0
हरि पन्त÷गोल्डेन
स्थानीय तह पुनर्संरचना पछि पोखरा देश कै ठूलो सहर बनेको छ । पोखरा उप–महानगरपालिका, लेखनाथ नगरपालिका र केही गाविस समेटेर बनेको पोखरा लेखनाथ महानगरपालिका देश कै ठूलो सहर बनेको हो । क्षेत्रफलका आधारमा काठमाडांै, ललितपुर र भरतपुर महानगरपालिकालाई पछि पार्दै पोखरा ठूलो सहर बनेको हो । जनसंख्याका आधारमा भने काठमाडौ अगाडि रहेको छ । पोखरालेखनाथ महानगरपालिकाको क्षेत्रफल ४६४ दशमलव २४ वर्ग्किमि छ भने भरतपुर महानगर पालिकाको ४३२ दशमलव ९५ वर्गकिमि रहेको छ ।
यसैगरी काठमाडौंको क्षेत्रफल ४९ दशमलव ४५ र ललितपुर महानगर पालिकाको ३६ दशमलव १२ वर्गकिमि रहेको छ । जनसंख्यामा काठमाडौंको ९ लाख ७५ हजार ४५३, पोखराको ४ लाख १४ हजार १४१, ललितपुरको २ लाख ८४ हजार ९२२ र भरतपुरको २ लाख ८० हजार ५०२ रहेको छ । महानगरको वडामा पनि पोखराको सबै भन्दा बढि ३३ रहको छ । त्यसैगरि काठमाडौंको ३२, ललितपुर र भक्तपुरमा २९ र २९ वटा रहेका छन् । मन्त्रिपरिषदको फागुन २२ को निर्णय फागुन २७ मा राजपत्रमा प्रकाशित भएपछि स्थानीय तह ४ महानगरसहित ७ सय ४४ स्थानीय तहको कार्यान्वयन भएको छ । कास्कीमा १ महानगरपालिका र ४ वटा गाउँपालिका छन् । कास्कीमा पोखरा लेखनाथ महानगरपालिका, रुपा, मादी, माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिका बनेका छन् । पोखरा लेखनाथ महानगरपालिकामा पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, कास्कीकोट र पुरन्चौर गाविस, भदौरे तामागीका (३,९), माझठानाका (१,४–९), कालिकाका (१–५) नम्बर वडा समेटिएका छन् ।
यसैबीच पोखरा लेखनाथ महानगरपालिका भएपछि पोखरा र लेखनाथवासीले महानगरपालिकाको नाममा असन्तुष्टि जनाएका छन् । असन्तुष्टि जनाउनेहरुले पोखरा लेखनाथ नाम अप्ठ्यारो भएको भन्दै नाम पोखरा महानगरपालिका बनाउनुपर्नेमा जोड दिएका छन् ।
असन्तुष्टि जनाउनेहरुमा पत्रकार, उद्योगी, व्यवसायी लगायत रहेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत लेखनाथमा क्रियाशील पत्रकार भीमपाणि बरालले भनेका छन्–‘पोखरा लेखनाथ महानगरपालिका नभनि पोखरा महानगरपालिका मात्र भन्दा कस्तो होला ?’ बरालको फेसबुक स्टाटसमा प्रतिक्रिया दिने अधिकांशले महानगरपालिकाको नाम पोखरा नै हुनुपर्नेमा जोड दिएका छन् । प्रतिक्रिया दिनेहरुमध्ये कतिपयले  लेखनाथको पहिचान समेत झल्कने गरि राखिएको नाम ठीक रहेको बताएका छन् । बरालको स्टाटसमा प्रतिक्रिया जनाउँदै पोखरावासी नरेन्द्र बाँस्तोला रीता भन्छन्–‘यो पोखरा लेखनाथ नाम कहाँबाट आयो आयो । पोखरा मात्र राख्नु पर्छ ।’ आशंका गर्दै उनी थप्छन्–‘लेखनाथकालाई दोषमात्र लगाईएको  हो । लेखनाथका व्यक्ति वा संघ–संस्थाहरुले भनेका हैनन्, कर्मचारीहरुले भनेका हुन सक्छन् ।’ ‘केहि व्यक्तिहरुले अस्तित्वको कुरा गरेका हुन् तर तिनीहरुलाई कस्तो पहिचान हो ? के पोखराको पहिचान छैन र ? त्यसो भए पहिला गाविस गाभिएर लेखनाथ हुँदा शिशुवाको पहिचान कहाँ गयो नि ? बेगनास को पहिचान नि ?’–उनी प्रश्न गर्दछन् । 
