0
गोल्डेन न्यूज संवाददाता
विश्व उपभोक्ता दिवस नेपालमा पनि बुधबार मनाइएको छ । तर उपभोक्ताको हक अधिकारको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले नेपालमा विगत १६ वर्षदेखि विश्व उपभोक्ता दिवस मनाइँदै आएपनि उपभोक्ता भने दिनप्रतिदिन अभाव र ठगीको मारमा परिरहेका छन् । दिवस कै अवसर पारेर उपभोक्ताको हितका पक्षमा चर्का भाषण गरिएपनि उपभोक्ता भने वर्षौदेखि अभाव र ठगी सहन बाध्य छन् । नियन्त्रण गर्न राज्य र नियमनकारी निकायहरु असफल भइरहँदा ठगीको जालो थप बिस्तार हुँदै गएको छ ।उपभोक्ताको हक अधिकार संरक्षणकै लागि भनेर गठन भएका उपभोक्तावादी संस्थाहरुको काम समेत प्रभावकारी नभएकाप्रति उपभोक्ता असुन्तुष्ट छन् । राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका अनुसार राज्यका संगठनहरुले व्यवसायीको पृष्ठपोषण गरेका कारण उपभोक्ता व्यवसायी बाट ठगिइरहेका छन् । उपभोक्ताको हितका सम्वन्धमा ऐनको अभाव नभएको तर कार्यान्वयन पक्ष कमजोर भएकाले उपभोक्ताको अधिकारमाथि खेलवाड भइरहेको मञ्चको ठहर छ । तर अधिकारकर्मीहरु भन्छन्–‘उपभोक्तामा सचेतनाको अभावले पनि ठगी बढिरहेको छ । उपभोक्ताले सामानको खरिद गर्दा मूल्य, उत्पादन र म्याद सकिने मिति समेत नहेर्ने, अभाव देखाइएको सामानलाई जति रुपैयाँ पनि तिर्न तयार हुने परिपाटी विकास हुँदै गएको छ । उपभोक्तासंग बढी मूल्य लिनेलाई कार्बाही गर्न गराउन उपभोक्ता स्वयं अघि बढ्नु जरुरी हुन्छ ।’

