0
गोल्डेन न्यूज संवाददाता
संघीय गठबन्धनले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न र स्थानीय तहको निर्वाचनको घोषणाको निर्णय सात दिनभित्र फिर्ता लिन सरकारलाई अल्टिमेटम दिएको छ । मंगलबार काठमाडौंमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनको बैठकले सात दिनभित्र आफ्ना माग पूरा गर्न अल्टिमेटम दिँदै त्यस समयसीमाभित्र माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय समेत गरेको छ । बैठकपछि गठबन्धनका प्रवक्ता ओम गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले दिएको समय सीमाभित्र परिमार्जनसहित संविधान संशोधन नभएमा र स्थानीय तहको निर्वाचनको घोषणा फिर्ता नलिएमा संघीय गठबन्धनमा आबद्व संसदमा प्रतिनिधित्व गर्ने दलहरु र मधेसी मोर्चाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ ।’   यस्तै गठबन्धन बैठकले सप्तरी घटनाविरुद्धमा देशव्यापी हड्ताल लगायतका आन्दोलन कार्यक्रम घोषणा गरेको छ । घोषित कार्यक्रमअनुसार पर्सी बिहीबार फागुन २६ गते राजधानीसहित देशभरका जिल्ला सदरमुकामहरुमा प्रदर्शन र विरोध सभा गर्ने, २७ गते देशव्यापी हड्ताल गर्ने, सप्तरी घटनामा मानवअधिकारको गम्भीर उल्लंघन भएको भन्दै त्यसबारे ध्यानाकर्षण गराउन नेपालस्थित संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय मानवअधिकार आयोगलाई ज्ञापन पत्र दिने निर्णय गरिएको छ । त्यस्तै, सप्तरी घटनामा प्रहरीको गोलीबाट ज्यान गुमाएका मृतकहरुलाई तत्काल सहिद घोषणा गर्न, मृतक परिवारलाई क्षतिपूर्ति दिन र घाइतेहरुलाई स्वास्थ्य उपचार गर्न गठबन्धनले सरकारसँग माग गरेको छ ।  नेकपा (एमाले)को मेची महाकाली अभियानका क्रममा फागनु २३ गते सोमबार सप्तरीमा आयोजित सभामा प्रहरीको गोली लागि ३ जनाको मृत्यु भएको पुष्टि भए पनि गठबन्धनले ७ जनाको ज्यान गएको दाबी गरेको छ ।  घटनामा दर्जनौं घाइते भएका छन् । गठबन्धनले राजविराजको घटना एमालेले नियोजित रुपमा गराएको समेत दाबी गरेको छ ।
यसैबीच नेकपा एमालेले सप्तरीको कार्यक्रममा आफ्ना पार्टीका शीर्ष नेताहरुको सामुहीक हत्या गर्ने योजना रहेको ठहर गरेको छ। गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सोमबार कार्यक्रम सकेर राजमार्ग तर्फ जाने क्रममा घेरा हालि सामुहिक हत्याको प्रयास भएको एमालेले दावी गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष भीम रावलले एमालेको कार्यक्रमस्थल वरपर पेट्रोल बमसमेत प्रहार गरिएको भन्दै आफूहरूले संयम नअपनाएको भए अझै ठूलो घट्ना हुने बताए। घट्ना घटाउनकै लागि मोर्चाका कार्यकर्ताहरुले कार्यक्रम स्थल बाहिर सुरक्षाकर्मीलाई ढुंगा हान्ने, गाली गलौज गर्नेलगायतका अमर्यादित कामसमेत गरेको एमालेले ठहर छ। घट्नाको सत्य तथ्य छानबिनका लागि सरकार र मानअधिकार आयोगसँग एमलेले मागसमेत गरेको छ। पत्रकार सम्मेलनपछि एक विज्ञप्ति जारी गर्दै तराई मधेशमा फैलाइएका भ्रम एमालेको जारी अभियानले चिर्छ भनेर अत्तालीएर राजविराज घटना मञ्चन गरिएको आरोप लगाएको छ। घटनाको जिम्मेवारी संघीय लोकतान्त्रिक मधेशी मोर्चाले लिनुपर्ने भन्दै एमालेले सरकार र गृह मन्त्रालय पनि यसका लागि जिम्मेवार रहेको ठहर गरेको छ। मोर्चाको आक्रमणबाट आफ्ना कार्यकर्तासमेत घाइते भएको र कार्यक्रममा प्रयोग गरिएका गाडी र मोटरसाइकल तोडफोड भएको जनाएको छ। यसैबीच सुरक्षा निकायले सप्तरी घटनामा संयमता अपनाएको भन्दै एमालेले सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाउनुले थप शंका उत्पन्न भएको बताएको छ।
















Post a Comment

 
Top