0
गोल्डेन न्यूज संवाददाता
रङ्गमञ्चको सम्भावना बोकेको पोखरामा एकपछि अर्को थिएटर बन्न लागेको छ । युथ क्रियशनको थियटर निर्माण अन्तिम चरणमा पुगेको बेला पञ्चामृत नाट्य समूह पोखराको थियटर पनि शिलान्यास भएको छ । विश्व रंगमञ्च दिवसको अवसर पारि सोमबार थियटरको शिलान्यास गरिएको हो । थियटरको कास्कीबाट संसदमा प्रतिनिधित्व गर्ने सांंसदहरु ले संयुक्तरुपमा शिलान्यास गरे । सांसद एवं संंसद विकास समितिका सभापति रवीन्द्र अधिकारी, सांसदद्वय शारदा पौडेल र तेज कुमारी पौडेलले थियटरको शिलान्यास गरेका हुन् ।  कार्यक्रममा बोल्दै सांसद अधिकारीले नाट्य क्षेत्रलाई ब्यवसायिक बनाउनु पर्नेमा जोड दिए। उनले थियटरको पूर्वाधारको अभावमा पोखरामा नाटक क्षेत्र ब्यवसायिक बन्न नसकेको भन्दै पोखरामा थियटर निर्माणपछि नाटकले निरन्तरता पाउने र रङ्गक्षेत्र जाग्ने सङ्केत भएको बताए ।  सांसद शारदा पौडेलले पोखरालाई नाटकको शहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिइन । उनले नाटक र नाट्य क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन । अर्की सांसद तेजकुमारी पौडेलले कलालाई सम्मान गर्नु राज्यको प्रमुख दायित्व भएको भन्दै निरन्तरता र ब्यवसायिकता कला क्षेत्रको मेरुदण्ड भएको बताइन ।
कार्यक्रममा अग्रज रंगकर्मी प्रकट पंगेनी, रंगकर्मी हेमन्त पराजुली “हितैषी”, जग्गा धनी शंकरनाथ कोइराला, नेपाल नाट्य समूहका अध्यक्ष किशोर अनुरागी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  पोखरा लेखनाथ महानगरपालिकाको गैह्रापाटन स्थित सवा एक रोपनी क्षेत्रफलको जग्गामा निर्माण हुने थियटरको लागत करिब ५० लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।  आयोजक पञ्चामृत नाट्य समूहका अध्यक्ष परिवर्तन कार्कीका अनुसार थियटर निर्माणका लागि नाट्य समूह र जग्गा धनी शंकरनाथ कोइराला बीच मासिक १५ हजार रुपैयाँ भाडा तिर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार समूहले १० बर्षसम्म जग्गा प्रयोग गर्न पाउनेछ । परिवर्तनका अनुसार सुविधा सम्पन्न अत्याधुनिक  थियटरबाट एकै पटक २०० जनाले नाटकको मज्जा लिन सक्नेछन् । थियटरमा १०० भन्दा बढी मोटरसाइकल र गाडीका लागि समेत पार्किङ स्थल निर्माण गरिने छ । थियटरलाई बहुउद्देश्यीय हलको रुपमा पनि प्रयोग गर्न सकिने परिवर्तनको विश्वास छ । थियटर साउनसम्ममा संंचालनमा ल्याउने लक्ष्य राखिएको छ । थियटरमा दिलप्रसाद गुरुङ, बिष्णु प्रसाद गौतम र परिवर्तनको संयुक्त लगानी रहने बताइन्छ । यसैबीच थियटर शिलान्यासको अवसरमा पत्रकार राजाराम पौडेल र रंगकर्र्मी हेमन्त हितैषीलाई सम्मान गरिएको छ । विशेषगरि रङ्गक्षेत्रमा कलम चलाउँदै आएका पत्रकार पौडेल पोखराको सुनौलो एफएम र कान्तिपुर पव्लिकेशनमा आवद्ध छन् । उनी चलचित्र पत्रकार संघ कास्कीका उपाध्यक्ष समेत हुन् । त्यसैगरी अग्रज रंगकर्र्मी हितैषी लामो समयदेखि रङ्ग क्षेत्रका साथै साहित्यमा समेत सक्रिय रहँदै आएका छन् । पत्रकार पौडेल करिब डेढ दशकदेखि पत्रकारितामा र हितैषी ३ दशकदेखि रंगक्षेत्रमा सक्रिय छन् ।  पञ्चामृत नाट्य समूहले प्रत्येक बर्षको विश्व रंगमञ्च दिवसको अवसरमा रंगक्षेत्रमा सक्रिय पत्रकार र रंगकर्मीलाई सम्मान गरिने अध्यक्ष परिवर्तनले जानकारी दिए ।









Post a Comment

 
Top