0
गोल्डेन न्यूज संवाददाता
ढिकुरपोखरी गाविसका जनताले आफूहरु महानगरवासी हुन चाहेको बताएका छन् । राज्यपुनर्संरचनाको खाका अनुसार गाविसवासीले सेवाग्रहण गर्दा अपायक पर्ने र थुपै्र झन्झट बेहोर्नुपर्ने भन्दै गाविसवासीले महानगरवासी बन्न चाहेको बताएका हुन् । हालको खाका अनुसार ढिकुरपोखरी गाविसलाई अन्नपुर्ण गाँउपालिकामा राखिएको छ । जसको केन्द्र साविक लुम्ले गाविस कार्यालय तोकिएको छ । केन्द्र रहेको लुम्ले गाविसको साविक कार्यालय अधिकांश गाविसवासीका लागि अपायक देखिएको भन्दै सोमबारदेखि ढिकुरपोखरीवासी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमवारदेखि नै पोखरा–बाग्लुङ राजमार्ग बन्द गर्न थालेका छन् । जसअन्र्तगत सोमबार राजमार्गको नागडाँडा खण्डमा १ घण्टा चक्काजाम गरिएको थियो भने मंगलवार सोही स्थानमा मध्यान्ह १२ बजेदेखि २ बजेसम्म २ घण्टा चक्काजाम गरिएको छ । चक्काजामका कारण सयौं यात्रुहरु भने मर्कामा परेका छन् ।
यसैविषयमा सोमबार ढिकुरपोखरी गाविसको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकले गाविसलाई पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ३४ कायम गर्नुपर्ने एक सूत्रीय निर्णय गरेको नेकपा एमाले ढिकुरपोखरी गाँउ कमिटीका अध्यक्ष केदारनाथ अधिकारीले बताए । उनले ढिकुरपोखरीलाई पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ३४ कायम नभएसम्म संघर्षका कार्यक्रमहरु गर्दै जाने पनि बताएका छन् । गाविसबासी पुनर्सरचनाको खाकाले आफूहरुलाई ठूलो पीडा दिएको ठहर गर्दै संघर्षमा उत्र्रन थालेका छन् । उनीहरुले संघर्ष समिति नै गठन गरेका छन् । समितिले यहि चैत ७ गतेसम्म दैनिक २ घण्टाका दरले पोखरा–बाग्लुङ राजमार्ग बन्द गर्ने निर्णय गरेकोे संयोजक चुडामणि अधिकारीले बताएका छन् । यति गर्दापनि मागको सुनुवाई नभए यहि चैत ८ गतेबाट अनिश्चितकालिन ढिकुरपोखरी बन्दको आयोजना गरिएको उनले बताए । 
यता गाविस कार्यालय सोमबारदेखि नै अनिश्चितकालिन रुपमा बन्द गरिएको छ । गाविसवासीले आफूहरुका जायज मागमा कुनै बहाना देखाई आलटाल एवं ढिलासुस्ती गरिए कडा संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन् ।
यसैबीच राज्यपुनर्संरचनामा साविकको पोखरा उप–महानगरपालिका र लेखनाथ नगरपालिकालाई गाभेर बनाइएको पोखरा लेखनाथ महानगरपालिका कार्यान्वयनमा आएसँगै नामको बिषयमा ब्यापक बहस सुरु भएको छ । महानगरको नाम पोखरा मात्रै उपयुक्त हुने तर्क अधिकांशले गरेका छन् भने कतिपयले लेखनाथको अस्तित्व कायम राख्नुपर्ने तर्क गरेका छन् । तत्कालिन समयमा राज्य पुनर्संरचना अन्तर्गत स्थानीय तह जिल्ला प्राविधिक समितिले गरेको सिफारिशका आधारमा महानगरपालिकाको नाम तय भएको हो । समितिले पोखरा र लेखनाथका सबै राजनीतिक दलसँग छलफल गरी सुरुमा पोखरा महानगरपालिका सिफारिस गरेकोमा दोस्रो पटक पोखरा र लेखनाथ छुट्टा–छुटै नै नाम सिफरिस गरेको थियो । अन्तमा पोखरा र लेखनाथलाई जोडेर सिफारिस गरिएको पोखरा लेखनाथ महानगरपालिकाको नामनै कार्यन्वयनमा आएको हो ।
पोखरा लेखनाथ महानगरपालिकाको नामबाट सोमबारदेखि औपचारिक सेवा शुभारम्भ समेत भएको छ । विशेष गरी सामाजिक सञ्जालमा पोखरा लेखनाथ भन्दा पनि पोखरा महानगरपालिका नामाकरण गर्न उपयुक्त हुने तर्क धेरैले गरेका छन् । कतिपयले लेखनाथको अस्तित्वलाई कायम राख्नुपर्ने तर्क समेत गरेका छन् । लेखनाथवासीले समेत पोखरा महानगरपालिका नामाकरण उपयुक्त धारणा राखेका छन् । कतिपयले महानगरको नाम पोखरा राख्ने र अन्तर्राष्ट्रिय विमानस्थल लेखनाथको नाममा राख्दा पनि हुने तर्क प्रस्तुत गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा पोखरा महानगरपालिका नाममा जनमत बटुल्ने प्रयास धेरैले गरिरहेका छन्। अहिले कार्यान्वयनमा आएको पोखरा लेखनाथ महानगरपालिका को नाम परिवर्तन गर्न आगामी नगर निर्वाचन भन्दा अघि सम्भव छैन । नाम परिवर्तन गर्न चाँहेमा आगामी निर्वाचनमार्फत चुनिने जनप्रतिनिधिमार्फत हुने नगरपरिषद्बाट पारित गराई केन्द्रमा सिफारिस गर्नुपर्ने प्रावधान छ । महानगरपालिकाको आगामी पहिलो नगरपरिषद्मार्फत नाम परिवर्तनका लागि निर्णय गराएमा भने यसको नाम जनभावना अनुसार हुने जानकारहरु बताउछन् ।
पोखरा लेखनाथ महानगर पालिकाको रुपमा सोमबार नै शुभारम्भ गरि कार्य प्रारम्भ भइसकेको छ । शुभारम्भ कार्यक्रममा महानगरका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले कर्मचारीहरुलाई महानगर पालिकाको रुपमा कार्य गर्न निर्देशन दिँदै पोखरा लेखनाथ महानगरपालिकाको शुभारम्भ गरेका हुन् । शुभारम्भका अवसरमा महानगरपालिकाले ३३ वटै वडाका वडा सचिवहरुको टुङ्गो समेत लगाएको छ । अन्य कर्मचारीहरुको व्यवस्थापन, वडा केन्द्रको टुङ्गोलगायतका विषय क्रमिक व्यवस्थापन गर्ने गरि पहिलो चरणमा वडा सचिवहरुलाई खटाइएको कार्यकारी अधिकृत ढुङ्गानाले जानकारी दिए ।



Post a Comment

 
Top