0
गोल्डेन न्यूज संवाददाता
स्थानीय तह पुनर्संरचना आयोगले देशभरीको स्थानीय तहको खाकालाई अन्तिम रुप दिएको छ । आईतबारको मन्त्री परिषद् बैठकले देशभर ७ सय ३८ वटा स्थानीय तह हुनेगरी आयोगले पेश गरेको प्रतिबेदनलाई अन्तिम रुप दिएको हो । पुनर्संरचनापछि कास्कीमा ५ वटा तह कायम भएका छन् । एक बर्षसम्मको अध्ययन र छलफल पछि जिल्लामा एउटा महानगरपालिका र ४ वटा गाउँपालिका बनाउने बिषयमा सहमती जुटेको छ । नयाँ संरचनामा पोखरा र लेखनाथ लाई एकैठाउँमा जोडेर पोखरा लेखनाथ महानगरपालिका बन्नेछ भने रुपा, मादी, माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिका हुनेछन् । स्थानीय तह पुनर्संरचना आयोग अन्तर्गतको जिल्ला प्राविधिक सहयोग समितिले यसअघि सिफारिस गरेका प्रतिवेदनलाई नै आधार मानेर आयोगले कास्कीको खाका टुंग्याएको हो । समितिले पठाएको सिफारिसमा केही परिमार्जन सहित जिल्लामा कायम रहने खाकालाई आयोगले सार्वजनिक गरिसकेको छ । नयाँ खाका अनुसार पोखरा लेखनाथ महानगरपालिकामा ३३ वटा वडा रहनेछन् । जसमा पोखराको १ देखि १० नम्बर वडा १२, १५ र १७ नम्बरका वडा साविकमै रहनेछन् । वडा नम्बर ११ साविकका ११ र २१ वडा गाभिएर बन्नेछ भने १३ र २२ गाभिएर १३, १४ र १८ गाभिएर १४ नम्बर वडा बन्नेछन् । नयाँ संरचनाको १६ नम्बर वडामा साविकका १६ र २८ गाभिनेछन् । हालको २६ नम्बर वडा सराङकोट १८ नम्बर, १९ नम्बर वडामा साविकको १९ र पुरुञ्चौर गाविस समायोजन हुनेछ । २० नम्बर वडामा पोखरा २० भलाम र मौजा गाविस पूरै मिसनेछ । यस्तै २१ मा साविकको २३ र २४, २२ मा पोखरा २५ पुम्दीभुम्दी, २३ मा चापाकोट र भदौरेतामागी गाविसको ३ देखि ९ नम्बर वडा, २४ मा कास्कीकोट गाविस, २५ मा यसअघि टुक्रिएका हेमजाका दुईवटा वडा रहनेछन् । बाँकी ८ वटा वडा लेखनाथमा परेको छ ।
लेखनाथमा हाल रहेका ३, ४ र ५ नम्बर वडा गाभिएर पोखरा लेखनाथ महानगरपालिकाको २६ नम्बर वडा कायम हुनेछ । २७ मा २, ६ र ७ गाभिनेछ भने २८ मा माझठाना गाविसको १ र ४ देखि ९ नम्बर वडा तथा कालिका गाविसको १ देखि ५ नम्बर वडा रहनेछन् । यस्तै २९ मा लेखनाथको वडा नम्बर १ भण्डारढिक, हालका ८ र १२ गाभिएर ३०, ९, १० र ११ गाभिएर ३१, १३, १४ र १५ वडा गाभिएर ३२ तथा साविकको भरतपोखरी गाविस तथा हाल लेखनाथ नगरपालिकाका १६, १७ र १८ नम्बर वडा एकैठाउँमा रहेर ३३ तथा अन्तिम वडाको रुपमा रहनेछ । आयोगले पोखरा लेखनाथ महानगरपालिकाको केन्द्र पोखरामा राख्ने गरी खाका बनाएको छ ।
रूपा गाउँपालिकामा साविकका थुम्की, सिद्ध, देउराली, रूपाकोट र हंसपुर १ देखि ४, ६, ७ र ९ नम्बर वडा रहनेछन् । रुपाकोट गाविसको कार्यालयमा केन्द्र रहनेगरी ७ वटा वडा यो गाउँपालिकामा कायम हुनेछ । यस्तै पार्चे, नामार्जुङ, थुमाकोडाँडा, कालिका गाविसको ६ देखि ९ नम्बर वडा, सिल्दजुरे, मिजुरेडाँडा, भाचोक, सैमराङ, माझठाना २ र ३ नम्बर वडा तथा हंसपुर गाविसको ५ र ८ नम्बर वडा समेटेर मादी गाउँपालिका बनाईएको छ । यसको केन्द्र थुमाकोडाँडा गाविसको कार्यालयमा हुने र १२ वटा वडा रहने आयोगले जनाएको छ ।
उता माछापुछ्रे गाउँपालिकामा माछापुच्छ्रे, सार्दिखोला, घाचोक, लाहाचोक, रिभान, धिताल, धम्पुस र ल्वाङघलेल गाविस समायोजन गरिएको छ । लाहाचोक गाविसको कार्यालयलाई केन्द्र तोकेर ९ वटा वडा माछापुच्छ«े गाउँपालिकामा रहनेछन् । यसैगरी, ढिकुरपोखरी, भदौरेतमागी गाविसको १ र २ नम्वर वडा, सल्यान, लुम्ले, दाङसिङ र घान्द्रुक गाविस समायोजन गरेर अन्नपुर्ण गाउँपालिकाको परिकल्पना गरिएको छ । यसमा ११ वटा वडा हुनेछन् भने लुम्ले गाविसको कार्यालयलाई गाउँपालिकाको केन्द्र तोकिएको छ । गाउँपालिकाका वडाहरु स्थानीय तह पुनर्संरचना आयोग जिल्ला प्राविधिक सहयोग समितिले सिफारिस गरेकै आधारमा कायम गरिएको छ । आयोगले कायम गरेको गाउँपालिकाका केन्द्रहरु वैज्ञानिक नभएको सरोवकारवालाहरु को गुनासो छ ।  उनीहरुले गाविसको कार्यालयलाई गाउँपालिकाको केन्द्र तोक्दा बढी असुविधा हुने भन्दै केही हेरफेर गरिदिन आग्रह गरेका छन् । तोकिएका केन्द्र मध्ये अन्नपूर्ण र मादी गाउँपालिकाको केन्द्र अलि बढी अस्वभाविक देखिएको जिल्ला स्थित प्राविधिक सहयोग समितिको भनाई छ ।

Post a Comment

 
Top