0
सरिता गिरी
१६ वर्षको उमेरमा मैले बालकृष्ण समको ‘स्वास्नी मानिस’ नाटकमा अभिनय गर्ने मौका पाएँ । वीरेन्द्र हमालको निर्देशन रहेको यो नाटकबाट मैले अवार्ड पनि पाएँ । त्यसको केही वर्षमा गुरुकुल खुल्यो । म पनि गुरुकुलमा नाटकको विद्यार्थी भएँ । त्यहाँ बस्दा नाटकको अध्ययन गर्ने र अभिनय गर्ने दुवै मौका मिल्यो । दर्शकहरूले रुचाउनुभयो, त्यसपछि फिल्ममा पनि अभिनय गरें ।  फिल्म र नाटकमा डेढ दशकदेखि काम गरिरहेको म बेलाबेला यो क्षेत्रमा महिलाको अवस्था कस्तो छ ? पहिले कस्तो थियो अहिले के परिवर्तन आयो भन्नेबारे सोच्छु । यसरी सोच्दा म नाटकमा महिलाहरूको उपस्थिति, भूमिका र आकर्षण बढी देख्छु । नाटकको तुलनामा फिल्म अझै पछाडि छ भन्ने मलाई लाग्छ । 
रंगमञ्चमा मैले अहिलेसम्म चारवटा एकल प्रस्तुति दिएकी छु । पछिल्लोपटकको ‘बोक्सीको घर’ ले निकै राम्रो सफलता पनि पायो । नर्वेका रंगकर्मी मार्टेन क्रोगको निर्देशनमा मैले अभिनय गरेको एकल ‘मिस मार्ग्रिटा’ मेरो कलाकारिताको एउटा मोड हो भन्ने मलाई लाग्छ । २०५९ तिरै मैले ‘अश्वत्थामा हतोहत’ नाटक निर्देशन गरेकी थिएँ । त्यसै नाटकबाट सौगात मल्लले उत्कृष्ट अभिनेताको अवार्ड पनि पाएका थिए । तर, मलाई आफू निर्देशनका लागि परिपक्व भएकी छैन भन्ने लाग्यो । 
पछिल्लो समयमा नाटकमा महिला पात्रहरूलाई निकै राम्रो स्थान दिन थालिएको छ । ‘डल्स हाउस’ जस्तो नाटकले पाएको सफलता नेपाली दर्शकले महिलाप्रधान नाटक मनपराउँछन् भन्ने प्रमाण हो । यसमा निशा शर्माको अभिनय र चरित्र दुवै मलाई मन परेको हो । यस्तै सिर्जना सुब्बाको ‘युमा’, पशुपति राईको ‘खरीको घेरो’, सिर्जना अधिकारीको ‘मिल्क टी’ पनि मलाई मन परेका नाटक र भूमिका हुन् । सिर्जना सुब्बा, सिर्जना अधिकारी र पशुपति राई महिला निर्देशकका रूपमा पनि सक्रिय भइरहेका छन् । हाम्रो पुस्तापछि आएको पुस्तामा पनि महिला कलाकारहरूको उपस्थिति राम्रो छ । नयाँ बनिरहेका नाटकहरूमा महिलाका एजेन्डालाई निकै राम्रो स्थान दिइएको म पाउँछु । 
नाटकको तुलनामा फिल्म भने म अझै पनि पछि नै देख्छु । फिल्ममा महिलाहरूलाई अझै पनि ‘सो पिस’ का रूपमा लिने गरिएको छ । अहिले बनिरहेका नयाँखाले फिल्ममा पनि महिलाहरूको उत्कृष्ट भूमिका खासै देखिँदैन । नेपालमा महिला कलाकारको भूमिका अलि लामो भएका फिल्मलाई नारीप्रधान फिल्म भनेर प्रचार गरिन्छ । तर, नारीप्रधान भनेको त्यस्तो होइन । महिलाका एजेन्डा उठाउने र सशक्तिकरणको पक्षमा छैन भने पूरै फिल्ममा महिला मात्रै कलाकार भए पनि त्यो महिलाप्रधान फिल्म हुँदैन । यसै वर्ष एकजना महिला कलाकारले निर्देशन गरेको फिल्मको ठूलो चर्चा भयो । तर, त्यसमा महिलाको चित्रण कसरी गरियो ? महिलाको चरित्रमाथि मात्रै सधैं प्रश्न उठ्ने ? पुरुषको चरित्रमाथि चाहिँ फिल्म मौन ? विदेश जाने सबैका श्रीमती धोकेबाज, चरित्रहीन ? विदेशमा भएका तिनका पतिलाई चाहिँ छुट ? यस्तो फिल्म महिलाले बनाए पनि पुरुषले बनाए पनि के फरक पर्छ ?
