0
गोल्डेन न्यूज संवाददाता
करिब दुई दशकपछि हुन लागेको स्थानीय चुनावलाई लक्षित गरि नेपाली काँग्रेस कास्की क्षेत्र १ ले मादी गाउँपालिका वडा नम्बर १ बाट चुनावी कार्यक्रम थालेको छ । भेलामा कास्की काँग्रेसका सभापति कृष्ण केसीले मादी गाउँपालिकामा कुनै हालतमा पार्टीले जित्ने दाबी गरे।  काँग्रेस जनताको पार्टी हो, गाउँ गाउँमा, मेलापातमा जनतासगै हिड्ने र मिल्ने पार्टी काँग्रेस नै हो उनले भने–‘झिँगाले सराप्दैमा डिंगा मर्दैन।’ ठूलो दल भएकोले अन्य पार्टीले गाली गलौज गर्दैमा काँग्रेसलाई कुनै फरक नपर्ने उनको भनाई छ। काँग्रेस क्षेत्र नं १ कास्की सभापति वीर्जमान गुरुङले काँग्रेसले गरेको योगदानका कारण नै मादी गाउँपालिका र सबै वडाहरुमा काँग्रेसलाई कुनै शक्तिले पराजित गर्न नसक्ने बताए। भेलामा क्षेत्रीय प्रतिनिधि देवीजंग गुरुङले काँग्रेसले मादी गाउँपालिका वडा नम्बर १ मा गरेका विकास निर्माण र योजनाका बारेमा जानकारी दिएका थिए। काँग्रेस क्षेत्र नं १ कास्कीका सभापति बिर्जमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेम श्रेष्ठले गरेका थिए। जिल्ला कार्यसमिति कास्कीको चैत्र ६ गते बैठकले क्षेत्र, नगर र वडामार्फत चुनावी अभियान शुरु गर्ने निर्णय गरेको थियो।   ‘अब कास्की काँग्रेस निर्वाचनमा केन्द्रित हुन्छ’, कास्की काँग्रेसका सदस्य नवीन सिग्देलले भने–‘चुनावी अभियानमा जनता कुरा सुन्ने र पार्टीको तर्फबाट आफ्ना भनाई राख्ने काम हुनेछ।’भेलामा साविक पार्चे गाविस वडा नम्बर १ देखि ९ सम्मका आमा समूहलाई काँग्रेस महाधिवेशन प्रतिनिधि बुद्दिमान गुरुङले नगद एक लाख रुपैयाँ सहयोग गरेका छन्। उनले भौतिक संरचना निर्माणको लागि उक्त सहयोग गरेका हुन्।

Post a Comment

 
Top