0
गोल्डेन न्यूज संवाददाता
पोखरा सृजनाचोककी तारा गुरुङ र चाउथेका किरण परियारका अभिभावकले उनीहरूको प्रेमलाई हार्दिकतापूर्वक स्वीकार गरी धुमधामका साथ विवाह गराइदिएका छन् । तारा पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर पढ्दै छिन् भने किरण ट्राभल एजेन्सी चलाउँछन् । विन्ध्यवासिनी मन्दिरमा हिन्दू परम्पराअनुसार अन्तर्जातीय विवाह चलिरहँदा सहभागीहरू खुशी व्यक्त गरिरहेका थिए । माइती पक्षले ५० जना जन्तीलाई धुमधामसँग स्वागत गरेका थिए । दाइजो पूर्ण निषेधित थियो । विवाहमा सहभागी पूर्वसभासद् राजकाजी गुरुङ कुरीतिविरुद्व ताराका अभिभावकले ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै बेहुला–बेहुलीलाई सफल दाम्पत्य जीवनको शुभकामना दिए । अन्तर्जातीय जोडीहरू भागेर विवाह गर्न बाध्य हुन्थे, तर यहाँ त ज्वाइँको गोडा धोएर, जन्ती बोलाएर भोज खुवाएर विवाह भएको छ,’ उनले भने, ‘उदाहरणीय यो विवाहलाई समाजले सम्मान गर्दै अरूले समेत अनुसरण गरे मात्रै समाज परिवर्तन सम्भव छ ।’ किरणका बुबा रामबहादुर परियार छोराको प्रेम सफल भएकोमा दंग थिए । ‘हाम्रो एउटै छोरा हो, उसले भागेर होइन मागेर गर्छु भन्दा हामीले पत्याएकै थिएनौँ,’ उनले भने, ‘तर, केटी पक्षकाले मायाप्रीतिमा जातभातको कुरा गरेर तगारो बन्नुहुदैन भनेपछि विश्वास लाग्यो । आज धुमधामसँग विवाह भयो ।’ नौ वर्षदेखि प्रेमसम्बन्धमा रहेका तारा र किरण दुवै २७ वर्षका छन् । दुवैले आफ्नो प्रेमबारे आ–आफ्नो परिवारमा कुरा राखेपछि अभिभावकले सहर्ष स्वीकार गरेका थिए । समाज परिवर्तनका लागि आफैँले व्यवहारमा सुरुवात गर्नुपर्छ भनेर छोरीको अन्तर्जातीय विवाह गरिदिएको ताराकी आमा कृष्णकुमारीले बताइन् । ‘हामीले हाम्री छोरीलाई राम्रो शिक्षा दिएका थियौँ, त्यसैले उनले जात होइन योग्य जोडी रोजिन्,’ उनले भनिन्, ‘समाजमा जातीय छुवाछूतले जरा गाडेको छ, हामीजस्तै अभिभावक मिलेर यसलाई हटाउनुपर्छ । मान्छे सबै एकै हो ।’

Post a Comment

 
Top