अहिले फिल्ममा जनजाति कलकार, नाटकका कलाकारले राम्रो भूमिका पाइरहेका छन् भनिन्छ । तर, गहिरिएर हेर्रुयो भने त्यसमा पुरुष कलाकार मात्र छन् । सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछानेहरू फिल्ममा स्टार बने तर सिर्जना सुब्बाहरूले किन त्यस्तो मौका पाएनन् । यतिका वर्षमा जम्मा एउटा ‘डाइङ क्यान्डल’ बनेको छ । सशक्तिकरणको कुरा बुझेका नयाँ पुस्ताका निर्देशकहरूले बनाएका फिल्ममा पनि मैले सन्तोष मान्ने ठाउँ पाइनँ । ‘लुट २’ को पोस्टरमा सबै कलाकारको टाउको छ तर सिर्जना सुब्बा गायब छ । फिल्ममा त उनको प्रमुख भूमिका छ । पोस्टरमा निर्माण पक्षले नल्याएको कि बजारको ‘माग’ ले नल्याएको मलाई थाहा छैन ।
फिल्ममा अहिले पनि महिला कलाकारले पाउने भूमिका हिरोको प्रेमिकाकै हो । यस्तो भूमिकाका लागि खास किसिमको शारीरिक बनावट र अनुहारको खोजी गरिन्छ । तर, नाटकमा ‘फिगर’ र ‘ब्युटी’ को यस्तो कुनै छेकबार र सीमा हुँदैन । नाटकमा राम्रो अभिनय गरिरहेका कलाकारहरूमा फिल्मका निर्मातारनिर्देशकले ‘हिरोइन मेटेरियल’ खोज्छन् । जबसम्म बजारले तय गरेको ‘हिरोइन मेटेरियल’ खोजी हुन्छ तबसम्म फिल्ममा महिलाको स्थान र पर्दामा महिलाको भूमिका गतिलो हुन्छ भन्ने मलाई लाग्दैन । 
कलाकारसँग गरिने व्यवहारमा पनि म नाटक र फिल्ममा फरक देख्छु । नाटकमा सबैलाई समान व्यवहार गर्ने परम्परा छ । कलाकारलाई खासै विभेद गरिँदैन । तर, फिल्ममा त्यस्तो वातावरण छैन । मजस्ता कलाकारलाई त नाटकबाट आएको भनेर एक तहको सम्मान नै गरिएको पाउँछु । सम्मान मात्र होइन, पारिश्रमिकमा पनि महिला र पुरुष कलाकारमा फरक छ । चलेकै हिरोइनलाई पनि हिरोलाई जति पारिश्रमिक दिइँदैन । हामीजस्ता नाटकका कलाकारलाई त दैनिक ज्यालादारी जसरी पारिश्रमिक अफर पनि गरिन्छ । दैनिक हिसाबले पैसा लिने हो भने त म एनजीओ, आईएनजीओको फिल्म र नाटकमा फिल्मको भन्दा चार गुणा बढी पैसा पाउँछु । यसैले पनि अहिले धेरै फिल्म खेल्ने मन छैन । मैले त अलि बढी मान्छेले चिन्छन् भनेर रहरले फिल्म खेलेकी हुँ । वर्षमा एउटा ‘रेड मनसुन’ जस्तो फिल्म खेले मलाई पुग्छ । 
नाटकमा महिलाहरूका लागि अभिनय, लेखन, निर्देशन र निर्माणमा पनि करिअर राम्रै छ । उनीहरूलाई प्रोत्साहनको आवश्यकता छ । तर, फिल्ममा चाहिँ अहिले नै गाह्रो छ । फिल्ममा महिला लेखक र निर्देशकहरूको संख्या नबढेसम्म महिला कलाकारले राम्रो भूमिका पाउन पनि गाह्रै हुन्छ । केहीअघि सम्झना उप्रेती रौनियारले बनाएको फिल्म ‘मेघा’ मा महिला पात्रलाई जसरी प्रस्तुत गर्नुभएको थियो, त्यो मलाई मन परेको थियो । यस्तै अरू भूमिकाहरूको निर्माणका लागि महिला सर्जकहरू चाहिन्छ । एकथरी निर्माता र निर्देशक छन्, उनीहरू सोच्छन्– हिरोइनले उडेर किक हानेको फिल्म भयो भने महिलाप्रधान हुन्छ । 
