ठाउँमा दोर्होयाएर गए । एउटा कार्यक्रम गर्छु भन्दा प्रायोजन गर्नेहरु अघि सर्ने अवस्था छ । अहिले संगीतकर्मीहरुको गुजाराबारे उनको समीक्षा छ, ‘अहिलेका सबै कलाकारलाई म खुसी नै देख्छु । आफ्नो क्रिएटिभिटी देखाउनेहरुले संगीतकै कमाइबाट बाँच्न गाह्रो छैन ।’
Post a Comment