0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङले  वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्ने उद्देश्य बोकेर पार्टी सरकारमा सामेल भएको बताएका छन् । 
‘राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल जनताको माझमा राष्ट्रिय अभियान’ विषयको एकदिने अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै  उनले आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न पार्टीले उल्लेख्य भूमिका खेल्ने बताए ।  नजिकिँदै आइरहेको स्थानीय तहको निर्वाचनमा लोकप्रिय र चुनाव जित्न सक्ने व्यक्तिलाई टिकट दिनुपर्नेमा जोड दिँदै उनले देशमा हिन्दू राष्ट्र र राजसंस्था कायम गर्ने पार्टीको एजेन्डा लिएर गाउँ–गाउँमा जान पार्टी कार्यकर्तासँग आग्रह गरे । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री तोरणबहादुर गुरुङले हालै दुई पार्टी मिलेर एक भएका राप्रपाका कार्यकर्ता एकजुट भएर अघि बढ्न नसके पार्टीले लिएको लक्ष्य पूरा हुन नसक्ने बताए । पार्टीका अर्का केन्द्रीय सदस्य डा भीमसेन गुरुङले पार्टीको केन्द्रीय एकता महाधिवेशनले पारित गरेका सिद्धान्त, नीति र कार्यदिशा कार्यान्वयन गर्न अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको बताए । अनुशिक्षण कार्यक्रममा कास्कीका करिब दुई सय ५० अगुवा कार्यकर्ता सहभागी थिए ।

Post a Comment

 
Top