0
गोल्डेन न्यूज संवाददाता
नायिका पूजा शर्मा बुधबार बिहानै फेवाताल किनारमा थिइन्। उनीसँगै देखिए पल शाह। हरियो स्कर्टमा खुलेकी पूजा डुंगा चढेर पलसँग मस्ती गर्दै थिइन्। उनी घरी उभिएर केही गुनगुनाउँथिन्, घरी पलको छेउमा गएर मसक्क मस्किन्थिन्। कालो हुड, कालो पाइन्ट र कालै जुत्तामा सजिएका पलका आँखा पूजाबाट हटेनन्। दुईको प्रेमालाप हेर्नलायक थियो। निर्देशक सुदर्शन थापा छेवैमा बसेर ‘लाइट–क्यामेरा–एक्सन’ भन्दै थिए। दृश्यलाई क्यामेरामा कैद गर्दै थिए सञ्जय लामा। मायाप्रेमको कथामा ‘मेरो एउटा साथी छ’, ‘मेरो लभ स्टोरी’, ‘प्रेमगीत’ जस्ता सफल फिल्म निर्देशन गरिसकेका थापाले अर्को फिल्म ‘म यस्तो गीत गाउँछु’ ल्याउन लागेका हुन्। काठमाडौंको सुटिङ सकेर फिल्म युनिट पोखरा आइपुगेको हो। फागुन दोस्रो सातादेखि फ्लोरमा उत्रेको फिल्मको ३० प्रतिशत सुटिङ सकिएको निर्देशक थापाले बताए। बाँकी सुटिङ पोखरा, अस्ट्रेलियन क्याम्प र उपल्लो मुस्ताङमा हुनेछ। उनले यो फिल्मलाई ‘रोमान्टिक म्युजिकल लभ स्टोरी’ भन्न रुचाए। ‘विशुद्ध लभ स्टोरी फिल्म हो,’ उनले भने, ‘पहिलेपहिलेको फिल्मभन्दा नितान्त भिन्न हुनेछ।’ अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल, अञ्जु पन्त, प्रमोद खरेल र अर्जुनकै स्वरमा समेटिएका तीन गीत फिल्मको बलियो पक्ष भएको उनले बताए। पूजाले आफ्नो यो पाँचौं फिल्मबाट निकै आशा गरेको बताइन्। ‘म अलि बोल्ने, स्वतन्त्रतामा रमाउन खोज्ने, खुसी भएर बाँच्न खोज्ने केटीको रोलमा छु,’ उनले भनिन्।
पूजासँग ‘लभरब्वाई’ पलले रोमान्स गरेका छन्। फिल्ममा उनी टोले गुन्डा हुन्छन्। सानोतिनो ग्याङस्टर कसरी लभरब्वाई बन्छ भन्ने कथामै फिल्म घुमेको पलले जनाए। पूजाले हाँस्दै भनिन्, ‘टोले दादा पललाई सुधार्ने भूमिकामा छु म।’ पल र पूजाको केमेस्ट्रीलाई दर्शकले रुचाउने निर्देशक थापाको विश्वास छ। फिल्ममा सरोज खनाल, रूपा राणा, प्रज्वल सुजल गिरीको पनि अभिनय छ।

Post a Comment

 
Top