0
गोल्डेन न्यूज संवाददाता
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालय कास्की भने आन्तरिक तयारीमा जुटेको छ । आगामी वैशाख ३१ गतेको निर्वाचनका लागि कार्यालयले जनशक्तिको प्रारम्भिक अनुमान सुरु गरेको छ । निर्वाचनका लागि आवश्यक कर्मचारीका लागि सरकारी कार्यालय, संस्थान, संस्था र सामुदायिक विद्यालयका शिक्षकको नाम सङ्कलन गर्न सुरु गरेको कार्यालयका प्रमुख गङ्गालाल सुवेदीले बताए । स्थानीय तह पुनःसंरचना आयोगले दिएको प्रतिवेदन निर्वाचन आयोगलाई प्राप्त नभइसकेकाले जिल्लामा के कति मतदान केन्द्र रहने भन्ने निक्र्यौल भइनसके पनि यसको पूर्वतयारीका लागि कार्यालय लागिरहेको प्रमुख सुवेदीले जानकारी दिए। 

मतदातालाई  मतपत्रबारे जानकारी गराई निर्वाचनमा बदर मतको सङ्ख्या न्यून बनाउन मतदाता शिक्षाका लागि सबै नगरपालिका, गाउँपालिका र वडामा स्वयम्सेवक पठाउन पनि आन्तरिक तयारी सुरु गरेको छ ।
स्थानीय तह पुनःसंरचना  आयोगले पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकालाई समेटेर पोखरा–लेखनाथ महानगरपालिका तथा जिल्लाका ३२ वटा गाविसलाई समेटेर रुपा, मादी, माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिका बनाउन सिफारिश गरेको छ । कार्यालयले गत पुस १० देखि माघ १५ गतेसम्म सबै नगरपालिका र गाविसमा मतदाता नामावली सङ्कलन टोली खटाई चारहजार तीनसय ८५ नयाँ मतदाताको नाम सङ्कलन गरिसकेको छ भने निर्वाचनका लागि विभिन्न २३ दलले नाम दर्ता गराएका छन् ।  चार निर्वाचन क्षेत्र रहेको कास्कीमा मतदाताको सङ्ख्या दुई लाख २७ हजार पाँचसय चार रहेको छ ।

Post a Comment

 
Top