0
गोल्डेन न्यूज संवाददाता
 बैंकको एटिएमबाट डाटा चोरी गरी अर्काको पैसा निकाल्ने दुई विदेशी पोखराबाट पक्राउ परेका छन् । पोखरा लेखनाथ महानगरपालिकाको लेकसाईडबाट शनिवार उनीहरुलाई नियन्त्रणमा लिइएको हो । एटिएमबाट पैसा चोरी गर्ने गिरोह पोखरामा पनि रहेको सुचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो।  वडा प्रहरी कार्यालय बैंदामबाट खटिएको प्रहरी टोलीले एटिएम बाट डाटा चोरी गरी अरुको रकम निकालेको अभियोगमा दुई बुल्गेरियन नागरिकलाई पक्राउ गरेको हो । बुल्गेरियन नागरिक ४६ बर्षीय ईमानो मार्टिन, ३३ बर्षीय लुसियानुभ रेमनडिमोभलाई लेकसाईडको बाराही गल्लीस्थित रानस अपार्टमेर्टमेन्टबाट नियन्त्रणमा लिइएको हो । उनीहरुको साथबाट ८ वटा एटिएम कार्ड, एटिएमबाट डाटा चोरी गर्न प्रयोग गरिने कार्ड रिडर फेसिया, तीन वटा ल्यापटप र ३ लाख नगद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक खडग बहादुर खत्रीले बताए । लेकसाईड स्थित हिमालयन बैंकको एटिएममा जडित सिसि टिभी फुटेजको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीलाई एक महिना अघिनै एटिएमबाट टाडा चोरी गरी रकम निकाल्ने गिरोह पोखरामा प्रवेश गरेको सुचना प्राप्त भएको थियो । सोहि सूचनाको आधारमा पोखराका सबै एटिएमलाई उच्च निगरानीमा राखिएको थियो । एटिएममा हुने हर्कतलाई नजिकबाट नियाल्दै क्रममा उनीहरु शंकाको घेरामा आए । लेकसाइडमा गत जनवरी ३० देखि बस्दै आएका उनीहरुले त्यस क्षेत्रका प्रत्येक एटिएमलाई आफ्नो निसाना बनाएका थिए ।‘हामीलाई एक महिना अघिनै सुचना प्राप्त भएको थियो र सोहि आधारमा एटिएमलाई निगरानीमा राखेका थियौ’, प्रहरी स्रोतले भन्यो, ‘एकै ब्यक्ति भएजति सबै एटिएममा छिर्ने र शंकास्पद हर्कत गर्न थालेपछि फलो गरेका हौं’, प्रहरीले उनीहरुलाई शुक्रवार राती ११ बजेसम्म फलो गर्दै बस्ने स्थान सम्म पत्ता लगाएको थियो । उनीहरु एक सातादेखि हाम्रो निगरानीमा थिए र अन्तमा एटिएमको फुटेजबाट पक्का भएपछि पक्रेका हौं’ स्रोतले बतायो ।
उनीहरु पटक–पटक प्रवेश गरेको एटिएमको फुटेज अवलोकनका क्रममा लेकसाईड स्थित हिमालयन बैंकको एटिएममा टाडा चोरी गर्ने डिभाइस राखेको, निकालेको सबै प्रष्ट देखिएपछि प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । एउटै एटिएममा बारम्बार छिर्ने र निस्कने गर्दा उनीहरु प्रहरीको नजरमा परेका थिए । प्रहरीले अपार्टमेन्टबाट दुई जनालाई नियन्त्रणमा लिएपनि उनीहरुसँगै बस्ने अर्का एक भने फरार रहेका छन् ।

यसैबीच एटिएम बुथबाट रकम निकाल्ने बेला वरपर कतै अस्वाभाविक उपकरणहरु जडान भए नभएको हेरेर मात्रै पैसा निकाल्नु पर्ने विज्ञ तथा बैंकहरुले सुझाव दिएका छन् । एटिएम अनावश्यक उपकरण जोडिएको देखेमा पैसा ननिकाल्न विज्ञको सुझाव छ। बैंक तथा विज्ञको सुझाव अनुसार कुनै एटिएम बुथमा अस्वाभाविक उपकरण जडान भएको शंका लागेमा अर्को एटिएम बुथसँग तुलना गरेर हेर्ने, एटिएम बुथभित्रको विशेषगरी कि प्याड नजिक प्वाल पारिएको जस्तो देखिएमा त्यो प्वालभित्र पिनहोल क्यामेरा जडान गरिएको हुनसक्छ त्यस्तो देखिएमा पैसा ननिकाल्न रहेको छ । यसैगरी एटिएम कार्डको म्याग्नेटिक स्ट्रिपमा रहेको डाटालाई कपी गर्न जेन्युन कार्ड बाहेक अन्य कार्ड स्लट पनि जोडिएको हुन सक्न भएकाले एक भन्दा धेरै कार्ड स्लट देखिएमा त्यस्तो एटिएम बुथबाट पैसा ननिकाल्न भनेको छ । खातामा पैसा हुँदा–हुँदै पनि पैसा आएन भने नक्कली कार्ड स्लटमा आफ्नो कार्ड छिराउनु भएको हुनसक्ने भएकाले यदि आफ्नो कार्ड नक्कली कार्ड स्लटमा छिराएको थाहा पाउने बित्तिकै तत्काल अर्को एटिएम बुथमा गएर एटिएम पिन नम्बर परिवर्तन गर्न विज्ञको सुझाव छ। कि प्याड अस्वभाविक जस्तो लागेमा तथा मेशिनमा राम्रोसँग फिट नभएको जस्तो लागेमा त्यो एटिएम बुथबाट काम नगर्न पनि सुझाव दिइएको छ । 

यसैगरी एटिएम बुथभित्र अस्वभाविक उकरणहरु जडान गरिएको देखेमा तत्काल नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित बैंकमा खबर गर्न, पिन नम्बर हान्ने बेलामा कोही कसैले देखे नदेखेको यकिन गर्न र पिन नम्बर डायल गर्दा हातले छोपेर सुरक्षित तरिकाले डायल गर्न समेत विज्ञले सुझाव दिएका छन् । बैंकबाट एसएमएस अलर्ट सेवा लिने भएकाले कसैले पैसा निकाल्ने बितिकै आफूलाई थाहा हुने, आफूले गर्दै नगरेको कारोबारका बारेमा मोबाइलमा एसएमएस अलर्ट तथा खाता विवरणका बारेमा जानकारी देखिएमा तत्काल सम्बन्धित बैंकमा खबर गर्न र समय समयमा पनि नम्बर परिवर्तन गर्ने आग्रह गरिएको छ। यसैगरी आफ्नो एटिएम सकभर कसैलाई प्रयोग गर्न नदिने, कसैलाई नदेखाउन, बैंकले एटिएम बुथभित्र तथा बाहिरको गतिविधि सुक्ष्म रुपमा सिसिटिभीमार्फत निगरानी गनए र अस्वाभाविक तथा शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्न बैंकहरुले पनि आग्रह गरेको छ।




Post a Comment

 
Top