0
गोल्डेन न्यूज संवाददाता
सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने  घोषणा गरेपछि विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुले आफू उम्मेदवार बन्ने चर्चा चलाउन थालेका छन् । केहीले व्यक्तिगत भेटघाट र केहीले आफ्ना शुभचिन्तक र समर्थक कार्यकर्ता मार्फत आफ्नो आकांक्षाका बारेमा चर्चा चलाइरहेका छन् । विशेषगरि पोखरा र आसपासका क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले उम्मेदवारीका बारेमा चर्चा गरिरहेका छन् ।  पोखरा उप–महानगरपालिका र लेखनाथ नगरपालिकासहित अन्य केही गाविस मिलाएर पोखरा लेखनाथ महानगरपालिका बनाइएपनि महानगरको मेयर को बन्ने भन्ने चर्चाले व्यापकता पाएको छ । धेरै दलका धेरै आकांक्षी भएपनि पार्टीले कसलाई उम्मेदवार बनाउछ भन्ने एकिन नभइसकेकोले सबैले आफ्नो आकांक्षा सार्वजनिक गर्ने अवसर पाइरहेका छन् ।  यसैक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३१ का नन्द प्रसाद तिवारीले आफू नेपाली कांग्रेसको तर्फबाट महानगरको मेयरको उम्मेदवारको आकांक्षी रहेको भनि पत्रकार भेटघाट कार्यक्रम गरेर जानकारी गराए ।  आगामी निर्वाचनको विषयलाई लिएर पत्रकार भेटघाट कार्यक्रम गरि आफ्नो उम्मेदवारीको चाहना प्रकट गर्ने तिवारी सम्भवतः नेपालमैै पहिलो व्यक्ति हुन् । नेपाली कांग्रेस कास्कीका पूर्व सचिव रहेका तिवारीले कांग्रेसमा रहँदा २०४२, २०४६ र २०६२÷०६३ को जनआन्दोलनमा पटक–पटक गिरफ्तार भइ जेल बसेको र हरेक आन्दोलन र निर्वाचन कार्यक्रममा कांग्रेसको तर्फबाट निरन्तर सक्रिय रहँदै आएको उनले बताए। 

पोखरा लेखनाथ महानगरमा विद्यमान विभिन्न समस्या र आफ्ना केही योजना लिएर पत्रकार सामू प्रस्तुत भएका तिवारीले आफू मेयर बनेमा कुनै सरकारी सुविधा नलिने बताए । आफू कांग्रेसको निष्ठावान कार्यकर्ता भएको र सबैलाई आदर सम्मान र मित्रवत व्यवहार गर्ने भएकाले मात्र नभइ माझठानामा जन्मिएको, कालिकामा पढेको, लेखनाथमा बसेको र पोखरामा व्यवसाय गरेका कारण सबै क्षेत्रमा पहुँच र प्रभाव भएका कारण चुनाव जित्ने दावी समेत उनले गरेका छन् । सेवा र समर्पणका साथ सिङ्गो पोखराको समुचित विकास गरि संवृद्ध पोखरा निर्माण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पोखराको ख्याति फैलाउँदै नमूना सहर निर्माण गर्ने आफ्नो अभियान रहेकाले कांग्रेसले आफूलाई नै उम्मेदवार बनाउने समेत बनाउने विश्वास व्यक्त गरे ।

Post a Comment

 
Top