यस्तै यातायात क्षेत्र मनपरी भाडा अशुली तथा सिण्डिकेट प्रणालीले जेलिएको छ । छोटो तथा लामो दुरीमा दैनिक यात्रा गर्ने लाखौं यात्रुहरु ठगिइरहेका छन् । छोटो दुरीमा न्यूनतम भाडा १३ रुपैयाँ भनेर तोकिए पनि १५ रुपैयाँ तिर्न उपभोक्ता बाध्य भइरहेका छन् । सिण्डिकेटले ढुवानी सेवा महँगिदा हरेक खाद्यान्न तथा पेय पदार्थमा कालोबजारी मौलाएको छ । इन्धनको अभावलाई अधिकांश व्यवसायी तथा उद्योगीले कमाउने मौका बनाउने गरेका छन् । सहज रुपमा ग्यासको उपभोग गर्न पाउने अधिकारबाट उपभोक्ता वञ्चित छन् । औषधिमा उपभोक्ताहरु ठगिएका छन् । गरिब जनतालाई निःशुल्क औषधि उपचारको व्यवस्था गरिए पनि कतिपय ग्रामिण क्षेत्रमा चिकित्सक र औषधिको अभाव यथावत छ । खाद्यान्नको भाउ कृत्रिम र चरम रुपमा बढेको छ । नाकाबन्दीलाई बहाना बनाई बढेको बजार मूल्य पुरानै स्थितिमा नघट्दा उपभोक्ता माथिको ठगी यथावत छ । विभिन्न रंग मिसाएर बनाइएका मिष्ठान्न परिकारले उपभोक्ताको स्वास्थ्यमै खेलवाड भइरहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बेलाबेलामा गरेका परीक्षणमा दूध तथा पानी समेत प्रदुषित भेटिनुले उपभोक्ताको स्वास्थ्यमाथि पनि ठाडै खेलवाड गरिएको छ । विभिन्न सेवामूलक क्षेत्रमा कर्मचारीले अनावश्यक सास्ती दिने, झर्किने गर्दा पनि उपभोक्ताको अधिकार वञ्चित गराउन बल पुग्ने गरेको छ । साथै बेलाबेलामा हुने गरेका बन्द हड्तालजस्ता गतिविधिले उपभोक्ताका अधिकार हनन हुने गरेका छन् । विश्व उपभोक्ता दिवसका सन्दर्भमा राज्य र व्यवसायी दुवै पक्षले उपभोक्ताको अधिकारलाई संरक्षण र संबद्र्धन गर्ने प्रतिबद्धता जनाउनुपर्नेमा सम्बद्ध अधिकारीहरुको जोड छ । यता, कास्कीमा पनि दिवसका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको उपभोक्ता मंच कास्कीका अध्यक्ष कोपिलनाथ कोईरालाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । यसैबीच विश्व उपभोक्ता अधिकार दिवस २०१७ को अवसरमा बुधबार उपभोक्ता जागरणका लागि सचेतना र्¥याली निकालिएको छ । चिप्लेढुंगा स्थित मानवअधिकारचोकबाट सुरु भएको ¥याली न्युरोड हुँदै पोखरा सभागृहमा पुगी समापन भएको थियो । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यामकुमारी खतिवडाले उपभोग्य सामग्रीमा अखाद्य वस्तुको मिसावटलाई रोक्न प्रभावकारी अनुगमन आवश्यक भएको बताइन् । ‘अनुगमनकारी निकाय बीच समन्वय आवश्यक छ,’ उनले भनिन्, ‘अनुगमनमा दोहोरोपन हुन नदिन नीतिगत प्रष्टता जरुरी छ ।’ उनले उपभोक्ताको हित विपरीत काम गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिइन । घरायसी र निर्माणका सामग्रीमा गुणस्तरीयताको सवाल उपभोक्ताको हितसँग जोडिएको उल्लेख गर्दै क्षेत्रीय प्रशासक खतिवडाले उपभोक्ता सचेत बन्नुपर्ने बताइन् । उनले उद्योगी, व्यापारीले व्यवसायिक नैतिकता र सामाजिक दायित्व वहन गर्नुपर्ने सुझाव दिइन् । कास्कीका निमित्त प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीले उपभोक्ताको हित संरक्षणका लागि नियामक निकायबीच समन्वय आवश्यक भएको बताए । उनले उपभोक्ताको हित रक्षाका लागि कानुन धेरै भए पनि कसले कारवाही गर्ने भन्नेमा अन्योल रहेको उल्लेख गरे । सरकारी स्तरबाट पहिलोपल्ट उपभोक्ता अधिकार दिवस मनाइएको हो ।

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले अवैध रुपमा कारोबार गर्नेलाई गरिने कार्वाहीका लागि प्रशासनले गर्ने अनुगमन तथा नियमनलाई सघाउने प्रतिवद्धता व्यक्त गरे । उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोइरालाले सयुक्त राष्ट्र संघले उपभोक्ताका ८ आधारभूत अधिकार पारित गरेको दिनलाई उपभोक्ता दिवसको रुपमा मनाउने गरिएको बताए । उनले उपभोक्ताको हित संरक्षणका लागि उपभोक्ता सचेत, व्यवसायी जिम्मेवार र सरकार सशक्त हुनुपर्ने खाँचो औंल्याए । उपभोक्ता हितमा संरक्षणमा लगाऔं ध्यान, सुरक्षित राखौं सम्पत्ती र जिऊ ज्यान’ भन्ने नाराका साथ ३२ औं उपभोक्ता अधिकार दिवस मनाइएको हो ।

Post a Comment

 
Top