0
फायर फाइटिङ्ग फर नेपाल–बेल्जियमको सहयोगमा पोखरा लेखनाथ महानगरपालिका कार्यालय द्वारा आयोजित ५ दिने अग्नि नियन्त्रक तालिम आइतबार पोखरामा सम्पन्न भएको छ। प्राक्टिकल र थ्यौरी दुवै पद्धतिमा आधारित अन्तर्राष्ट्रिय स्तरको बेसिक फायर फाइटिङ्ग तालिमका लागि बेल्जियमबाट ५ जनाको टोली प्रशिक्षकका रुपमा पोखरा आएको थियो । तालिममा पोखरा लेखनाथ महानगरपालिका, जुद्ध बारुण यन्त्र भक्तपुर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंका अग्नि नियन्त्रक टोली, तथा जिल्ला रेडक्रस शाखा, कास्की, आङ्पाङ् सोलु, अर्नाकोट, बाग्लुङ्ग र सराङ्गकोटका स्थानीय बासिन्दा गरि कुल ३० जनाको सहभागिता रहेको कार्यक्रमका संयोजक तथा पोखरा लेखनाथ महानगरपालिका कार्यालयका बारुणयन्त्र प्रमुख रामजी के.सी.ले बताए । तालिमका क्रममा आवश्यक पर्ने सामाग्री सहित बेल्जियमबाट फायर फाइटिङ्ग फर नेपाल–बेल्जियमका संयोजक जोन स्कटस्को नेतृत्वमा आएको टोलीले सहभागीहरुलाई अग्नि नियन्त्रणका विभिन्न तौर तरिका एवम् जोखिम र क्षति न्युनिकरण सम्वन्धमा तालिम प्रदान गरेका थिए । समापन समारोहमा बोल्दै प्रशिक्षक जोन स्कट्सले नेपाल र नेपालीको शान्ति र प्रेम टुट्न नहुने बताए । अग्नि नियन्त्रणका श्रोत र साधनहरुको अभावका वावजुद नेपालमा भइरहेका प्रयासहरु सह्रानीय रहेको उनको भनाइ थियो । समारोहमा बोल्दै पोखरा लेखनाथ महानगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले महानगरपालिका भइसकेको सन्दर्भमा पोखराको बारुणयन्त्रलाई साधन र श्रोतयुक्त बनाएर ब्यवस्थित गरिदैं लगिने बताए । कार्यक्रमका अध्यक्ष तथा वरिष्ठ अधिकृत बसन्त चालिसेले बेल्जियम र नेपालका विचको सहकार्यलाई निरन्तर अघि बढाउनुपर्ने बताए ।  उनले सहभागी एवम् प्रशिक्षकहरुलाई धन्यवाद ज्ञापन गर्दै सिकेको सिप अरुमा बाँड्न समेत अनुरोध गरे । कार्यक्रममा तालिमबाट प्राप्त ज्ञानका वारेमा सहभागीहरुले अनुभवको आदान–प्रदान गरेका थिए ।













Post a Comment

 
Top