0
गोल्डेन न्यूज संवाददाता
पोखराको नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेजले उपचारको क्षेत्रमा नयाँ सफलता हासिल गरेको छ । सराङ्कोटका १९ वर्षीय सन्तोष ढकालको चुडिएको औंलाको सफल शल्यक्रिया गरेर जोडिएपछि उक्त सफलता हात परेको हो । अघिल्लो महिनाको २३ गते सोमबार नयाँबजारस्थित विष्णु फर्निचरमा प्लाई चिरिरहेका बेला सन्तोषले आफ्नो दाहिने हातको चोर चौला प्लाई संगै छिनाएका थिए। तर आशा मारिएको र डाक्टरहरुको शब्दमा दुर्लभ भनिएको उक्त घट्नाले सफलताको नयाँ सिढीँ चुमेपछि स्वयं सन्तोष समेत खुशी भएका छन् । तर, विज्ञहरु भन्छन्–‘घट्ना वा दुर्घटना प्रायः अनपेक्षित र आकस्मिक हुन्छन् । जो कल्पना भन्दा निकै टाढाका विषयहरु हुन् । त्यसैले कुनैपनि काम गर्नु पूर्व पूर्ण सचेत रहनु र आवश्यक सावधानी अपनाउनु लाभदायक हुन्छ ।’ पोखराको हकमा यो असाध्यै जटिल र दुर्लभ घट्नामा सफलता प्राप्त गरेको भन्दै उपचारमा संलग्न चिकित्सक डा.रविमोहन ढकाल समेत उत्साहित छन् । डा.ढकालका अनुसार उक्त टोलीमा डा.नविन त्रिपाठी र डा. थानेश्वर पहारी संलग्न थिए ।

डा. ढकालका अनुसार चिकित्सा विज्ञानमा दुर्लभ र जटिल पनि मानिने छुट्टिएका अंग पुनः जडान गरिने शल्यक्रिया उपत्यका बाहिर भएको यो औंलामा गन्न सकिने उदाहरण भित्रको एक हो । त्रिवि शिक्षण अस्पतालमा एक दशकअघि नेपालमा पहिलो पटक प्लास्टिक सर्जन डा.ईश्वर लोहनीको टोलीले यस्तो छुट्टिएको अंग जोड्ने सफल शल्यक्रिया गरेको थियो । ढकालका अनुसार यस्तो शल्यक्रियामा सुरुमा काटिएको अंग सफा गरी नशा र हड्डी निश्चित गरेपछि नशा जोडेर रक्त सञ्चार गराइन्छ । जटिल प्रकारको मानिएको शल्यक्रियामा रक्तनली चार, आर्टरी दुई, भ्यान दुई, थाहा पाउने र चलाउने गरी पाँच वटा टेन्डन नशा छुट्टा–छुट्टै शल्यक्रिया बाट जोड्नुपर्छ ।  करिब १९ वर्षअघि सराङ्कोटमा जन्मिएका सन्तोषले सानै उमेरमा आफ्ना बाबालाई गुमाएका थिए । आमा विगत तीन वर्षदेखि दुवइमा छन् । उनका दुई दाजुहरुमध्ये एक कोरिया र एक दाज पोखरा मै छन्। सन्तोषले कक्षा १० सम्म अध्ययन गरेका छन् । डा.ढकालका अनुसार सन्तोषलाई अझै केहि दिन चिकित्सिक कै रोहवरमा उपचार गर्नुपर्ने छ ।

Post a Comment

 
Top