0
गोल्डेन न्यूज संवाददाता
सप्तरी गोली काण्डपछि नेकपा एमालेले प्रस्तावित प्रदेश नम्बर २ मा गर्ने भनिएको मेची महाकाली अभियानलाई स्थगित गरेको छ । तर, जिल्ला नेतृत्वको सल्लाहमा जिल्लास्तरीय भेला, सभा लगायतका कार्यक्रम आवश्यक्ता अनुसार गर्ने एमालेले जनाएको छ । पर्सादेखि सप्तरीसम्मको आठ जिल्ला अर्थात् प्रस्तावित यी २ नम्बर प्रदेशमा एक दिनमात्र मेची महाकाली अभियान भएको हो । मोर्चाको अवरोध र विकसित घटनाक्रमले एमाले अभियान गर्नबाट पछि हटेको हो । गत सोमबार (फागुन २३ मा) प्रदेश नम्बर २ मा एमालेको मेची–महाकाली अभियान प्रवेश गरेकै दिन मोर्चा र प्रहरीबीच झडप हुँदा चारजनाको मृत्यु भएको छ । कयौं घाइते छन् । त्यसै घटनालाई लिएर एमालेले अब एकैचोटि आउँदो २७ देखि हेटौंडाबाट मेची–काली अभियान सुरु गर्ने पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । २७ गते भने बाराको जितपुरमा कार्यक्रम तय गरिएको थियो । बारा र पर्साको संयुक्त तयारीमा गर्ने भनिएको अभियानको कार्यक्रम नगरी एकैचोटि हेटौंडा गरिने भएको हो । यसअघि रौतहटको गरुडामा फागुन २६ गतेलाई तय गरेको थियो । मोर्चाले समेत त्यही दिन त्यही ठाउँमा सभा गर्ने सार्वजनिक गरेको थियो । तर, सप्तरीमा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर चारजनाको मृत्युको घटना लिएर मोर्चाले प्रस्तावित २ नम्बर प्रदेशमा प्रदर्शन, बन्द हड्ताल, तोडफोड, आगजनीलाई तीव्र बनाएको छ । यता, प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधबार पाँचबुँदे ज्ञापनपत्र बुझाई सो पूरा नभए सात दिनपछि सरकारलाई दिइएको समर्थन स्वतः नरहने जानकारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चामा आबद्ध सात दलका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटी स्थानीय निर्वाचनका कार्यक्रम फिर्ता गरिनुपर्ने, संविधान संशोधन गरी आफूले उठाउँदै आएको मुद्दा सम्बोधन गर्नुपर्ने, स्थानीय तहका संरचनालाई प्रदेशको क्षेत्राधिकार भित्र राखिनुपर्ने तथा सरकार गठन गर्दा भएको तीनबुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने माग गरेको छ । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सप्तरीमा अस्ति भएको घटनामा मारिएकालाई सहिद घोषणा गरी क्षतिपूर्ति दिनुपर्ने र घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरिनुपर्ने मागसमेत राखिएको बताए । 

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मोर्चाका मागहरु प्राप्त भएको र सो सम्बन्धमा प्रधानमन्त्रीले सत्ता गठनबन्धन र अन्य दलसँग छलफल गरेर सम्बोधनको पहल गर्ने विश्वास दिलाउनुभएको जानकारी दिए ।  यसैबीच सप्तरीको राजविराज घटना प्रहरीको गोली लागेर घाइते भएका एकजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै बुधबार बिहान मृत्यु भएको छ । प्रतिष्ठानस्थित प्रहरी पोष्टका अनुसार सप्तरीको मलेठ(२ बस्ने ३८ वर्षीय वीरेन्द्र कुमार महतोको सघन उपचार कक्ष आइसियुमा उपचार गर्दा गर्दै मृत्यु भएको हो । उनको टाउकोमा गोली लागेको थियो । महतोसहित राजविराज घटनामा  मृत्यु हुनेको संख्या चार पुगेको छ । अर्का एकजनाको पनि सघन उपचार कक्षमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top