0
गोल्डेन न्यूज संवाददाता
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको नीतिविपरीत लाग्नेलाई कार्बाही गरिने चेतावनी दिएका छन् । कांग्रेसमा अनुशासनहिनता बढेको तर कार्बाही नहुँदा अन्तर्घात भइरहेको भन्दै उनले अब त्यसो गर्नेलाई नछाडिने बताएका हुन् । अनुशासन तोडे पनि कार्बाही नगर्ने चलनले आफ्नै उम्मेदवारलाई हराउने गरिएको छ,’ निर्वाचन केन्द्रित कांग्रेस पोखरा नगर सम्मेलनको बिहीबार उद्घाटन गर्दै देउवाले भने–‘अनुशासन बिना पार्टी अघि बढ्न सक्दैन । पार्टीको नीतिविपरीत कोही लागेमा कडा कारबाही हुनेछ । अबको निर्वाचनमा अनुशासन तोड्ने कामको अन्त्य हुनुपर्छ ।’ उनले एक ढिक्का भएर निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिए । अब तेरो र मेरो नभनि राम्रो अर्थात् जित्ने मान्छेलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने उनले बताए । जित्ने मान्छेको चयनमा सबैले सहयोग गर्नुपर्ने तर अन्तर्घात भने गर्न नहुने उनले बताए । सभापति देउवाले तेरो र मेरो मान्छे भनेर टिकट दिन थाल्यौँ भने स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई विजय प्राप्त गर्न कठिन हुने बताए । राणा, पञ्चायत फाल्ने कामको नेतृत्व कांग्रेसले गरेको गणतन्त्र, संघीयताको नेतृत्व पनि कांग्रेसले नै गरेकाले अब कांग्रेस हार्नु नहुने भन्दै उनले प्रजातन्त्रको सुदृढिकरणका लागि कांग्रेस अपरिहार्य रहेको बताए । अरु दलले आफू प्रजातान्त्रिक भने पनि त्यो रणनीतिकमात्रै रहेको उनको दाबी थियो। ‘जनताको अधिकार स्थापित गर्न कांग्रेसले जित्नै पर्छ,’ उनले भने ।  कार्यक्रमपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै देउवाले सीमाना कुरेर बसेका मधेसीको माग पूरा गर्नुपर्ने भएकाले संविधान संशोधनमा सघाउन एमालेसँग आग्रह गरे । मधेसका माग पूरा नगरी एमाले मधेशविरोधी किन बन्नु प¥यो भन्दै उनले हिमाल, पहाड र तराईबीचको दूरी तथा दुश्मन बढाउन नहुनेमा जोड दिए । सप्तरी घटना दुःखद् भन्दै उनले छानविन भइरहेकोले अहिल्यै केही नबोल्ने बताए । उनले काठमाडौँ महानगरपालिकापछि दोस्रो ठूलो पोखरा–लेखनाथ महानगरपालिका एक पर्यटकीय नगरी पनि भएकाले यहाँको पर्यटनको विकास गर्नुपर्नेमा जोड दिए। सो अवसरमा कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले संविधान संशोधन हुनै नदिने प्रतिपक्षी र आफूले भनेजस्तो सबै हुनुपर्ने मधेसी मोर्चा दुवैलाई अतिवादी सोच त्यागेर एउटा मिलनविन्दुमा आउन आग्रह गरे । उनले सबै राजनीतिक दल निर्वाध रुपमा आफ्ना विचार, नीति र कार्यक्रम लिएर देशका सबै ठाउँमा जाने वातावरण हुनुपर्नेमा जोड दिए । पार्टीका अर्का नेता गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री तारानाथ रानाभाटले स्थानीय तहको निर्वाचन स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा हुन दिन सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने बताए । नेविसंघका सभापति नैनसिंह महरले स्थानीय तहको निर्वाचन सकिएपछि रोकिएका क्याम्पसको स्ववियुको निर्वाचन आगामी जेठ महिनामा गराउन आफूले विशेष पहल गर्ने जानकारी गराए। कार्यक्रममा सांसद यज्ञबहादुर थापा, शारदा पौडेल र वृन्दादेवी राना लगायतले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने र यो वा त्यो बहानामा निर्वाचन बाट कोही पनि भाग्न नपाउने स्पष्ट पारे । पोखरा नगर समितिका सभापति वजिरमान श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर समितिका पूर्वसभापति र हालै स्ववियु निर्वाचनमा विजयी विद्यार्थी तथा नेपाल पत्रकार महासंघ कास्कीमा निर्वाचित प्रजातान्त्रिक पत्रकारलाई सम्मान गरिएको थियो ।

Post a Comment

 
Top