0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमालेको युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले कांग्रेस माओवादी देश बेच्न लागि परेको आरोप लगाएका छन् । पहारीले कांग्रेसले पटक–पटक सत्तामा रहेरपनि देश र जनताका निम्ति उल्लेखनीय काम केहि गर्न नसकेको भन्दै अब जनताले सो पार्टीलाइ विश्वास नगर्ने र माओवादी चाहे सत्तामा रहेर होस्, चाहे जनयुद्धको नाममा जंगलबाट होस् सधैं जनतालाइ सास्ती मात्रै दिने गरेको बताए । युवा संघ नेपाल पोखरा वडा कमिटी १७ को विस्तारित भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रियता माथिको कुनै पनि हर्कत र धोकाधडी आम देश प्रेमी युवा हरुलाई सह्य नहुने भन्दै सोहि कुराको पर्दाफाश गर्न युवा संघ नेपालले पहिलो पटक मधेश जागरण अभियान शुरु गरेको बताए । कार्यक्रममा बोल्दै एमाले कास्कीका प्रचार विभाग प्रमुख एवं  पोखरा नगर कमिटी संयोजक तेजनारायण अधिकारीले देश र जनताको सुरक्षाका खातिर एमालेको मेची (काली अभियान शुरु भएको भन्दै अबको स्थानीय निर्वाचनमा एमालेलाई पहिलो शक्तिको रुपमा  स्थापित गराउन सम्पूर्ण युवाहरु लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा एमाले पोखरा–१७ का अध्यक्ष एवं युवा नेता सुवास ढुंगानाले स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुनुपर्नेमा जोड दिंदै अबको निर्वाचनबाट एमाले लाई बलियो र प्रमुख शक्ति बनाउन सबै लाग्नुपर्ने बताए ।  उनले एमालेको जनलहर बढ्न थालेपछि विरोधीहरु डराएर आतंकित भएको पष्ट पारे । उनले मुलुकको हकहित सोच्ने र विकासप्रेमी पार्टी एमाले बाहेक अन्य हुन नसक्ने समेत ठोकूवा गरे ।  युवा संघ गण्डकीका सचिव शिवराज आचार्य, संघकै जिल्ला अध्यक्ष विष्णु पुन, संघ क्षेत्र नं. ३ कास्कीका अध्यक्ष राजेन्द्र पौडेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । वडा कमिटी १७ का अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव कृष्ण पौडेल र स्वागत संयोग तिमिल्सिनाले गरेका थिए ।

Post a Comment

 
Top