0
गोल्डेन न्यूज संवाददाता
(एसएसबी) को गोलीबाट मारिएका कञ्चनपुरका गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । सरकारबाट शहिद घोषित गौतमलाई ११ तोपको सलामी दिइने भएको छ । अन्तेष्टिमा नेपाल प्रहरीले शोक धुन बजाउने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जानकारी दिए। गत बिहीबार कंचनपुरको पुनर्बास नगरपालिकाको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर गौतमको मृत्यु भएको थियो । गौतमलाई शुक्रबार शहिद घोषणा गर्दै सरकारले १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो । गौतमको शव हाल सेती अञ्चल अस्पतालमा राखिएको छ । उनको शनिबार पोष्टमार्टम भएको छ । अस्पताल परिसरबाट आइतबार बिहान साढे ८ बजे उनको शवयात्रा निकालिनेछ । शवयात्रा शहरका बिभिन्न स्थान परिक्रमा गर्दै दोधा नदीमा पुग्नेछ र सोही नदी किनारमा सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
उता कञ्चनपुरको आनन्द बजार शनिबार पनि दिनभर तनाव ग्रस्त रहृयो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आनन्दबजार क्षेत्रलाई विहान ९ बजेदेखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेपनि स्थानीयहरु प्रदर्शनमा उत्रिएका थिए। स्थानीयहरुले निषेधित क्षेत्र तोड्ने प्रयाससमेत गरेका थिए। उनीहरुलाई रोक्न ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । बेला–बेलामा स्थानीय र प्रहरीहरुबीच दोहरो झडपसमेत भयो । प्रहरीले पटक–पटक भिड नियन्त्रण गर्न लाठी चार्जसमेत गरेका छन् । आनन्द बजारको कल्भर्ट निर्माणस्थल यतिबेला सुनसान बनेको छ । एसएसबी कल्भर्टभन्दा करिब ५ सय मिटरको दुरीमा रहेका देखिन्थे भने आनन्द बजार सुनसान बनेको छ । सीमा क्षेत्रमा कलभर्ट निर्माणको विषयमा विवाद भएपछि सीमा क्षेत्रका भारतीय र नेपालीबीच झडप भएको थियो ।
यसैबीच पछिल्लो समय सिमा क्षेत्रमा बढ्दै गएको भारतिय हस्तक्षेपको पोखरेलीहरुले चर्को विरोध गरेका छन् । विभिन्न वाहानामा नेपालका सिमावर्ती क्षेत्रमा भारतीय ज्यादति बढेको प्रति उनिहरुले असन्तुष्टि समेत पोखेका छन् । भारतीय हस्तक्षेपका विरुद्ध संर्घष समिति नै खडा गरि विरोधमा उत्रिएका पोखरेलीहरुले तत्काल हेपाह प्रवृत्ति रोक्न भारतलाई चेतावनी दिएका छन् । पोखरेलीहरुले भनेका छन्–‘नेपाल स्वाधिन र स्वतन्त्र राष्ट्र हो, यसमाथि हुने कुनै पनि वाहानाको हेपाई प्रवृति हामीलाई स्वीकार्य छैन् ।’
यसैबीच एमाले अध्यक्ष केपी ओलीले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले नेपालीको हत्या गरेर ठूलो देश भनेर दम्भ देखाउने काम गरेको आरोप लगाएका छन् । एमालेको मेचि–महाकाली जागरण अभियान अन्तर्गत शनिबार चितवनको नारायणी किनारमा आयोजित कार्यक्रममा बोल्दै ओलीले स्थानीय तहमा नभई केन्द्रिय तहमा वार्ता गरेर क्षतिपूर्ति भराइ भारतलाई माफी माग्न लगाउनुपर्ने बताए । ‘यो सबै भारत बलियो छु भन्ने दम्भ र घमण्ड हो,’ उनले भने, ‘बलियो छु भन्दैमा सिमानामा पस्न पाइँदैन । यो अन्तर्राष्ट्रिय कानुन विपरित हो ।’ उनले देशको थिचोमिचो विरुद्ध खाली हात उभिएका गोविन्द गौतम सहिद भएको भन्दै सरकारले टुलुटुलु हेर्ने काम मात्र गरेको आरोप लगाए ।
 ‘विचरा नेपालको सरकार लाज शरम नमानेर पुलुक्क हेर्छ, बोल्न सक्दैन,’ उनले भने,–‘सरकारलाई भन्न चाहन्छौं, केन्द्रिय तहमा वार्ता गरेर क्षतिपूर्ति भराई भारतलाई माफ माग्न लगाउनुपर्छ । नेपालको स्वाधीनताको रक्षाका निम्ति नेकपा (एमाले) कहिल्यै पछि नपर्ने भन्दै उनले पार्टीको गतिविधिले जनतालाई छर्लङ्ग पारेको बताए । उनले भने–“नेकपा (एमाले) त्यसको रक्षा गर्ने सवालमा अरुको मुख ताक्दैन, अग्रपङ्क्तिमा अगाडि बढ्छ ।”

Post a Comment

 
Top