0
गोल्डेन न्यूज संवाददाता
पर्यटकीय नगरी पोखरामा पर्यटकहरुको आकषर्णको रुपमा फस्टाउँदै आएको प्याराग्लाईडिङ पेशालाई दिगोरुपमा संचालन गर्नका लागि व्यवस्थित पार्न पोखरेलीहरुले माग गरेका छन् । नेपाल हवाई खेलकुद संस्था (ना) को शनिबार पोखरामा सम्पन्न भएको १५औं साधारणसभा तथा सातौंैं महाधिवेशन उद्घाटन सत्रमा वोल्ने विभिन्न संघ संस्थाका पदाधिकारी तथा पोखरेलीहरुले पोखरामा संचालन भएको प्याराग्लाईडिलाई जिवन्त राख्न पनि समयमै व्यवस्थित पार्न आग्रह गरेका हुन् । उनीहरुले विश्व बजारमा फस्टाउँदै गएको साहसिक खेल मध्यको एक प्याराग्लाईडिङ पोखरामा अझ धेरै सम्भावना भएकोले पनि यस पेशालाई दिगो हुने गरी संचालन गर्न माग गरेका हुन् । वक्ताहरुले प्याराग्लाईडिङलाई नियमनकारी निकायबाट प्रभावकारी ढंगले अनुगमन गर्न समेत माग गरे । महाधिवेशनको उद्घाटन गर्दै नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख भोलाप्रसाद गुरागाइँले पोखराको प्याराग्लाईडिङ पेशा संरक्षणमा आफूहरु गम्भीर भएको बताए । उनले पोखराको प्याराग्लाईडिङ पेशालाई संरक्षण गर्ने उद्देश्यले २ जना प्राविधिक ज्ञानको लागि न्युजिल्याण्ड पठाएर उनीहरुको सल्लाह सुझाव अनुसार आफूहरु अघि बढ्ने तयारीमा रहेका स्पष्ट पारे ।  पोखराको प्याराग्लाईडिङको नियमनकारी निकाय क्यान भएपनि प्राविधिक हिसावले ना र हरेक प्याराग्लाईडिङ पार्ईलटहरुले नियम पालन गर्न उनले आग्रह गरे । उनले भने–‘पोखरासहितको छिमेकी जिल्लामा समेत प्याराग्लाईडिङको सम्भावना खोजिनुपर्दछ, स्वस्थ प्रतिस्प्रर्धा हुनुपर्दछ, सवैले जिम्मेवारी पूर्ण ढंगले काम गर्नु भयो भने हामी सबैलाई फाईदा पुग्छ ।’ राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका पश्चिमाञ्चल संयोजक गोविन्दराज पहारीले पर्यटन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्प्रर्धा हटाउन सबै व्यवसायीहरु एक हुनुपर्नेमा जोड दिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले क्यानले प्याराग्लाईडिङ पेशालाई मर्यादित पार्न जिम्मेवारी ढंगले काम गर्न आग्रह गरे । 

नेपाल पर्यटन वोर्डका पूर्व सदस्य तथा नाका सल्लाहकार टिकाराम सापकोटाले विश्व बजारमा साहासिक खेलको महत्व बढ्दै गएकाले पोखरामा यस पेशालाई संरक्षण गर्नुपर्ने खाचों औंल्याए ।  पोखरा क्षेत्रमा ६० वटा कम्पनीहरु भएपनि नामा हाल ४८ वटा प्याराग्लाईडिङ कम्पनीहरु आवद्ध भएको महासचिव वसन्तराज दुवाडीले जानकारी दिए। नाका अध्यक्ष योगेश भट्टराईको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा उपाध्यक्ष शोभित बानियाँ, सचिव कृष्ण भण्डारी लगायले बोलेका थिए । कार्यक्रममा प्याराग्लाईडिङको प्रि–वल्र्डकप अन्तर्गत इण्डोनेसियामा हालै च्याम्पियन भएको नेपाली टिम, भारतको उत्तराखण्डमा सहभागि खेलाडीहरु लाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नेपाली पहिलो प्याराग्लाईडिङ पाईलट राजेश वम्जन, रविन गुरुङ, विमल अधिकारी, विशाल थापा, शुसिल गुरुङ, सुविन राना मगर, युकेस गुरुङ, देशवीर जिम्मी र एक महिला खेलाडी कृशु पौडेल रहेकी छन् । नेपाली टिमलाई प्रशिक्षण अजय कुमार शर्माले गराएका थिए ।  त्यसैगरी उत्तराखण्डमा सहभागि खेलाडीहरु अनिश भट्टराई, शेरबहादुर गुरुङ, नुरेन गुरुङ, निशिम थापा, सुरज थापा, विजय दाहाल र अशिम थापा रहेका थिए ।

Post a Comment

 
Top