0
गोल्डेन न्यूज संवाददाता
गायक जीवन कार्की अथकको नयाँ लोक पप गीत ‘निलो निलो सागर’ गीतको म्युजिक भिडियो मंगलबार पोखरामा विमोचन गरिएको छ। गीतको म्युजिक भिडियो गायक तथा संगीतकार रामभक्त जोजीजुले एक समारोहका बीच गरे । उत्कृष्ट म्युजिक क्रियशन प्रालिको प्रस्तुतिमा आएको गीतमा संगीत दिपक शर्माले भरेका छन् । गीतको रचना जीवन कार्कीले गरेका हुन् । आवाज कार्कीसँगै रिता खड्काले भरेकी छन् । रमेश बिज्ली विसीले निर्देशन गरको भिडियोमा हाल मुम्बईमा रहेका कर्ण चापागाई र पूजा खड्का मोडलको रुपमा देखिएका छन् । चापागाईले यसअघि झण्डै दुई सय  म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । खड्काले भने यो भिडियोमार्फत डेब्यु गरेकी हुन् । भिडियोको छायांकन मुम्बईमा गरिएको हो ।  मिन खड्काको सहयोगमा मुम्बईमा गीत रेकर्ड तथा म्युजिक भिडियोको निर्माण गरिएको गायक कार्कीले बताए । विमोचन कार्यक्रममा जेई म्युजिक एकेडेमीका प्रबन्ध निर्देशक रामभक्त्त जोजिजु, गायक विनोद वानियाँ, गायक जीवन कार्की, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका संस्थापक अध्यक्ष किरण सापकोटा, प्रकाश बराल, सन्तोष बस्याल लगायतले बोलेका थिए । यस अघि तीन गीत समावेश गरेर कार्कीले पहिलो  ‘हिरा’ एल्बम बजारमा ल्याएका थिए । कर्मथलो पोखरालाई बनाई नेपाली साँगीतिक क्षेत्रमा स्थापित हुन संर्घष सुरु गरेका कार्कीको स्थायी ठेगाना म्याग्दी जिल्लाको रातो पिप्ले हो । उनमा पप, लोकपप, आधुनिक, रक विधाका गीत गाउने खुबी छ । म्याग्दी जेसीजले आयोजना गरेको म्याग्दी लोक तारा–२ मा उपविजेता बनेका उनले ‘अतित’ गजल संग्रह पाठक समक्ष ल्याइसकेका छन् । उनी नयाँ गीत मार्फत दर्शक श्रोताको माया पाउनेमा आशावादी रहेका छन् ।

Post a Comment

 
Top