हुन त त्यस्तै भूमिकाहरू गरेर रेखा थापाले १०–१५ वर्ष फिल्म इन्स्ट्री धानेकी पनि हुन् । यस्ता भूमिका भनेको हलमा ताली पड्काउनलाई मात्र काम लाग्छ, वास्तविक जीवनमा यसको कुनै अर्थ हुँदैन । फिल्मले यदि समाजलाई, महिलालाई योगदान गर्ने हो भने वास्तविक जीवनमा सोच्न बाध्य पार्ने वा सोचाइ परिवर्तन गर्ने काम गर्नुपर्रुयो नि । अहिले चलेका हिरोइनहरू छन् । प्रायस् सबै फिल्ममा उनीहरू छन् तर भूमिका के छ ? भूमिका त उही बीस वर्षअघिको फिल्ममा जस्तो ‘सो पिस’ छ । यस्तै मात्रै भूमिका पाउने हो भने त कलाकारले गर्ने मिहिनेत र उसको प्रतिभामाथि न्याय हुँदैन । 
मलाई मेरै एकजना साथीले एउटा फिल्म अफर गरे । उनी पनि थियटरबाट आएका । त्यसैले मलाई राम्रै होला भन्ने आशा थियो । पछि उनले भने, ‘यसपालि हिरोहरू पनि सबै नयाँ भए, अहिले रिस्क लिन सकिनँ । त्यसैले चलेकै हिरोइन लिनुपर्ने भयो ।’ उनको कुरा ठीकै हो, बजारको हिसाबले । तर, मेरो भनाइ बजारको त्यस्तो दबाब छ भने त्यस्तै फिल्म बनाए भइहाल्यो नि । पछि मैले उनको फिल्म हेरें, त्यसमा हिरोइन जोसुकै भए पनि केही फरक पर्ने रहेनछ । कि त रोल दमदार हुनुपर्रुयो, कि पैसा राम्रो हुनुपर्रुयो । दुवै राम्रो नभएको फिल्म म किन खेलूँ ? कसैले ‘ल, यो भूमिका तिम्रै लागि लेखेको हो, तिमी नै चाहिन्छ’ भन्यो भने त्यसका लागि १० किलो वजन घटाउने कि बढाउने हामी पनि गर्न सक्छौं नि । त्यसरी च्यालेन्ज गर्ने कोही आउँछ भने हामीलाई पनि अभिनय गर्न मज्जा हुन्छ नि । 
हलिउडरबलिउडमा सबै उमेर र शारीरिक बनावटका कलाकारले राम्रो भूमिका पाउँछन् । रोबर्ट डी निरोजस्तो उमेरका कलाकार पनि उत्तिकै व्यस्त छन्, मेरिल स्ट्रिपजस्ती हजुरआमा बन्ने उमेरका हिरोइनले पनि मुख्य भूमिका पाइरहेका छन् । यस वर्ष पनि मेरिल उत्कृष्ट अभिनेत्रीको ओस्कर दौडमा थिइन् । बलिउडले ५० वर्ष नाघेकी श्रीदेवीलाई लिएर ‘इंग्लिस विंग्लिस’ बनायो । त्यो फिल्म बजारमा पनि चल्यो । तर, हाम्रो त अहिले पनि ५० वर्षको हिरोको जोडी १६ वर्षे तरुनी चाहिने ? हिरोको उमेर, अनुहार र शारीरिक बनावटले फरक नपर्ने, तोरीबारीमा नाच्नलाई हिरोइनचाहिँ स्वप्नसुन्दरी नै चाहिने ? 
जबसम्म ‘हिरोइन म्याटेरियल’ बाट ‘क्यारेक्टर म्याटेरियल’ तिर फिल्म जाँदैन, अबको ५० वर्षपछिसम्म पनि त्यही नै हुन्छ । फिल्ममा महिलाको अवस्था उस्तै हुन्छ । यो परिवर्तनका लागि फिल्ममा महिलाहरूको सार्थक उपस्थिति र हस्तक्षेप चाहिन्छ । पुरुषहरूको पनि सोचमा परिवर्तन आउनु आवश्यक छ । 
(सुनीता साखकर्मीसँगको कुराकानीमा आधारित)

Post a Comment

 
Top