‘सबैको पहिचान चाहिने भए त पोखरा, कालिका, रूपा, लेखनाथ पुम्दी, कृष्ती, निर्मलपोखरी भरतपोखरी, काँहु, आर्वा, हेम्जा माझठाना, महानगरपालिका भन्नांै न भनेपछि तिनीहरु पनि मानेको अवस्था हो’–उनले भने । यस्तै उपेन्द्र बरालले पनि पोखरा मात्रै हुनु असाध्यै राम्रो हुने प्रतिक्रिया दिएका छन् । उनले भने–‘मलाई मात्र यो नाम अड लागेको हो की भनेको अरुपनि धेरै यस्ता साथीहरु भेटिए जस्लाई यो नाम चित्त बुझेको रहेनछ ।’
सांसद यज्ञबहादुर थापाले पोखरा लेखनाथ महानगरपालिका को नाम लेकसिटी महानगरपालिका राख्नुपर्नेमा जोड दिएका छन् । उनले अस्तित्वको नाममा सिंग र पुच्छर झुण्ड्याउने काम गर्न नहुने बताएका छन् । 
माओवादी केन्द्र कास्कीका नेता झलकपाणि तिवारीले पनि महानगरपालिकाको नाम पोखरा मात्र भन्दा हुने भन्दै पोखरा लेखनाथ अस्थायी भएकोले अन्ततः पोखरा मात्र रहने निश्चित रहेको दावी गरे ।
यसैगरी नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य कमल पौडेल अथकले पनि महानगर पालिकाको नामप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लख्दै उनले भनेका छन्–‘भन्नी नै पोखरा महानगरपालिका हो । किन लेखनाथ थप्न परो ? । पोखरा भनेपछि सबै बुझिन्छ प्रभो । नरिसाम्नुस् है आफू त खरो फलाम जस्तो परियो केरे ।’
पौडेलको फेसबुक स्टाटसमा  प्रतिक्रिया जनाउँदै पत्रकार चन्द्र बस्ताकोटीले पोखरा लेखनाथ महानगरपालिका नसुहाएको र कि कास्की महानगरपालिका कि कश्यप महानगरपालिका राख्न सुझाव दिएका छन् । यस्तै पत्रकार ऋषिकान्त पौडेलले नाम यथावत राख्न सुझाव दिएका छन् । उनले भने–‘जे होस हुनु भैसक्यो, अब कि लेखनाथ महानगरपालिका नाम राखु कि पोखरा महानगरपालिका नै राखु ।’
यसैबीच नेपाली कांग्रेस मादी गाउँपालिका अन्तर्गतका  विभिन्न इकाइहरुले मादी गाउँ पालिकाको केन्द्र अब्यवहारिक एवं सुविधाजनक नभएको भन्दै सच्याउउन माग गरेका छन् । नेपाली कांग्रेस जिल्ला सभापति कृष्ण केसी, क्षेत्रीय सभापति बृजमान गुरुङ, जिल्ला सदस्य ओमप्रकाश गुरुङ, नेविसघ केन्द्रीय सदस्य भानुभक्त ढकाल, नेविसघ क्षेत्रीय सभापति भोज बहादुर गुरुङ लगायतको विशेष उपस्थिति र मादी गाउँपालिकाका इकाइ सभापतिहरु एवं कार्यकर्ताहरुको भेलाले स्थानीय तह पुनर्संरचना आयोगले तोकिएको केन्द्र अब्यवहारिकसंगै जनताले दुःख पाउने भएकोले पुनर्विचार गर्न माग गरेका हुन् ।
भेलाले पार्चे गाविस जनसंख्या र भौगोलिक रुपमा ठूलो भएर पनि आयोगले एउटै वडा बनाई स्थानीयलाई सेवा सुबिधाबाट बञ्चित हुने काम गरेको भन्दै पार्चे गाविसलाई दुईवटा गर्न समेत माग गरेको छ । पार्चे गाविस वडा नम्बर १ देखि ४ र ५ देखि ९ गरि दुईवटा वडामा विभाजन गर्न भेलाले माग गरेको हो । 
भेलाले चैत्रको पहिलो हप्ता सिक्लेसमा मादी गाउँपालिका अन्तर्गतका कांग्रेस इकाइ पदाधिकारीहरुको बैठक बसि स्थानीय चुनावको तयारी र रणनीतिबारे छलफल गरिने पार्चे ईकाइका क्षेत्रीय प्रतिनिधि देबीजंग गुरुङले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए।

Post a Comment

 
Top