0
गोल्डेन न्यूज संवाददाता
आठांै हेमजा आलु महोत्सवमा दर्शकको संख्या बढ्दो छ। बुधबार बिदा परेको कारण पनि दर्शक वढेको आयोजकले जनाएको छ। ‘महोत्सवलाई विस्तारै दर्शकको साथ बढ्दै गएको छ’–विष्णु पादुका क्लबका अध्यक्ष रमेश कार्कीले भने–‘यहाँहरुको साथले महोत्सव सफल हुने हामीले अपेक्षा गरेका छौ।’ महोत्सवको दिनसम्म १८ हजार दर्शकले अवलोकन गरेको कार्कीले जानकारी दिए। महोत्सवको तेस्रो दिनसम्मभित्र बाहिर गरी करिब ३० लाखको आलुको कारोबार भएको मूलआयोजक समितिका कोषाध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिए। माटोको उर्वराशक्ति र माटोको दिगोपना कायम राखी कृषकलाई माटोको प्राविधिक ज्ञान दिने उद्देश्यले महोत्सव स्थलामा माटो परीक्षण राखिएको थियो। महोत्सवमा थप आकर्षण लागि बिहीबारदेखि कन्सर्ट पनि राखिएको मूलआयोजक समितिका संयोजक ज्ञानु थापाले जानकारी दिए। उनका अनुसार महोत्सवमा नवीन के भट्टराईको व्याण्ड, दीपक बज्राचार्यको व्याण्ड, नेचर व्याण्ड चितवन र स्याडोज व्याण्ड बुटवलको प्रस्तुति रहने छ। बुधबार लोकदोहोरीतर्फ राजु परियार, जीवन दाहाल, ज्ञानेश्वर सुवेदी, नीशा पोख्रेल दिलु लामा, रमा रनामगर प्रस्तुति रहेको थियो भने हाँस्यतर्फ लक्ष्मण ढुंगाना र लवकुशको दर्शकलाई हसाएका थिए। बिहीबार रामजी खाँण तारापति सुवेदी, मिना अधिकारी, सुरेन्द्र गुरुङ, सीता केसी, मायाँ गुरुङ र हास्य तर्फ सुरज भिरखोइरेको प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक परशुराम अधिकारीले जानकारी दिए।
महोत्सवमा कृषि कविता प्रतियोगित भएको थियो। प्रतियोगिताको निर्णायकमा कृष्णप्रसाद पौडेल, डा. रविलाल अधिकारी, सूर्य खड्का विखर्ची रहेका थिए। ‘सुन्दर ठाँउ हेमजा जाऔं आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ सञ्चालन भएको महोत्सव चैत १ गतेसम्म हुनेछ।
महोत्सव जान आउन राति ९ बजेसम्म बस सुविधा मिलाइएको यातायात व्यवस्थापन उपसमिति संयोजक मेघराज त्रिपाठीले जानकारी दिए। महोत्सवमा प्लाष्टिक झोला र गिलास निषेधित गरिएको छ। शान्तिसुरक्षा मध्येनजर गरी ड्रोन क्यामरा जडान गरिएको छ। समग्र यस क्षेत्रको कृषि, पर्यटन, व्यवसाय, संस्कृति, साहित्य, खेलकुदलगायत प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
महोत्सवको आकर्षण आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शनी, आलुको ठूलो पहाड, आलुका विभिन्न परिकार, ताजा तरकारी प्रदर्शन, बालउद्यान, विविध सांस्कृतिक कार्यक्रम, नृत्य  प्रतियोगिता, चर्चित हाँस्य कलाकारको बेजोड प्रस्तुति, जापानीज सुन्तला, च्याउ, कफी चियाको बिक्री एवं प्रदर्शनी रहेको छ। महोत्सवमा १५ प्रकारका आलुका परिकार रहेको रेष्टुरेण्ट व्यवस्थापन उपसमिति संयोजक विजय थापाले जानकारी दिए।

Post a Comment

 
Top