0
गोल्डेन न्यूज संवाददाता
एसएलसी परीक्षा प्रणाली हटेपछि पहिलो पटक सुरु भएको माध्यमिक शिक्षा परीक्षामा (एसईई) कास्कीमा ४ दृष्टिविहीन, १५ सुस्तश्रवण सहित १० हजार ७ सय ६१ जना विद्यार्थी सहभागी भएका भएका छन् । बिहीबारको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन भएको जिल्ला शिक्षा अधिकारी दिपेन्द ढकालले जानकारी दिए । परीक्षामा नियमिततर्फ १० हजार ६ सय विद्यार्थी छन् । त्यसमा ५ हजार ४ सय ४१ छात्र र ५ हजार २ सय ११ छात्रा छन् । इक्जाम्टेडतर्फ १ सय १ जना र ग्रेड बृद्धिका लागि १ सय ३२ जना परीक्षामा सहभागी भएको उनले जानकारी दिए । यसपटकको परीक्षा दिनबाट कास्कीमा १ सय ७१ जना भने अयोग्य भएको जिल्ला शिक्षा कार्यालय कास्कीले जानकारी दिएको छ । नियमित कक्षामा ७० प्रतिशत हाजिरी नपुगेका विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएका हुन् । यस्तै यसपटक  दृष्टिविहीन ४ जनाले परीक्षा दिदैछन् । अम्मरसिंह नमुना माविका २ र जनप्रकाश माविका २ जना दृष्टिविहीन विद्यार्थीले परीक्षामा सहभागी भएका हुन्। यस्तै सुस्त श्रवण १५ विद्यार्थीले परीक्षा दिएका छन् । उनीहरु सृजना बहिरा माविका विद्यार्थी हुन् । कास्कीमा प्राविधिकतर्फ ४७ विद्यार्थीले परीक्षार्थी, कारागारमा ४ जना र बाल सुधार गृहमा रहेका १० विद्यार्थी परीक्षामा सामेल भएका छन् भने परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् । कास्कीमा ३१ परीक्षा केन्द्रमा ३३ केन्द्राध्यक्ष, ५३ जना सहायक केन्द्राध्यक्ष, ४५४ निरीक्षक, २३३ सहयोगी र २२५ सुरक्षाकर्मी खटिएका छन् । पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा सकिएको छ । 

त्यसैगरी चैत ४ गते अनिवार्य नेपाली, चैत ६ गते अनिवार्य गणित, चैत ७ गते अनिवार्य विज्ञान, चैत ८ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, चैत ९ गते संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, चैत १० गते ऐच्छिक गणितको परीक्षा संचालन हुनेछ । यसैबीच स्याङ्जा, फेदीखोला–१ खड्केटारीको एक विद्यायलमा ७० वर्षीय एक वृद्धले एसईईको परीक्षा दिएका छन् । खड्केटारीमा रहेको कालाभैरव माविको कक्षा १० अध्ययन गरेका दुर्गाबहादुर विकले फेदीखोला, स्याङ्जाको सिद्धार्थ माविबाट परीक्षा दिएका हुन् । स्याङ्जाको फेदीखोला–३ देउराली घर भएका विक कक्षा ६ बाट सो विद्यालयमा पढ्दै आएका थिए । पढ्ने रहरलाई उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण बनेका छन् उनी । उनले परीक्षा दिएपछि पहिलेका परीक्षा भन्दा सजिलो लागेको बताए । उनले भने–‘आफ्नै मात्रै विद्यालयका विद्यार्थी थिएनन्, अन्य साथीसंग पनि भेट हुँदा रमाइलो लाग्यो ।’ ‘
सानो उमेर छँदा परिवारको आर्थिक स्थिति कमजोर थियो,’ विकले भने–‘त्यसै कारण पढ्ने इच्छा पुरा हुन सकेन ।’ ६ जना सन्तानका बाबु तथा ८ जनाका हजुरबा बनिसेकका विकले भने वुद्धि पनि पस्यो घन्टि पनि बस्यो भने जस्तै भएको बताए । उनले दलित र पीछडिएका समुदायलाई पनि पे्ररणा दिन पढ्न थालेको बताए । ‘बुढेसकालमा नातिनातिना उमेरकासँग कसरी पढ्न जानु भनेर सुरुमा लाज लाग्यो’, पढ्न जाने बेलाको वेलिविस्तार लगाउँदै उनले भने–‘जसरी पनि अक्षर नचिनी भएकै छैन भन्ने सोचेर लुरुलुरु स्कुल जान थालेँ ।’


Post a Comment

 
Top