0
गोल्डेन न्यूज संवाददाता
पिसजोन एकेडेमी, पोखराले गोरखापत्र बाजेका रुपमा परिचित स्व.चन्द्रकान्त पौडेललाई मरणोपरान्त सम्मान गर्ने भएको छ । एकेडेमीको यही फागुन २० गते हुने १३ औं वार्षिकोत्सवका अवसर पारी पोखरा क्षेत्रमा सूचनाको सम्बाहकका रुपमा आफ्नो जीवन कालमा अतुलनीय योगदान पु¥याएवापत गोरखापत्र बाजेलाई मरणोपरान्त सम्मान गर्न लागिएको एकेडेमीका संस्थापक एवम् प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दहालले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । एकेडमीले ओझेलमा परेका पात्रको खोजी कार्यक्रम अन्तर्गत १५ हजार रुपैयाँ नगद सहित उहाँको सम्मान गर्न लागेको जानकारी दिदै दाहालले नेपाली खेलकुद जगतमा विशिष्टता हासिल गरेका ओलम्पियन तथा बरिष्ठ म्याराथन धावक बैकुण्ठ मानन्धर र समाजसेवी लीलाभक्त आचार्यलाई अभिनन्दन गरिने बताए । एकेडेमीका सह प्राचार्य मोतिलाल लामिछानेका अनुसार वार्षिकोत्सवका अवसरमा एकेडेमीमा एक दशकभन्दा बढी समय सेवारत शिक्षक चन्द्रमित हल्दार, शिक्षिकाहरू उषा शर्मा, र अमिता शर्मा दाहालललाई १५ हजार रुपैयाँ नगद सहित दीर्घ सेवा सम्मान गरिने छ ।
त्यस्तै २०७२ सालको एसएलसीमा सर्वोत्कृष्ट सागर रसाइलीलाई २० हजार रुपैयाँ सहित स्व.विश्वनाथ बराल स्मृति छात्रबृत्तिका साथै सर्वोत्कृष्ट विद्यार्थीका रुपमा सम्मान गरिने छ एकेडेमीका सह प्रशासक राजु भण्डारीले जानकारी दिए । एकेडेमीले मुटु रोगबाट पीडित कर्मचारी रीना मण्डललाई उपचारार्थ १५ हजार रुपैयाँ आर्थिक सहयोग समेत उक्त अवसरमा प्रदान गर्ने उनले बताए । एकेडेमीले विभिन्न चरण पार गर्दै वर्तमानमा आइपुगेको जानकारी दिदै प्राचार्य सुरेन्द्र शर्मा दाहालले समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने सोच अनुरुप निरन्तर कृयाशिल रहेको उल्लेख गरे ।



Post a Comment

 
Top