0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल ‘गौरब पुरस्कार’ डा. कपिल अधिकारीले पाएका छन् । गैह्रापाटनस्थित पश्चिमाञ्च ल उच्चमाविले विभिन्न सामाजिक क्षेत्रमा विशेष योगदान दिने व्यक्तिलाई प्रदान गर्ने अवार्ड पहिलोपटक अधिकारीले पाएका हुन् । अधिकारी पश्चिमाञ्चल उच्चमाविको भूपू विद्यार्थी तथा शिक्षक पनि हुन् । २५ हजार रुपैयाँ राशी र ट्रफि सहितको नगद पुरस्कार पश्चिमाञ्चल फाउन्डेशन का अध्यक्ष प्राडा. विश्वकल्याण पराजुली सहितका अतिथिले अधिकारीलाई अवार्ड प्रदान गरे । सामाजिक, आर्थिक, ब्यावसायिक लगायतका क्षेत्रमा विशेष योेगदान दिने व्यक्तिलाई पश्चिमाञ्चलले हरेक २ वर्षको अन्तरमा यो अवार्ड दिने घोषणा गरेको छ । अधिकारीलाई पहिलो पटक अवार्ड दिइएको हो । ‘हामीले सामाजिक क्षेत्रमा योगदान दिने व्यक्तिलाई सम्मान गरेका हौं । यसले मान्छेलाई सामाजिक क्षेत्रमा लाग्न थप प्रोत्साहन दिनेछ,’ अवार्ड वितरण तथा कक्षा १२ का विद्यार्थीका लागि आयोजना गरिएको बिदाइ कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष पराजुलीले भने, ‘सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिलाई अवार्ड दिँदा त्यसबाट अरुले पनि प्रोत्साहन पाउनेछन् ।’ पश्चिमाञ्चल गौरब पुरस्कारले पश्चिमाञ्चल उच्चमाविको प्रतिष्ठा बढाउन पनि सघाउने उनले बताए । सोही अवसरमा कक्षा ११ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी हरीकृष्ण सुवेदीलाई पनि नगद १५ हजार रुपैयाँ राशीको पुरस्कार दिइयो । अवार्ड पाएपछि अधिकारीले आफूलाई सामाजिक क्षेत्रमा लाग्न थप प्रेरणा मिलेको बताए । ‘हुन त मैले धेरै केही गरेको छैन । तर, अब मलाई काम गर्न थप दवाव पर्नेछ,’ उनले भने, ‘अवार्डले मलाई हौसला मिलेको छ । सामाजिक काममा सक्रिय हुन मलाई यसले सघाउनेछ ।’ पश्चिमाञ्चलमा अध्ययन गरेका उनी विभिन्न बैज्ञानिक खोज अनुसन्धानमा सक्रिय छन् । त्यस अवसरमा पश्चिमाञ्चल उच्च माविले सुरु गरेको अवार्ड वितरण अरु शैक्षिक संस्थाका लागि पनि सिकाई हुने वक्ताहरुको भनाई थियो । सोही अवसरमा कक्षा ११ ले १२ का विद्यार्थीलाई बिदाई समेत गरेका थिए । बिदाई कार्यक्रममा ११ कक्षाका विद्यार्थीले विभिन्न नृत्य पस्केका थिए । बिदाई भई जाने विद्यार्थीलाई विभिन्न उपहार पनि प्रदान गरिएको थियो । त्यस अवसरमा विद्यालयले उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई पुरस्कृत पनि गरेको थियो । पुरस्कार वितरण गर्दै प्राचार्य ताराबहादुर घिमिरेले आगामि दिनमा पनि उच्च मेहनत गरेर अध्ययन गर्न विद्यार्थीलाई शुभकामना दिए ।






Post a Comment

 
Top